कोरोना : कहाँबाट आयौ ? कहिलेसम्म बस्छौ ?

लक्ष्मण अधिकारी



अहिले सवैको मनमा यही प्रश्न घुमिरहेको छ, यो भाइरस अचानक कहाँबाट आयो र कहिलेसम्म बसिरहन्छ ? चोरजस्तै केहीलाई लिएर गहि हाल्ला कि घरज्वाईँजस्तै खुट्टा पसारेर बसिरहला ? यो रोग आफूलाई कुन बेला सर्ने हो भनेर विश्वका मानिसहरु त्राहिमाम भएर घरभित्रै थुनिएका छन् । यसले मानिसको व्यक्तिगत जीवन, मनोविज्ञान आार्थिक, सामाजिक संरचना तहसनहस पारिसकेको छ ।

यतिसम्म कि यसले स्वास्थ्य क्षेत्रमा भइरहेको विश्वास र मान्यतालाई पनि परिवर्तन गरिदिएको छ ।कोभिड– १९ को महामारी आउनुअघि विकसित देशहरुमा नसर्ने रोगहरुबाट मानिस धेरै मर्थे भने सरुवा रोगहरुबाट कम । विकासोन्मुख मुलुकहरुमा चाहिँ सरुवा रोगले बढी मानिसको मृत्यु भइरहेको थियो । यस्ता कतिपय मुलुकहरुमा सर्ने र नसर्ने दुवै रोगको दोहोरो मार पर्न थालेको थियो ।

तर अहिले परिस्थिति आश्चर्यजनक रुपमा भिन्न भइरहेको छ । संक्रामक रोग कोभिड १९ को महामारीबाट विकासशील देशमाभन्दा विकसित देशहरुमा मानिसको मृत्यु बढी भइरहेको देखिएको छ, जुन सर्वसाधारण देखि स्वास्थ्य विज्ञहरुको पनि चासो, चर्चा र अध्ययनको विषय भइरहेको छ ।

लक्ष्मण अधिकारी

रोग संक्रमणको हिसावले अहिले सवैभन्दा बढी अमेरिकामा करिव १५ लाख ७० हजार मानिसलाई संक्रमण भएको छ भने मृत्यु संख्या पनि करिव ९३ हजार पाँच सय पुगी अमेरिका अरु देशभन्दा दोब्बरभन्दा बढी अंकले अग्रपंतिमा रहेको छ । तर संक्रमित मानिसहरुको मृत्यु दरका हिसावले भन्ने हो भने अमेरिका आठौँ नम्बरमा रहेको छ । त्यसो भए पनि संक्रमित विरामी मध्ये मृत्यु धेरै हुने देशहरुको पंतिमा विकसित देशहरु नै अग्रस्थानमा रहेका छन् ।

जोन हप्किन्स युनिभर्सिटीले तयार गरेको तथ्यांक अनुसार युरोपियन मुलुक बेल्जियममा कुल संक्रमित विरामी मध्ये १६.३ प्रतिशतको मृत्यु भइरहेको छ । यस्तै गरी फ्रान्समा कुल संक्रमित विरामीको १५.७ प्रतिशत, इटलीमा १४.२ प्रतिशत, बेलायतमा १४.१ प्रतिशत, स्पेनमा १२ प्रतिशत, क्यानडामा ७.५ प्रतिशत, ब्राजिलमा ६.६ प्रतिशत, अमेरिकामा ६ प्रतिशत, इरानमा ५.९ प्रतिशत, जर्मनीमा ४.५ प्रतिशत र दक्षिण कोरियामा २.४ प्रतिशतको मृत्यु भएको छ ।

