मुखिया शैली र सेयर–बजारका निमुखा लगानीकर्ता



एसपी चौलागाईं

नेपालको समग्र सेयर–बजारलाई पटक–पटक वैधानिक जुवाघरमा रुपान्तरित गर्न सफल औंलामै गन्न अटाउने सीमित ठूलाठालु लगानीकर्ता र सोही अनुरुप वातावरण तयार गरिदिन उद्यत देखिने त्यसैको पृष्ठपोषक नियामक निकाय । यही वैशाख २९ र ३० गतेको अप्राकृतिक सेयर कारोबारको छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही गरी उक्त दुई कार्य–दिनको सेयर कारोबार रद्ध गरिनुपर्छ भन्ने आम लगानीकर्ताको मागलाई आल्टाल गर्दै । अनिर्णयको बन्दी बनाउने काम स्वयं नेपाल स्टक एक्स्चेन्जले गरिरहेको छ ।

वर्षाैं अगाडिदेखिको फुलफेज अनलाइन सिस्टमको मागलाई तोकिएको समयसीमाभन्दा ३६५ दिन ढिला गरी सम्बोधन गरिएजस्तै, देखिने गरी २०७५ कात्तिकमा पाँचतारे होटलमा धुमधामका साथ सफ्टवेरको उद्घाटन गरिए पनि, पाँचतारे होटलको तामझाको शैलीको इज्जत सफ्टवेयरले बचाइराख्नै सकेन । कैयौं दिनसम्म स्वयं कारोबार गराउने ब्रोकर कुहिरोको काग बने भने साधारण लगानीकर्ताको हालतको त कुरै भएन । त्यो स्थिति पार गरेर आएको अपाङ्ग अनलाइन आजका मितिसम्म पनि सवलाङ्ग हुन सकिरहेको छैन । त्यसैको परिणाम आज हामी लगानीकर्ता घर बसी–बसी सेयर कारोबार गर्न नपाएर भोगिरहेछौं ।

आज लकडाउनको ६३ दिनसम्म पनि अपाङ्ग अनलाइन अपूरो र अधुरो हुँदा सेयर कारोबार राम्रोसँग सुचारु हुन सकेन । कारोबार हुन नसक्नुमा फुलफेज अनलाइन सिस्टम अर्थात् ब्रोकरको टी.यम.एस.मा बैंक खाता, डी.पी. खाता र मेरो सेयरबीचको इन्ट्रिग्रेसन नहुनु नै मुख्य कारण हो ।

यदि यही फुलफेज अनलाइन सिस्टम हुँदो हो भने विश्वका अन्य जुनसुकै देशमा सेयर–बजार चलिरहेछ, हाम्रो नेपाल स्टक एक्सचेन्ज मात्रै किन खुलेन भन्ने ठाउँ नै हुँदैनथ्यो । अनि सेयर लगानीकर्ताका संघ–संगठनले ‘सेयर–बजार यो विषम परिस्थितिमा खुलाउनुहुँदैन, लकडाउनमा लगानीकर्ता ब्रोकर अफिस धाएर कारोबार गर्न सक्दैनन्, सेयर–बजार बन्द गरियोस्’ भन्ने आवाज दबाउन नेप्सेको प्राङ्गणमा प्रहरी प्रशासनको गुहार मागिरहनुपर्ने स्थिति सृजना नै हुने थिएन । विगतको समस्या र कमजोरीबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने हो । २०७२ सालको भूकम्पमा पनि एक महिना सेयर–बजार बन्द भएको थियो । त्यो समस्या सम्बोधन हुने गरी सफ्टवेयर निर्माण गरिएको भए पटक–पटक नेपालको सेयर–बजार यसरी बन्द भइरहन्थ्यो र ?

धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले तीन महिनामा फुल अटोमेसन गर्न सकिन्छ भने पनि यसलाई कार्यान्वयन चरणमा ल्याउन प्रमुख भूमिका खेल्नुपर्ने नेपाल स्टक एक्सचेन्ज र सफ्टवेयर उपलब्ध गराउने वाईको कम्पनी यस मामिलामा लकडाउनका ६३ दिन बितिसक्दा पनि लगानीकर्ताको माग सुन्नुपर्ला भनेर कानमा तेल हालेर कुम्भकर्णझैँ सुतिरहेका छन् । अब छिट्टै नियामक निकाय विगतको भ्याट र प्यानको लफडाको स्थितिजस्तै छापामार शैलीमा बजार खोल्न मात्र बिउँझने छन् ।

२०७५ सालमा सेयर–बजार सुधारका लागि गठित उच्चस्तरीय कार्यदलको ५८ बुँदे कार्ययोजना थोरबहुत कार्यान्वयन गरेर अन्य बाँकी कार्ययोजना थन्क्याइरहँदा तीन चरणको समय सीमा तोकेर, तोकिएकै समय सीमामा पूरा गर्नुपर्ने कार्य–योजनाको सवालमा न त नियामक निकायले जिम्मेवारी बहन गर्यो, न त कार्य–योजना निर्माणको तपसिलका साक्षी किनारामा हस्ताक्षर गर्ने संघ–संगठनका नेतृत्व गणहरुको ध्यान त्यतातिर तानियो । त्यो ५८ बुँदे कार्य–योजना अझैसम्म बेवारिसे र अलपत्र नै छ ।

