मनमोहन कार्डियो थोरासिकको सीसीयूमा मुटुको उपचार गराइरहेकी महिलामा कोरोना संक्रमण



भगवती तिमल्सिना, काठमाडौँ ।

नेपालमा कोरोना संक्रमणको चाप अत्यधिक बढ्दै गएको अवस्थामा अब भिभिन्न अस्पतालमा उपचारका लागि आउने बिरामीको पनि कोरोना छ छैन परिक्षणसँगै उपचार शुरु गर्नुपर्ने अवस्था सृजना भएको छ ।

शुक्रवार महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मुटुको उपचार गराईरहेकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

हेटौँडा ४ हुप्रा मकवानपुर स्थायी घर भएकी ५४ बर्षीया महिला मुटुको समस्या भै मनमोहनको सीसीयू कक्षमा राखेर उपचार भइरहेको थियो । उनी हेटौडाबाट आएकाले कोरोना परिक्षणका लागि नमूना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको परीक्षणमा शुक्रवारको रिपोर्टमा पोजेटिभ देखिएको अस्पताले जनाएको छ ।

ती महिलालाई भर्ना भए देखि नै छुट्टै सीसीयू कक्षमा आइसोलेसनकै रुपमा राखि उपचार भैरहेको भएपनि अब त्रिवि शिक्षण अस्पतालको गणेशमान भवनमा रहेकोे कोरोना उपचार कक्ष लेभल थ्रीमा सार्ने बिषयमा छलफल भैरहेको त्रिवि हिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले बताउनुभयो ।

अहिले सम्म उनलाई मुटुको चाल गडबड भएकाले मनमोहन कार्डियो थोरासिसमै राखि उपचार भैरहेको र उनको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा अस्पतालमा हिजो देखि नै विभिन्न चरणमा छलफल भैरहेको र अहिले पनि बैठक चलिरहेको जानकारी आफुले पाएको खड्गाले बताउनुभयो ।

त्रिवि शिक्षण अस्पतालमा यस अघि एक बालिकामा उपचारकै क्रममा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि ट्रेसिङ लिएर चिकित्सक, स्वास्थ्यकर्मी, अन्य बिरामी र बिरामी कुरुवामा परिक्षण गर्दा एकजना बिरामी कुरुवामा पनि कोरोना संक्रमण भएको प्रमाणित भएको थियो । सोही अस्पतालमा नमर्ल सुत्केरी भएकी सिन्धुपाल्चोककी एक २९ बर्षिया महिलाको सुत्केरी भएको ९ दिनका दिन कोरोना संक्रमणकै कारण धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

नेपालमा पहिलो कोरोनाबाट मृत्यु भएकी महिलाका परिवार र सम्पर्कमा आएका व्यक्तिमा र नवजात शिशुमा समेत कोरोना संक्रमण नदेखिएकाले उनलाई त्रिवि शिक्षण अस्पतालबाटै कोरोना सरेको हुन सक्ने भन्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले त्रिवि शिक्षण अस्प्ताललाई नै केन्द्र मानेर अनुसन्धानमा जुटीसकेको यस अघि नै बताईसक्नुभएको छ ।

डा. पाण्डेकै भनाईलाई आधार मान्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कोरोनाको लक्ष्यण नदेखिएका बिरामीको उपचार गर्दा पनि सुरक्षा अपनाएर मात्र उपचारमा जुट्नुपर्ने बेला आएको छ । नेपालमा देखिएका प्राय बिरामीमा संक्रमण भैसक्दा पनि लक्षण नदेखिनुले सावधानी अपनाउनुको विकल्प नभएको स्वास्थ्यकर्मीहरुको ठम्याई छ ।

प्रतिक्रिया दिनुहोस्