जनसंख्याको आधारमा कुरा गर्ने हो भने पनि बेल्जियममा प्रति एक लाख जनसंख्यामा ७९.५० जनाको मृत्यु भइरहेको छ । यस्तैगरी स्पेनमा ५९.३० जना, इटलीमा ५२.९६ जना, बेलायतमा ५२.४५ जना, फ्रान्समा ४२.१६ जना, स्वीडेनमा ३६.३१ जना, नेदरल्याण्डसमा ३३.१६ जना, क्यानडामा १६.०८ जना, जर्मनीमा ९.६५ जना र दक्षिण कोरियामा ०.५१ जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोनोको उत्पती भएको मानिएको देश चिनमा संक्रमित विरामी मध्ये ५.५ प्रतिशत विरामीको मृत्यु भएको पाइएको छ । यस्तैगरी भारतमा ३.१ प्रतिशत, अप्mगानिस्थानमा २.४ प्रतिशत, पाकिस्तानमा २.१ प्रतिशत, बंगलादेशमा १.५ प्रतिशत, श्रीलंकामा ०.९० प्रतिशत, नेपालमा ०.४९ प्रतिशत र मालदिप्समा कुल संक्रमित मध्ये ०.४० प्रतिशत विरामीको मृत्यु भएको पाइएको छ । जेठ ७ गते विहानसम्म नेपालमा ४०२ जनामा कोभिड १९ संक्रमण हुनका साथै २ जनाको मृत्यु भइसकेको छ ।

प्रति लाख जनसंख्याको हिसावले हेर्दा चिनमा ०.३३ जना विरामीको मृत्यु भएको देखिन्छ । यस्तैगरी भारतमा ०.२३ जना, अप्mगानिस्थानमा ०.४७ जना, मालदिप्समा ०.७८ जना, पाकिस्तानमा ०.४३ जना, बंगलादेशमा ०.२२ जना र श्रीलंका ०.०४ जना विरामीको मृत्यु भएको देखिन्छ ।

विभिन्न देशहरुमा मृत्युदर फरक भएको सन्दर्भलाई जनहप्किन्स युनिभर्सिटीको अध्ययन टोलिले विश्लेषण गर्दै भनेको छ, देशैपिच्छे मृत्युदर फरक हुनुमा विभिन्न कारण हुनसक्छ त्यसमध्ये एउटा प्रमुख कारण जनसंख्याको स्ट्रक्चर पनि हो । इटली विश्वमै बृद्धहरु बढी भएको दोस्रो ठूलो देश हो । त्यसले गर्दा पनि त्यहाँ धेरै मृत्यु भयो ।

त्यस्तै गरी स्वास्थ्य सेवा सुविधाको उपलब्धता पनि मृत्युदर कम वेसी हुने एउटा महत्वपूर्ण कारण हो । जनसंख्याको आधारमा अस्पतालहरुको संख्या र आइसियु बेडहरुको उपलब्धतामा पनि विरामीको मृत्यु दर निर्भर रहेको हुन्छ । दक्षिण कोरिया र जर्मनीमा मृत्युदर कम हुनुमा जनसंख्याको आधारमा अस्पताल बेड बढी हुनु पनि हो । स्वास्थ्य सेवा सशुल्क छ वा निःशुल्क त्यसले पनि विरामीहरुको मृत्युदरमा फरक पार्ने सो अध्ययन टोलिले विश्लेषण गरेको छ ।

लक्षणहरु नदेखिएको अवस्थामा पनि संकास्पद क्षेत्रका अस्पताल र समुदायमा कोभिड १९ परीक्षण कत्तिको गरिएको छ त्यसमा पनि मृत्युदर निर्भर हुन्छ । अस्पतालमा आएका र समुदायमा गएर गरिएको परीक्षण धेरै संख्यामा गरिएको स्थानमा भन्दा यस्तो परीक्षण कम गरिएको स्थानमा मृत्युदर बढी भएको पाइएको जोनहप्किन्सले जानकारी दिएको छ ।

कोभिड कहिलेसम्म बस्छ ?