नियामक निकायले जिम्मेवारी बहन गर्यो, न त कार्य–योजना निर्माणको तपसिलका साक्षी किनारामा हस्ताक्षर गर्ने संघ–संगठनका नेतृत्व गणहरुको ध्यान त्यतातिर तानियो । त्यो ५८ बुँदे कार्य–योजना अझैसम्म बेवारिसे र अलपत्र नै छ ।

त्यसैले यदि सेयर–बजार खोल्ने हो भने यही लकडाउनकै बीच थोरै व्यक्तिको सहभागिताबाट आईटी विशेषज्ञ झिकाई सफ्टवेर अपग्रेड गर्न सकिने हुनाले टी.एम.एस.मा बैंक एकाउन्ट, डी.पी. एकाउन्ट र मेरो सेयरको इन्ट्रिग्रेसन गरी फुल फेज अनलाइनका साथ सेयर–बजार खोलिनुपर्दछ । अन्यथा गोठमा गाई बाँध्दैमा ढुङ्ग्रो लिएर दूध दुहुन बस्दैमा गाईले दूध दिँदैन । दूध पाउन त गाई दुध दिन सक्ने अवस्था र गाईलाई घाँस, दाना, पानी दिन सक्नुपर्दछ ।

छिमेकी देश भारतको सेयर–बजार बीएसी ४२ हाजर पुगेको सेन्सेक्स कोभिड–१९ को महामारीले लगानीकर्ता अताल्लिएर ओरालो लागेको सेयर–बजार बीएसी २४ हजार सेन्सेक्ससम्म आयो । र, त्यहाँका वित्तमन्त्रीले सेयर–बजारलाई विभिन्न राहत प्याकेजसहितको उचित सम्बोधनले बजार सम्हालिएर ३४ हजार चान्चुन पुगेर निरन्तर कारोबार भइरहेको छ । तर नेपालको सम्बन्धमा करका लागि मात्र करकर गरिरहने सम्बन्धित निकाय र अर्थमन्त्रीबाट विद्वता झल्किने गरी कार्यकुशलता नदेखिनु विद्वतामाथिकै प्रश्नचिह्न खडा हुनु हो ।

सामान्य शैलीमा चल्दै रहेको अर्थतन्त्रलाई ‘आफैं धामी आफैं झाँक्री’ बन्ने उद्देश्यले आएको स्वेतपत्रले स्वयं स्वेतपत्र प्रस्तुतकर्तालाई नै अर्थतन्त्रले लोप्पा खुवाइदियो । त्यस समयदेखि नेपालको अर्थतन्त्रले बाटो बिराएर तल–माथि गर्दै रह्यो । उद्योगी व्यवसायीहरुका संगठित मागहरुलाई लत्याउँदै अगाडि बढेका अर्थमन्त्रीले हालै प्रस्तुत गरेको नीति तथा कार्यक्रमले पनि उद्योगी, व्यवसायी र राजनीतिकर्मीलाई समेत निरास बनायो ।

कोरोना महामारीको प्रकोपले पार्न सक्ने खतराको स्थितिलाई पूरै बेवास्ता गर्दै ल्याइएको नीति तथा कार्यक्रममा अर्थतन्त्रको ऐना मानिने सेयर–बजारको विषयले उचित स्थान पाएर आवश्यक सम्बोधन नहुनु विडम्बना नै हो । राहत प्याकेजविना पटक–पटक लगानीकर्ताका माग र समस्यालाई सम्बोधन नगरी यदि भैहाले पनि कार्यान्वयन नगरी यथास्थितिमा थाँती राखेर खोलिने सेयर–बजार राज्यका लागि दाना–पानी नखुवाएको थारो गाईलाई दुहुनुसिबाय केही हुनेछैन ।

यता लगानीकर्तालाई ५८ बुँदे पूर्ण कार्यान्वयन नगरी खोलिएको बजार अथवा फुल फेज अनलाइन बैंक, डी.पी. र मेरो सेयरको इन्ट्रिग्रेसन गरेर घरबाट बाहिर ननिक्लिईकनै सेयर कारोबार गर्न सकिने अनि व्यवस्थित नबनाई बजारमा डिलरसिप र मार्केट मेकरका रुपमा भित्रिन चाहेका नागरिक लगानीकोष, सञ्चयकोष, विभिन्न कल्याणकारी कोषहरुका म्युचुअल फन्ड एवं संस्थागत लगानीकर्ताको सहभागिताविना अधिराज्यभरिको लकडाउन नखोली कारोबार गराउन खोलिएको सेयर–बजार वैधानिक जुवाघरभन्दा सिबाय केही हुन सक्दैन ।

के लगानीकर्ताको चाहिँ केही दायित्व छैन ?नियामक निकाय सेयर–बजारको विकास र सुधारको विषयलाई हल्का कनिका छरेझैँ भुल्याएर कुम्भकर्णझैँ निद्रामा सुत्यो भन्दैमा लगानीकर्ता चुपचाप टोलाएर आकाशको फल झरेपछि खाउँला भन्दै वर्षौंदेखि कुरेर बस्ने ? आफ्ना मुखिया शैलीको नेप्से र अन्य नियामक निकायको व्यवहारलाई बेला–बेला निद्राबाट बिउँझाउने गरी घचघच्याइरहनु पर्दैन ?

 

प्रतिक्रिया दिनुहोस्