कोरोना संक्रमित हेटौंडाकी महिलाको स्वास्थ्य अवस्था गम्भीर



रोसन पराजुली, हेटौंडा ।

स्थायी ठेगाना गलत उल्लेख गरिएकी कोरोना संक्रमित हेटौंडाकी एक महिलाको स्वास्थ्य अबस्था काठमाडौंमा गम्भीर बनेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हेटौंडा–३ की ५४ वर्षीया महिलामा कोरोना पुष्टि भएको सूचना सार्वजनिक गरे पनि ती महिला हेटौंडा उपमहानगरपालिका वडा–४ की स्थायी बासिन्दा भएको खुलेको हो । उनी ६ दिनअघि परिवारसहित गएर काठमाडौंमा उपचार गराइरहेकी छिन् ।

जेठ ४ गते हेटौंडा अस्पतालबाट रिफर भएर काठमाडौं गएकी ती महिलाको स्वाब काठमाडौंमा परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । उनी हेटौंडाबाट गएकोले कोरोना परीक्षणका लागि नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा शुक्रबारको रिपोर्टमा पोजेटिभ देखिएको थियो । उनको उपचारमा संलग्न चिकित्सकको स्वाब संकलन गरिएको छ भने रिपोर्ट नआउँदासम्म क्वारेन्टिनमा बस्न भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले ठेगाना गलत भनेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हाल डाक्टरसहित छलफलबाट कन्ट्राक्ट ट्रेसिङको काम सुरु भएको छ । उनलाई मुटुको समस्याका कारण हेटौंडा अस्पतालमा उपचारपछि टिचिङ अस्पताल रिफर गरिएको थियो । महिलामा कोरोना भाइरस पुष्टि भएको, काठमाडौँ र हेटौंडामा उनीसँग सम्पर्कमा रहेकाको खोजी भइरहेको हेटौंडा अस्पताल प्रमुख डा। प्रवीण श्रेष्ठले जानकारी दिनुभयो ।

स्वाशप्रस्वासमा समस्या आएका कारण उनलाई काठमाडौं रिफर गरिएको थियो । उनलाई उपचार गर्ने डाक्टर, सम्पर्कमा रहेका व्यक्ति, घरपरिवारको पीसीआर गर्ने तयारी थालिएको छ । लकडाउनको समयमा हेटौंडा घर ओहोरदोहोर गरेको र कोकोसँग भेट भएको भन्ने विषयमा खोजी भइरहेको छ ।

हेटौंडा अस्पतालमा ती महिलासँग नियमित सम्पर्कमा रहेका डाक्टर, नर्स तथा अन्य कर्मचारीसहित करिब २० जनालाई आइसोलेसनमा राख्ने निर्णय गरिएको हेटौंडा अस्पताल कोरोना युनिटका प्रमुख डा। हरि खड्काले बताउनुभयो ।  ती महिलासँग नियमित सम्पर्कमा रहेका डाक्टर, ल्याब प्राविधिक, एक्सरे प्राविधिक, नर्ससहित कर्मचारीलाई आइसोलेसनमा राखिने बताइएको छ ।

अस्पतालले १ सय ५० कर्मचारीमध्ये ६६ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइसकेको र बाँकीको पनि स्वाब परीक्षणका लागि पठाइने डा। खड्काले बताउनुभयो ।

महिलाको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको महाराजगञ्जस्थित मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू आइसोलेसनमा उपचार भइरहेको जानकारी दिइएको छ । महिलालाई कोरोना पुष्टि भएपछि सीसीयू आइसोलेसन वार्ड सिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्