भविष्यको चिन्ता



कोरोना संक्रमणले यति बेला मुलुक आक्रान्त छ । हरेक दिनजसो संक्रमितको संख्या थपिने क्रम पनि जारी छ । नेपाल–भारत खुला सिमानाका कारण भारतबाट नेपाल आउने अधिकांश नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । संक्रमण नियन्त्रण गर्न सरकारले चालेका कदमको आलोचना भएको छ । कोरोना प्रभावित क्षेत्रमा किटको अभावका कारण परीक्षणमा समेत समस्या आएको समाचार सार्वजनिक भएको छ । सरकारले मुलुकभरका ६ लाख नेपालीमा उक्त भाइरसको परीक्षण गर्ने बताए पनि किट समयमा उपलब्ध नहुँदा कतिपय ठाउँमा संक्रमणको यकिन गर्न पनि सममस्या भएको छ । प्रधानमन्त्री केपी ओलीले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा मुलुकमा लकडाउन गर्ने बेलामा समेत केही अलमल भएको स्वीकार गर्दै अबका दिनमा उक्त महामारीसँग लड्न सरकारले तयारीलाई तीव्र बनाएको समेत जानकारी दिनुभएको छ भने यो महामारीसँग लड्नका लागि सर्वदलीय बैठकसमेत बोलाउनुभएको छ ।

दैनिक एक सयको हाराहारीमा संक्रमत थपिने र यी सबै भारतबाट आएका व्यक्ति नै हुने अवस्था जो देखिएको छ, यसको भोलिको भयानक तस्वीर बाहिर ल्याएको छ । भारतमा विमान सेवासमेत शुरू गरेको र हामीकहाँ खुला सिमाना भएका कारण भोलि नेपालको अवस्था अझै भयावह हुने अवस्था छ । तर, लकडाउन मात्र समस्याको समाधान हो भन्ने मान्यता पनि असफल भइसकेको छ । किनभने पछिल्लो विकासक्रम लकडाउनकै समयमा भएको हो । कलकारखाना बन्द गरेर मात्र समस्याको समाधान नहुने भएकाले लकडाउनको मोडालिटी परिर्वतन गर्न समेत विज्ञहरूले सुझाव दिएपछि अब जेठ २० गतेपछि मुलुकका कम प्रभावित क्षेत्रलाई विस्तारै सामान्य जनजीवनतर्फ ल्याउने तयारी सरकारले गरेको छ । अहिले भारतबाट नेपाल भित्रने नेपाली सबैभन्दा बढी चिन्ताको बिषय भएको छ । उनीहरू नेपाल प्रवेश गर्ने क्रम अझै तीव्र छ । बिनाजाँच उनीहरू नेपाल प्रवेश गर्ने गरेका कारण संक्रमित अहिले गाउँ–गाउँ पुगेका छन् । भारतबाट नेपाल प्रवेश गर्ने नेपालीलाई सुरक्षितरूपमा नेपाल ल्याउने वातावरण मिलाउन सरकार चुकेको हो कि भन्ने आभाष आम नेपालीले गरेका छन् ।

सरकारले आफ्नो मातृभूमि फर्कन चाहने नेपालीलाई नेपाल ल्याउने र सुरक्षित बसोबासको व्यवस्था भने मिलाउन सक्नुपर्दछ । कोरोना संक्रमित भएर अस्पतालमा बसेकाले खान नपाएको गुनासो गरिरहेका छन् । क्वारेन्टाइनमा बस्नेहरूको हालत पनि उस्तै छ यसतर्फ सरकारको ध्यान जान सकेको देखिँदैन । भाषणमा मात्र सबै कुराको सरकारले प्रबन्ध गरेको बताए पनि व्यवहारमा भने त्यस्तो हुन नसक्नुले सरकारप्रति जनताले विश्वास गर्न सकेको देखिँदैन ।

काम गर्ने सिलसिलामा केही कमी–कमजोरी नहुने होइन । तर, त्यसलाई सुधार गर्नेतर्फ सरकार अग्रसर भएको देखिँदैन । संघीय सरकारले प्रदेश सरकार र प्रदेश सरकारले स्थानीय सरकारलाई देखाएर पन्छने बेला होइन, अहिले सबै मिलेर कोरोना संक्रमणविरुद्धको लडाइँमा एक हुन सक्नु पर्दछ । आजको आवश्यकता भनेको पनि त्यही हो । सरकारले गरेका कामको जनताले प्रशंसा गर्ने वातावरण बनाउनु पर्दछ । तर, सरकार अहिले त्यतातिर अग्रसर नभएको हो कि भन्ने आम प्रश्न पनि उठेको छ । त्यसतर्फ सरकारले बेलैमा ध्यान दिनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्