कालीगण्डकी करिडोरको दाना–कुश्मा खण्ड अन्तिम चरणमा

असारभित्रै सञ्चालनमा ल्याउने तयारी



नेपाल समाचारपत्र, काठमाडौं

कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दीको दाना र पर्वतको कुश्मा खण्डको निर्माण अन्तिम चरणमा पुगेको छ । लकडाउनका बीच पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानको पूर्ण पालना गरी २२० केभी प्रसारण लाइनको निर्माण धमाधम भइरहेको हो ।

प्रसारण लाइनसँगै दाना र कुश्मास्थित २२०/१३२ केभी सबस्टेसनको बाँकी रहेको काम पनि जारी छ । दुवै सबस्टेसनका अधिकांश उपकरण जडान भइसकेका छन् ।

दाना–कुश्मा खण्ड असारभित्र सञ्चालन (चार्ज) गर्ने लक्ष्यका साथ काम भइरहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

सो प्रसारण लाइनमा निजीक्षेत्रका लगानीकर्ताहरूले म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत् आयोजनाको विद्युत् जोडिनेछ । निर्माणको अन्तिम चरणमा रहेको मिस्त्री खोला र मुस्ताङमा सञ्चालनमा रहेको ११ दशमलव २ मेगावाटको थापा खोला जलविद्युत् आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह हुनेछ ।

घिसिङले प्रसारण लाइन अभावमा मिस्त्री खोलाको विद्युत् खेर जाने अवस्था आउन नदिन लकडाउनमा पनि काम भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो–‘वैशाखभित्रमा चार्ज गर्ने लक्ष्यका साथ काम भइरहेको थियो तर लकडाउनले निर्माण प्रभावित हुन पुग्यो, केही ठाउँमा देखिएको अवरोध खुलाएर काम शुरू गर्न म्याग्दी तथा पर्वतका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहका प्रमुखहरूको सहयोग पाएका छौं। असारभित्र जसरी पनि चार्ज गर्ने गरी टिम खटिएको छ ।’

३९ किलोमिटर दाना–कुश्मा प्रसारण लाइनअन्तर्गत १ सय १० टावरमध्ये म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले गर्दा एउटा टावरमात्रै खडा गर्न बाँकी छ ।

अहिले टावर खडा गर्ने काम भइरहेको र तार टांग्ने तथा सबस्ेटसनको बाँकी काम सम्पन्न गरी असारभित्रमा लाइन चार्ज गरिने प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो । म्याग्दी र पर्वतमा गरी करिब ३ किलोमिटरमात्रै तार टांग्न बाँकी रहेको आयोजना प्रमुख चन्दनकुमार घोषले जानकारी दिनुभयो ।

कालीगण्डकी नदी बेसिनमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि सरकार तथा प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा कालीगण्डकी करिडोर प्रसारण लाइनको निर्माण शुरू गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्