संस्था र व्यक्तिलाई सेलिब्रिटीको साथ



भगवती तिमल्सिना, काठमाडौं

कोरोना भाइरस संक्रमणको महामारीका समयमा अग्रभागमा क्रियाशील पेसाकर्मी तथा लकडाउनको प्रभावले असर परेकालाई सेवा गरिरहेको प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउन्डेसनले सेवाको हात फैलाउँदै सक्रियता बढाएको छ ।

फाउन्डेसनले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई विशेष प्राथमिकता दिई मास्क, सेनिटाइजर, प्राथमिक उपचारका सामग्रीलगायत खाद्यान्न वितरण गर्दै आएको छ । यसबाहेक अस्पताल, सुरक्षा निकाय, सञ्चार गृह तथा प्रेसमा आबद्ध संघसंस्था, फोहोरमैला संकलन एवं सरसफाइमा दैनिक फिल्डमा खटिनेहरूका लागि सारथी बन्दै आएको छ ।

सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि कल्पना क्षेत्री, बौद्धमार्गी साधिका एवं गायिका आनी छोइङ डोल्मा र सञ्चारकर्मी तथा सामाजिक अभियन्ता बद्रीराज तिमल्सिनाले सञ्चालन गरिरहेको यो परोपकारी अभियान अनवरतरूपमा अघि बढेको छ । यसमा वरिष्ठ कलाकार हरिवंश आचार्यलगायतले साथ दिइरहनुभएको छ ।

सेवामा आनन्दको अनुभूति हुन्छ


हरिवंश आचार्य
वरिष्ठ कलाकार

सबैभन्दा बढी आनन्द त कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा काम गर्ने चिकित्सक स्वास्थ्यकर्मीको सुरक्षाका लागि प्रयोग गर्नुपर्ने पीपीई सेट उपलब्ध गराउँदा भयो ।

अहिले म घरै बसेर कोरोनासम्बन्धी सचेतनामूलक सन्देश प्रवाह गर्ने काम गरिरहेको छु । केही परोपकारी संस्थाले गरेका काममा मैले पूर्णरूपमा साथ दिँदै आएको छु । यसबीचमा प्रारम्भ संस्था र आनी छोइङ डोल्मा फाउन्डेसनले पीपीई तथा मास्क र फस्र्ट एड किट्स वितरण गरिरहेकाले हातमा हात मिलाउन केही ठाउँमा पुगें ।

नेपाली सेनामार्फत नेपालगन्ज, वीरगन्जमा पीपीई पठाउन पाउँदा एकदम खुसी लागेको छ । उदयपुरमा प्लास्टिकको खोल ओढेर बिरामी जाँचिरहेको बखतमा तत्कालै ४० थान पीपीई त्रियुगा नगरपालिकामा पठाउँदा निकै खुसी र आनन्द लाग्यो । सबैले आफूले सकेको सहयोग गरिरहनुभएको छ । खाद्यान्न, प्राथमिक स्वास्थ्य सामग्रीसँगै यस्तो बेला पीपीई दिन पाउँदा सबैभन्दा ज्यादा आनन्दित छु ।

मलाई लकडाउनले ‘लक’ गर्न सकेन


कल्पना क्षेत्री
सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधि

लकडाउनमा चिकित्सकका लागि पीपीई, मास्क, थर्माेमिटर गनलगायतका सामग्रीको अभाव भएको जानकारी पाउनासाथ हामीले नेपालमै गुणस्तरीय पीपीई सेट तयार गर्ने निधो गर्यौं । लकडाउन भए पनि घर बस्नै सकिनँ । विभिन्न अस्पताल सञ्चालक समिति र डाक्टरको सल्लाह सुझाव र आग्रहअनुसारको पीपीई, गमबुट, फेससिल्ड तयार गर्न लाग्यौं ।

महँगै शुल्कमा एन–९५ मास्क, ग्लब्स र सेनिटाइजर मगायौं । पीपीई सेट तयार गरी शुरूमा सरकारी तथा गैरसरकारी अस्पताल र स्थानीय निकायलाई सहयोग गर्यौं । त्यसपश्चात् सुरक्षा निकाय र सञ्चार प्रतिष्ठानमा वितरण गर्यौं । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई मुख्य प्राथमिकता दिई काम गरिरहेका छौं ।

सबैले हाम्रो कामलाई मन पराइदिनुभएको छ । प्रतिकूल परिस्थितिका बाबजुद निःस्वार्थ सेवा गर्न पाउँदा साह्रै खुसी लागेको छ । आफू रेडक्रसकर्मी भएका नाताले महामारी र विपद्मा सेवा गर्न हमेसा इच्छुक हुन्छु । अहिलेसम्म पाएको स्नेह र माया नै हाम्रो सेवा ऊर्जा हो । यही हौसला हाम्रो सम्पत्ति हो ।सधैं यसरी नै सेवा गर्न पाइराखूँ ।

सरकारलाई सघाउनु नागरिकको धर्म हो


आनी छोइङ डोल्मा,
गायिका तथा अध्यक्ष, आनी छोइङ डोल्मा फाउन्डेसन

संसारभर आगोको मुस्लोझैं सल्किरहेको कोरोना भाइरसका बारेमा धेरै चर्चा नगरौं । म आफू बौद्धमार्गी भएकाले नेपालमा लकडाउन भएपछि पनि साधनामा व्यस्त थिएँ । शिवपुरी क्षेत्रमा रहेको नागी गुम्बामा बुद्धग्रन्थ अध्ययन र ध्यानमा रहेका बेला प्रारम्भका कल्पना क्षेत्री र बद्रीराज तिमल्सिनाले असाध्यै असल काम गरिरहेको थाहा पाएँ ।

