राष्ट्रको नाममा प्रमको ओलीको सम्बोधन- ‘सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ’



नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा अलपत्र परेका नेपालीको सरकारले उद्धार गर्ने बताउनुभएको छ । नेपालले ६२ दिनदेखि बन्दाबन्दी कोरोनाविरुद्ध लडिरहेको बताउँदै उहाँले विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्ने बताउनुभएको हो ।

उहाँले अझै केही समय लड्नुपर्ने देखिएको उल्लेख गर्दै रोग र भोकबाट जनतालाई जोगाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको महामारीबाट बाहिर निस्कनका लागि सरकारले आवश्यक कार्य गरिरहेको बताउनुभएको छ ।

सरकार नागरिकप्रति संवेदनशील रहेको बताउँदै उहाँले सरकारले परीक्षणको दायरा बढाउने क्रममा पहिले एक प्रयोगशालाबाट अहिले २० वटा विस्तार गरेको बताउनुभयो । जनस्तरमा पारस्परिक सहयोगमा मात्रै कोरोनालाई जित्न सकिने विश्वास व्यक्त गर्दै अहिलेको संक्रमणलाई जित्न सबै मिलेर लाग्नुपर्ने आग्रह गर्नुभयो ।

लकडाउनका कारण समग्र अर्थतन्त्र र सम्पूर्ण देशबासीमा पुग्न गएको अप्ठ्यारोप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताउँदै भन्नुभयो– ‘आसन्न जोखिमले हामीलाई थप सजग हुन, अझ उच्च योजनाका साथ संक्रमणलाई नियन्त्रण गर्न र राज्यका सबै अंगहरूलाई महसुस हुने गरी अझ चुस्त र प्रभावकारी बनाउन माग गरेको छ ।’

‘दक्षिण एसियाका कतिपय मुलुकको तुलनामा नेपालमा महामारी नियन्त्रणको स्थिति प्रभावकारी छ, तर त्यो ढुक्क भएर बस्ने स्थितिमा भने छैन । कोरोनाविरुद्धको हाम्रो लडाइँ निकै चुनौतीपूर्ण र लामो छ भन्ने यथार्थप्रति सरकार सचेत छ ।’ –उहाँले भन्नुभयो ।

‘महामारी विस्तार भएको ठाउँलाई सिल गरी त्यहाँ ‘युद्धस्तर’मा परीक्षण तथा नियन्त्रणको कार्यलाई अघि बढाइनेछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘महामारी अहिले फैलिँदो अवस्थामा छ ।

यस महामारीसँग जुध्न सबै सरकारी निकाय चुस्त र प्रभावकारी हुनै पर्दछ । समयको चुनौती सामना गर्न नसक्ने कुनै पनि संरचनाको नेतृत्वको तत्काल पुनव्र्यवस्था गरिनेछ ।’

कोरोना महामारीविरुद्ध एकीकृत ‘कमान्ड’ एवं केन्द्रीय योजनालाई थप प्रभावकारी बनाइने बताउँदै संघ, प्रदेश र स्थानीय तहबीच कोरोना संक्रमण, रोकथाम र नियन्त्रणका क्षेत्रमा जीवन्त सूचना संवाद तथा प्रभावकारी समन्वयका लागि तीनवटै तहमा सम्पर्क व्यक्ति वा निकाय तोकी विद्यमान संस्थागत व्यवस्थालाई अझ चुस्त बनाइने बताउनुभयो ।

विश्वव्यापी संक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने व्यवस्थासम्बन्धी विस्तृत योजनासहितको आदेश तत्काल जारी गरिने बताउँदै उहाँले विश्वका जुनसुकै कुनामा अप्ठ्यारोमा परेका आफ्ना देशबासीलाई सरकारले समयमै उद्धार गर्ने बताउनुभयो ।

‘समस्याको प्राथमिकता र देशभित्रको तयारीका बीच सन्तुलन मिलाउँदै यो काम छिट्टै शुरू गरिनेछ । सरकार आफ्ना नागरिकप्रति संवेदनशील छ, यसमा निश्चित रहन म सबैमा आग्रह गर्दछु ।’ –उहाँले भन्नुभयो ।

अहिलेको अवस्थामा तत्काल एसईई परीक्षा सञ्चालन गर्न नसकिएको बताउँदै एसईईका परीक्षार्थी विद्यार्थीको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउने उहाँको कथन छ ।

सरकारको नीति तथा कार्यक्रममा जोड दिइएअनुरूप खेतीपातीको याम खेर जान नदिन, सामाजिक दूरी र आवश्यक परेजलाई ख्याल गरी कृषि कार्य अघि बढाइने बताउँदै समुदायमा संक्रमण फैलिन नदिन, मानिसको आवागमनलाई आवश्यक मात्रामा सीमित गर्ने गरी प्रशासनिक कडाइलाई भने कायमै राखिने बताउनुभयो ।

कोरोना महामारीका कारण थपिन सक्ने गरिबी र बेरोजगारीलाई समाधान गर्न कृषि क्षेत्रको अहम् भूमिका हुने कुराप्रति सरकार सचेत रहेको बताउँदै प्रधानमन्त्री ओलीले खाद्य वस्तुहरूको आयातलाई घटाउने, कृषिमा आत्मनिर्भर हुने, क्रमशः कृषि उत्पादनको निर्यात तीव्र पार्ने र कृषि क्षेत्रमा ठूलो मात्रामा रोजगारी र स्वरोजगारी सिर्जना गर्ने कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

कोरोना महामारीका बीच पनि अर्थतन्त्रलाई चलायमान राख्ने र राष्ट्रिय गौरवका आयोजनालगायत कतिपय विकास आयोजनालाई अगाडि बढाउने हाम्रो प्रयास र प्रयोग सफल भएको उहाँले बताउनुभयो ।

माथिल्लो तामाकोसी, मेलम्ची, पोखरा, भैरहवा र काठमाडौं विमानस्थल निर्माण÷विस्तार तथा रानीपोखरी, धरहरालगायत पुनर्निर्माणका काम अगाडि बढाउन सकिएको उल्लेख गर्दै नियन्त्रणको सीमाभित्र रहन सक्ने थप उद्योगहरूलाई सञ्चालनको अनुमति दिइने बताउनुभयो ।

‘नेपालीको मनोबल उच्च छ र प्रतिरोध क्षमता पनि असाधारण छ । यस महामारीलाई सरकारले अघि सारेका विभिन्न उपायहरूसहित आफ्नो उच्च मनोबल र प्रतिरोध क्षमताका साथ पराजित गर्नेछौं भन्ने मैले विश्वास लिएको छु ।’ –प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्