जूम क्लाउडमा गरियो युथ जर्नलको विमोचन



नेपाल समाचारपत्र,काठमाडौं ।

युथ एड्भोकेसी नेपालले भिएसओ नेपालको सहयोगमा प्रकाशन गरेको युथ जर्नलको तेस्रो अंक शनिबार करिब एक सय प्राज्ञ तथा लेखकहरुको दूर–उपस्थितिमा विमोचन गरियो ।

प्राध्यापक तथा लेखक अभि सुवेदीले प्रमुख अतिथिका रुपमा जर्नलको अग्र तथा पृष्ठ भाग देखाई विमोचन गर्नुभएको युथ जर्नलको यस अंकमा १८ लेखकले तयार पारेका १२ थान रिसर्च आलेख समावेश छन् ।

करिव आठ महिना लामो निरन्तरको अभ्यासपछि तयार भएको यस जर्नलको मुद्रण गत महिना नै भएको भएपनि कोरोना भाइरस सिर्जित लकडाउनका कारण ढिलागरी विमोचन भएको आयोजनकले जनाएका छन् ।

‘करिब तीन सय सरोकारवाला व्यक्तिहरुको उपस्थितिमा भव्य कार्यक्रमका बीच विमोचन गर्ने हाम्रो लक्ष्य लकडाउनका कारण पूरा भएन, तर प्रविधिको अधिकतम सदुपयोग गर्दै जूम मिटिङ्बाट करिब एक सयको उपस्थितिमा विमोचन सम्पन्न गर्न पाएकोमा हामी खुसी नै छौं’ युथ जर्नलका प्रधान सम्पादक डा. तारालाल श्रेष्ठले भन्नुभयो ।

जर्नलका चार सम्पादक मण्डलको अगुवाइ गर्ने डा. श्रेष्ठले सञ्चालन गर्नुभएको विमोचन कार्यक्रममा प्रा. विद्यानाथ कोइरालाले प्रकाशित खोज–सामग्रीहरुको समीक्षा गर्दै स्रोत प्रामाणीकरणका लागि पश्चिमेली विद्वानमा मात्र भर नपरी पूर्वीय दर्शनलाई पनि उत्तिकै महत्व दिनसक्नुपर्ने धारणा राख्नुभयो ।

‘युवा स्वयंसेवीलाई मियो बनाइएको यस जर्नलका आलेखहरुले पूर्वीय दर्शनको परोपकार पुण्याय पापाय परपीडनम्…लाई किन महत्व नदिने ?’ प्रा. कोइरालाको प्रश्न थियो ।

डा. उद्धव प्याकुरेलले सल्लाहकारका रुपमा जर्नलको गरिष्ठतालाई निरन्तरता दिन सुझाव दिएको, आर्थिक सहायता दिएर प्रकाशनलाई खदिलो र उद्देश्यमूलक बनाउन सघाउने भिएसओका प्रतिनिधि शिखा श्रेष्ठले प्रकाशनप्रति प्रसन्नता प्रकट गरेको त्यस जर्नलका आलेखले बौद्धिक खुराकको मात्र काम नगरी नीतिनिर्मातालाई मुलुकको ४० प्रतिशत जनताका पक्षमा नीति बनाउन पनि सघाउने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडाको विश्वास थियो । खतिवडाले युथ जर्नलको चौथो अंक ‘सामाजिक न्याय तथा युवा’ मा केन्द्रित हुने जानकारी दिंदै स्तरीय सामग्रीका लागि आह्वान पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्