हाम्रा अभिभावक हरिवंश आचार्य दाइसमेत सहभागी यस अभियानमा हातेमालो गर्ने निर्णय गरें । व्यक्तिगत स्रोत र साधनको व्यवस्था गरी हामीले संस्थागतरूपमा तीन दर्जनको हाराहारीमा स्वास्थ्य संस्था, स्थानीय निकाय र सञ्चार प्रतिष्ठानलाई मनैदेखि सेवा गरिसक्यौं ।

नेपाली सेना, नेपाल प्रहरीसमेतको सहकार्यमा हामी कोरोना रोकथाम तथा नियन्त्रणमा एक सारथीका रूपमा सक्रिय छौं । संक्रमण परीक्षण र यसको व्यवस्थापनमा सरकारले गरिरहेका कार्यलाई समेत सहयोग गर्नु आम नेपालीको कर्तव्य हो र गैरसरकारी संस्थाको धर्म हो ।

यस्तो बेला सकेसम्म नकारात्मक कुरा कम गर्ने, सरकारलाई मद्दत गर्ने, सकेको सहयोग गर्ने नै उपयुक्त समय हो । विपत्को बेला अग्रभागमा क्रियाशील पेसाकर्मीलाई जोगाउने हो । चिकित्सक, सेना तथा प्रहरी, पत्रकारहरूको भूमिका असाध्यै प्रशंसनीय छ । यति बेला उहाँहरूलाई सुरक्षित राख्न सके समाज नै सुरक्षित रहन सक्छ । सकेसम्म घरमै सुरक्षित बसौं सहयोग गर्नेले पनि सुरक्षाको सबै विधि अपनाएर गरौं ।

कल्याणकारी कार्य जारी रहन्छ

बद्रीराज तिमल्सिना
सञ्चारकर्मी तथा सामाजिक अभियन्ता

कोरोना संक्रमणका बेला फ्रन्टलाइनमा रहने स्वास्थ्य, सुरक्षा र सञ्चारसँग आबद्ध व्यक्ति तथा संस्था नै यो विपत्तिको पहिलो निसाना हो । हाम्रो अभियानको अग्रपंक्तिमा संस्थाका सल्लाहकार संरक्षक हरिवंश आचार्य, आनी छोइङ डोल्मा तथा प्रारम्भ संस्थाकी अध्यक्षसमेत रहेकी सिंगापुर रेडक्रसका लागि नेपाल प्रतिनिधिसमेत कल्पना क्षेत्री हुनुहुन्छ ।

हामीले यस्तो अवस्थामा राज्यलाई पनि सहयोग हुने र पेसाकर्मीलाई पनि राहत हुने गरी अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गर्ने निधो गर्यौं ।
फलस्वरूप त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, धुलिखेल अस्पताल, नारायणी अञ्चल अस्पताल, गणेशमान सिंह अस्पताल, शिर मेमोरियल अस्पताल, बनेपा अस्पताललाई पीपीई तथा प्राथमिक स्वास्थ्य सामग्री उपलब्ध गराएर कार्यक्षेत्रमा खट्नेलाई हौसाउँदै आएका छौं ।

साथै स्थानीय तहसँगको समन्वयमा पनि हामी काम गरिरहेका छौं । ललितपुर महानगरपालिकामार्फत ललितपुर, गोदावरी नगरपालिका, पाटन अस्पताल, गशेणमान सिंह अस्पताल र नेपाल चिकित्सक संघलाई सामग्री प्रदान गर्न सफल भयौं । त्यसै गरी काभ्रेको पनौती नगरपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, उदयपुरको त्रियुगा नगरपालिका, बाँकेको बैजनाथ गाउँपालिका, दैलेखका सबै ११ स्थानीय तह, पर्साको वीरगन्ज महानगरपालिकामा पनि आवश्यक सामग्री पुर्यायौं ।

सुरक्षा निकायअन्तर्गत नेपाल प्रहरी अस्पताल, नेपाली सेनाको राष्ट्रिय सेवा दलमार्फत नेपालगन्ज, वीरगन्ज तथा उपत्यकाका गणका लागि पीपीई तथा मास्क र फस्र्ट एड किट्स उपलब्ध गराइयो भने सशस्त्र प्रहरी बललाई समेत सहयोग गर्ने योजनामा छौं ।

म आफै सञ्चारकर्म गरिरहेकाले पनि प्रेस जगत्मा सहयोग गर्नु मेरो प्रमुख दायित्व हो । तसर्थ नेपाल पत्रकार महासंघको केन्द्रीय समिति र प्रेस काउन्सिलमार्फत सिन्धुली, उदयपुर, बारा, पर्साका फिल्डमा खटिएका साथीहरूलाई मास्क तथा सेनिटाइजर पठायौं ।

नेपाल फोटो पत्रकार महासंघमार्फत प्रदेश तथा जिल्लामा रहेका फोटो पत्रकारका लागि मास्क र सेनिटाइजर सहयोग गरिएको छ । पत्रकार महासंघ भक्तपुर शाखासहित राजधानीस्थित थुप्रै सञ्चार गृहमै पुगेर सकेको सामग्री सहयोग गरिरहेका छौं । परिस्थिति प्रतिकूल नरहे यो क्रम रोकिने छैन । कल्याणकारी कार्य जारी रहन्छ ।

 

प्रतिक्रिया दिनुहोस्