महामारीमा ‘अफवाह’ सूचनाको प्रचार



मोतीराम तिमल्सिना,काभ्रे ।

नेपालमै पहिलो पटक कोरोना भाईरसको संक्रमणबाट मृत्यु भएकी २९ बर्षिया महिलाको शव अन्त्येष्टीमा गरिएको प्रचार झुटो देखिएको छ । महामारीमा प्रचारका लागि अफवाह फैलाउने सामाग्री प्रकाशन भएको भन्दै सरोकारवाला निकायले ध्यानाकर्षण गराएका छन् ।
नेपाल सरकारले कोरोना भाईरसका कारण मृत्यु हुने ब्यक्तिहरुको अन्त्येष्टीका लागि कार्याविधी २०७६ जारी गरेको छ ।

धुलिखेल अस्पतालमा उपचार नै गर्न नपाई निधन भएकी महिलाको अन्त्येष्टी धुलिखेलमै गर्ने तयारी थियो । स्वास्थ्य मन्त्रालयबाट अस्पताल आएको विज्ञ सहितको टोलीसँगको परामर्शमा जिल्ला स्थित कोभिड १९ रोकथाम, नियन्त्रण तथा ब्यवस्थापन कमाण्ड पोष्टको बैठक बसेको थियो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना उक्त पोष्टको संयोजक हुनुहुन्छ ।

सिन्धुपाल्चोकको घटना काभ्रेपलाञ्चोक जिल्लाको अस्पताल भएकाले शुरुमा शव ब्यवस्थापन कता गर्ने अलमल भएको थियो । पछि जिल्ला कमाण्ड पोष्टले धुलिखेलमै अन्त्येष्टीको तयारी गरेसँगै तत्काल जलाउन सकिने विद्युत्तिय शवदाह गृहमा लैजाने निर्णय भयो ।

‘शब जलाउँदा त्यसबाट संक्रमण फैलन नपाओस भन्ने उदेश्यले धुलिखेल अस्पतालमा प्याक गरेर राखिएको शवलाई पशुपतिमा रहेको विद्युत्तिय शवगृहमा पठाउने निर्णय भएको हो’–स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवं कमाण्ड पोष्टका सदस्य सचिव तथा फोकल पर्सन डा. नरेन्द्रकुमार झाले भन्नुभयो–‘धुलिखेलमा अन्त्येष्टी गर्न नसकेर, नमानेर, डराएर काठमाडौ पठाईएको होईन ।

काभ्रेमा शव बाहन थिएन । भक्तपुरबाट शब बाहन मागिएको मात्रै हो ।’ ‘प्रचार गरिए जस्तो शव उठाउनै भक्तपुरबाट अरुण सैजुको टोली आएको होईन’–डा झाले भन्नुभयो–‘मृतक महिलाको शव उनको श्रीमान, धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी र शव बाहन चालक एकजनाले उठाएर राखेका हुन् ।

त्यस भन्दा अघि अस्पतालले उक्त शवलाई उठाउन मिल्ने गरी प्याक गरेर राखेको थियो । चालक र अर्का एक जना शव बाहनमा आएका थिए । उनिहरुले ल्याएको प्लास्टिकमा थप प्याक गरी पशुपति त्यहि शव बाहनमा पु¥याईएको हो ।’ ‘चार जनाको समुह आएर शव लगिएको भन्ने प्रचार अफवाह मात्रै हो’–झाले भन्नुभयो–‘उहाँहरु शवबाहनमा चालक सहित थप एक जना आउनु भएको थियो ।

स्वास्थ्यकर्मी र श्रीमानको सहयोगमा शव काठमाडौ पु¥याईएको हो । भक्तपुर जिल्ला प्रहरी प्रमुख, नेपाली सेनाका कर्णेल सहितको टोली शव बाहन लिएर धुलिखेल आएको थियो । धुलिखेलाट काठमाडौसम्म स्कर्टिङ्ग सहित शव अन्त्येष्टी गरिएको हो ।’ विष्णु दल गणका प्रमुख सेनानी सुवास खड्काको संयोजकत्वमा जिल्ला स्तरीय पिआरटी गठन गरिएको थियो ।

 