विश्व महामारीका रुपमा देखा परेको कोभिड १९ करिव पाँच महिनाको अवधिमा विश्वका करिव ५० लाख मानिसलाई संक्रमित पार्नुका साथै करिव ३ लाख २५ हजार मानिसको ज्यान लिइसकेको छ भने अझै ४५ हजार ५ सय विरामीहरु गम्भिर अवस्थामा पुगेका छन् । रोग संक्रमणको गति अझै रोकिएको छैन । नेपाल भारत जस्ता देशमा क्वारेन्टाइन र समुदाय स्तरमा परीक्षण कार्यले भर्खरै गति लिएकाले यसको विस्तार अझै हुँदै जाने अनुमान गरिएको छ ।

अन्य देशको अनुभवका आधारमा नेपालमा करिव १५ हजार मानिस संक्रमित हुने अनुमान गरिएको छ । कतिपय विशेषज्ञले नेपालमा यो भाइरसको संक्रमण आगामी असार श्रावणमा व्यापक हुने अनुमान पनि गरिरहेका छन् । यसले गर्दा यो भाइरस कहिलेसम्म बस्छ कति फैलिन्छ र कतिलाई डस्छ भन्ने त्रास भइरहेको छ ।

जोन हप्किन्स ब्लुम्बर्ग स्कुल अफ पब्लिक हेल्थले यो भाइरस अधिकांस मानिसमा फैलिने खतरा भएको चेतावनी दिएको छ । यो छिटै फैलियो भने अनपेक्षित डिजास्टर हुने छ । यदि यो केही महिनामा फैलियो भने प्रत्येक अस्पताल भरिभराउ हुनेछन् र कोरोनोभाइरसका विरामी र अन्य विरामीको उपचार नै असम्भव हुनजाने छ ।

तर यदि हामीले रोगबाट बच्नका लागि सामाजिक दूरी कायम राख्यौँ, यात्रा कम ग¥यौँ, यो रोगबाट विरामी भएका बेला काममा वा बाहिर गएनौँ भने रोग विस्तारै फैलिने छ । यो संक्रमण विश्वका ६० देखि ७० प्रतिशत जनसख्यामा तीन वर्ष सम्ममा फैलियो भने सवै अस्पतालहरु भरिभराउ हुने छैनन्, विरामीले उपचार पाउने सम्भावना छ । अनि हामीलाई भ्याक्सिन बनाउने समय पनि पर्याप्त हुने छ र यो घटनाले पूर्णत अर्कै मोड लिने छ । यसो हुँदा यो रोग कम क्षतिमा नियन्त्रणमा आउन सक्ने जोन हप्किन्सको अनुमान छ ।

 जोन हप्किन्सको विश्लेषण अनुसार खोप विकास भएर वा मानिसहरु कोभिड १९ बाट विरामी भई निको भइसकेपछि मानिसमा विकास हुने रोग प्रतिरोधात्मक क्षमता विकास नभएसम्म यो भाइरस रहिरन्छ । यसले गर्दा यो भाइरस कहिलेसम्म रहिरहन्छ भन्ने अनुमान गर्नु निकै नै हतार हुनेछ ।

 कहाँबाट आयो कोरोना ?

 अहिले धेरैले कोरोना भाइरसको श्रोत जनावर नै हो भनिरहेका छन् तर यसको यकिन भने भइसकेको देखिदैन । तर यो भाइरसको श्रोत जनावर नै हो भन्ने केही आधारहरु प्रस्तुत गरिएका छन् । पछिल्लो पटक नयाँ देखिएका र पुनरागमन भएका करिव ६० प्रतिशत रोगका किटाणु तथा विषाणुहरु सवैको साझा उत्पतिस्थल जनावरको शरीर भएको अनुसन्धानकर्ताहरुको दावी छ ।

विश्वमा बन्यजन्तुको बासस्थानको विनासले गर्दा बन्यजन्तुलाई मानिस बसोवास भएको क्षेत्रतिर स्थानान्तरण हुन प्रेरित गरिरहेको छ । जस्तो चमेरो इबोला, सार्स र अन्य रोगका किटाणुहरुको वासस्थान भएको पाइएको छ । बन विनास बढ्न थालेपछि मानिसका घर वरिपरिका रुख तथा बगैँचामा बस्न थालेका छन् । यस्तै खालका पंक्षि तथा जनावरबाट मानिसमा यो भाइरस सरेको हुनुपर्छ भन्ने अनुमान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्