नेपाली महिलामा दुव्र्यसनको समस्या



विभिन्न अध्ययनहरुका अनुसार नेपालमा पनि झन्डै ३० हजार महिला लागूऔषधको धरापमा परिसकेको अनुमान छ । विकसित देशहरूमा पुरुष र महिला झन्डै समान संख्यामा दुव्र्यसनमा परेको देखिन्छ भने पुरुषप्रधान हाम्रो जस्तो विकासोन्मुख मुलुकमा पुरुषको तुलनामा महिलाको संख्या कम देखिन्छ । साधारणतया नेपालका महिलाहरू दुव्र्यसनमा पर्नुहुँदैन भन्ने खालको मान्यता देखिन्छ । तर, यही समाजमा दुव्र्यसनको समस्या छ भने महिला पनि त्यसबाट प्रभावित हुनुलाई आश्चर्यजनकरूपमा हेर्नुपर्ने कुनै कारण देखिँदैन ।
उपचारमा आएकामध्ये महिला ५० प्रतिशत महिला आफ्ना केटा साथीकै कारणले लागूऔषध लिन बाध्य भई लतमा फसेको बताउँछन् । साधारणतया केटाले लागूऔषध लिने गरेको बताइएको छ भने उसले प्रेमिकालाई विविध बहानामा ड्रग्स खुवाउने गरेर लतमा फसाएको भेटिन्छ । प्रेमी–प्रेमिकामा एक–अर्काबाट विरोध नआओस् भन्ने र आर्थिक भार समान पार्न पनि दुवै लतमा फस्ने गरेको भेटिएको छ । गलत प्रेमी छान्न पुग्दा नै महिला दुव्र्यसनमा फसेका छन् ।
करिब २० प्रतिशत महिलाले आफ्नो दुव्र्यसनी केटासँगको प्रत्यक्ष सम्पर्क नभएको तर तिनीहरूको प्रेमिका आफ्नो साथी भएको र त्यो केटी साथीले आफ्नो प्रेमीबाट लागूऔषध ल्याई रमाइलो हुन्छ रे, चाखौं भनी अनुरोध गरेकाले हेरौं न त भनी लागूऔषध लिन थालेको बताए । यस प्रकार योजनाबद्धरूपमै पनि यस्तो काम भएको हुन सक्छ ।
महिलालाई दुव्र्यसनमा पार्न पुरुषहरूकै प्रत्यक्ष–अप्रत्यक्ष भूमिका देखिन्छ । गलत पुरुषको संगतमा परेका कारणले नै अधिकांश महिला दुव्र्यसनको समस्यामा परेको देखिन्छ । पुरुषप्रधान मुलुक भएकाले दुव्र्यसनमा परेका महिलालाई उपचारमा पठाउन परिवार तयार हुँदैनन् । जसको कारणले उनीहरूको जीवन कष्टकर हुन्छ र दुःखद अन्त्य पनि हुन्छ ।
महिलालाई आफैं लागूऔषध किन्न जाँदा गाह्रो पर्ने हुँदा उनीहरू कुनै पुरुषको भर परेका हुन सक्छन् । यस्ता पुरुषले ठग्ने, पैसा नै लुटिदिने, नक्कली औषधि ल्याइदिनेलगायत अनेकौं तरिकाले तिनीहरूलाई शोषण गर्दछन् । कमजोर महिला यो समस्याबाट निस्कन नसकी आत्महत्या पनि गर्न सक्छन् । एक्लै र बेसहारादेखि विवाह गर्ने नाममा अलपत्र पारी छोडिदिन सक्छन् ।
पुरुषको तुलनामा महिलालाई दुव्र्यसनबाट बाहिर निकाल्न पनि कठिन हुने गरेको देखिएको छ । कुनै पनि घरमा महिलामा दुव्र्यसनको समस्या छ भने लुकाउनुहुँदैन, उपचार केन्द्रमा लैजान मद्दत गर्नुपर्छ । महिलाले आफ्नो जन्मस्थान नै छोडी पराइघर गएर विश्वास दिलाउनुपर्ने हुन्छ । त्यो काम दुव्र्यसनमा परेका महिलाका लागि चुनौतीपूर्ण हुने गर्छ । त्यसैले तपाईंको घर पनि लागूपदार्थ दुव्र्यसनमुक्त होस् ।
– समीर झा, कोटेश्वर ।

 

प्रतिक्रिया दिनुहोस्