सीमानाकाबाट तनहुँका ४५ जनाको उद्दार



न्युज अफ नेपाल, तनहुँ ।

कोभिड १९ फैलिएसँगै गरिएको बन्दाबन्दीमा भारतको सिमा नाकाबाट तनहुँका नागरिकलाई जिल्लामा ल्याइदैछ । लामो समय बन्दाबन्दीले उनीहरु काम पनि नहुने र खान समेत नपाउने अवस्थामा पुगेपछि घर फर्किन लागेका उनीहरुलाई जिल्लामा ल्याइने भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

प्रजिअ अधिकारीका अनुसार सिमा नाकाबाट करिब ४५ नागरिकलाई भएको हो । भैरहवाबाट २१, कैलालीबाट १७ र काँकडभिट्टाबाट ४ तथा अन्य स्थानबाट गरी ४५ जनालाई ल्याइने भएको अधिकारीले बताउनुभयो ।

भैरहवा नाकाबाट २१ नागरिक शुक्रबार जिल्लामा आइसकेका छन् भने अन्य नाकाबाट समेत ल्याउने व्यवस्था गरिएको उहाँले बताउनुभयो । कैलाली नाकाबाट १७ र झापा, काकडभिट्टाबाट ४ जना हिडिसकेको उहाँको भनाई छ ।

‘कोभिड १९ को संक्रमण फैलिन सक्छ भनेर जिल्लावासीलाई नल्याउने कुरा हुँदैन, सुरक्षित तवरबाट क्वारेन्टाइनमा राख्ने गरी ल्याउने तयारी भएको हो,’ प्रजिअ अधिकारीले भन्नुभयो, ‘प्रत्येक स्थानीय तहमा न्यूनतम ५० शैय्याको क्वारेन्टाइन बनाइएको छ, त्यहीँ १४ दिन राखेर स्वास्थ्य परीक्षण गरिनेछ र बनाइएका क्वारेन्टाइन अपुग भए तत्काल निर्माण गरी व्यवस्थापन गर्नेछौं ।’ सिमा नाकाबाट जिल्लाका नागरिक भित्र्याउदै गर्दा स्थानीयवासी भने त्रसित बनेका छन् ।

८२ जनाको थ्रोट स्वाब संकलन

भारतीय नाकाबाट जिल्ला भित्रिने र क्वारेन्टाइनमा अग्रस्थानमा रहेर उनीहरुको रेखदेखमा खटिने व्यक्तिहरुको थ्रोयट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार, जनप्रतिनिधि, फलफूल तथा तरकारी विक्रेता लगायत अन्य व्यक्तिहरुको स्वाब संकलन गरी पोखरा पठाइएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताउनुभयो । अधिकारीका अनुसार क्वारेन्टाइनमा खटिएका जनप्रतिनिधिको समेत स्वाब संकलन गरी कोभिड १९ परीक्षणका लागि पठाइएको छ ।

विभिन्न क्षेत्रमा कोरोनाको संक्रमण फैलिएसँगै जिल्लाका अग्रभागमा खटिएका व्यक्तिहरुको कोरोना परीक्षणका लागि पठाइएको उहाँले बताउनुभयो । शुक्रबार २५ जनाको स्वाब संकलन गरिएको उहाँले बताउनुभयो ।

घिरिङ गाउँपालिकाका १६ जना र ऋषिङ गाउँपालिकाका दुई जनाको बिहीबार स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाइएको उहाँले बताउनुभयो । बुधबार व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पस र व्यास नगरपालिका–४ स्थित मदर्शा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका २५ जनाको स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आइसकेको छ । क्वारेन्टाइनमा बस्ने अरुको पनि क्रमशः स्वाब परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसअघि पनि व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिकाका ३९ जनाको पिसिआर परीक्षण गरिसकिएको छ । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । उनका अनुसार हालसम्म ८२ जनाको स्वाब परीक्षण गरिसकिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

जिल्लामा हालसम्म ९११ नागरिक भित्रिएका छन् । व्यास नगरपालिकामा २५, घिरिङ गाउँपालिकामा १५, भानु नगरपालिकामा ९, म्याग्दे, बन्दीपुर र देवघाटमा ३/३, ऋषिङ र आँबुखैरेनी गाउँपालिकामा २÷२ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा बसेका सबैको स्वास्थ्य सामान्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्