पिआरटीमा जिल्ला स्थित सबै सुरक्षा निकायका प्रतिनिधिहरु सहभागि छन् । शब ब्यवस्थापन सम्वन्धी जिल्ला संकट ब्यवस्थापन समितिले उक्त शब ब्यवस्थापन गरेको डा. झाले बताउनु भयो । जिल्ला कमाण्ड पोष्ट, धुलिखेल अस्पताल, स्वास्थ्य कार्यालय लगायतको ब्यवस्थापनबाट महामारी नियन्त्रण गर्न सहज भएको प्रमुख सेनानी खड्काले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्लामा शव बाहन नभएकाले तत्काल भक्तपुरबाट मगाईएको भए पनि भोलिपल्टै शब बाहन तयारी अवस्थामा राखिएको जानकारी दिनु भयो । धुलिखेलबाट शव बाहन जान नमानेको, शवबाहनमा राख्न नमानेको कुरा निराधार र कुप्रचार भएको प्रजिअ तिमिल्सनाले बताउनु भयो । जिल्लामा विपद हुनु अगावै सम्पूर्ण तयारी पुरा गरिएको र विपद ब्यवस्थापन गर्न सक्षम रहेको उहाँले बताउनु भयो ।

शव ब्यवस्थापनको कार्यविधि

मृतकको शव व्यवस्थापनमा विशेष सावधानी अपनाई शब अस्पतालबाट उठाई पशुपति स्थित इलेक्ट्रोनिक शब दाहगृहमा पु¥याईएको थियो । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई अन्य रोगले मृत्यु भएकाहरुको जस्तै गरी परम्परागत रुपमा परिवारले शब बुझ्ने र दागबत्ति सहितको दाहसस्कार गर्न मिल्दैन ।

संक्रमण नफैलियोस भन्नका लागि मृतकलाई सकेसम्म छिटो भन्दा छिटो अन्त्यष्टि गनुपर्ने विश्व स्वास्थ्य संगठनले औल्याएको छ । यस्तो अवस्थामा परिवारले अन्तिम संंस्कार गर्न मिल्दैन र सरकारले पनि विश्व स्वास्थ्य संगठनले तोकेको नियम पालना गरि अन्यष्टी गर्नुपर्ने हुन्छ ।

विश्व स्वास्थ्य संगठनको गाईड लाईनकै आधारमा नेपाल सरकारले तयार पारेको कार्यविधि अनुसार शववाहन चालक एवं कर्मचारीले अनिवार्य सुरक्षाकवच पीपीई लगाउनु पर्छ । शव अन्त्येष्टी गर्ने कुनै विधी गर्न नमिल्ने भएकाले शव बाहनबाट ओरालेर सिधै मेशिनमा राखियो । मृतकका श्रीमानले एकमिटर टाढैबाट शवलाई नियाले । यदि उनी ६० बर्ष नाघेका व्यक्ति थिए भने एकमिटरको दूरीमा पनि बस्न नियमले मिल्दैन थियो ।

यस्तो छ जिल्लाको टोली

कोरोना भाईरसको संक्रमण फैलदै गए पछि २०७७ जेठ २ गते शुक्रबार कोभिड १९ संक्रमण नियन्त्रण, रोकथाम र उपचार सम्बन्धी जिल्लास्तरीय कमाण्डपोष्टका संयोजक तथा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाको अध्यक्षतामा बसेको बैठकले जिल्लामा ड्युटीमा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य अधिकृतसँगको समन्वयमा प्राथमिकताको आधारमा कोभिड १९ परिक्षण गर्ने निर्णय गरेको छ ।

जिल्लामा पिसिआर किट २ हजार ६ सय किट, आरडिटी १ हजार किट रहेको डा. झाले बताउनु भयो ।कमाण्ड पोष्टमा प्रजिअको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई खतिवडा, विष्णु दल गणका प्रमुख सेनानी सुबास खड्का, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविकुमार पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण हेड क्वाटर काभ्रेका प्रहरी उपरिक्षक पुरुषोत्तम थापा, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय काभ्रेका प्रमुख सरोज निरौला, स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झा, धुलिखेल अस्पताल काभ्रेका प्रवक्ता डा. सुमन ताम्राकार रहनु भएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु भएको पहिलो महिला सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे राम्चे गाउँपालिका वडा नं ९ की ३० वर्षीय ११ दिनकी सुत्केरी महिलाको निधन जेष्ठ ३ गते धुलिखेल अस्पतालमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्