व्यापार घाटा ९०३ अर्ब



नेपाल समाचारपत्र, काठमाडौं

चालू आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा व्यापार घाटा ८ दशमलव ९ प्रतिशतले संकुचन भई ९०३ अर्ब ७२ करोड कायम भएको छ। गत वर्षको सोही अवधिमा यस्तो घाटा २१ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव ० प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव ६ प्रतिशत रहेको थियो।

उक्त अविधमा कुल वस्तु निर्यात १२ दशमलव ९ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको नौ महिनाको आर्थिक प्रतिवेदनमा गन्तव्यका आधारमा भारततर्फ २५ दशमलव ४ प्रतिशतले निर्यात वृद्धि भएको देखिएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८ दशमलव १ प्रतिशत र ७ दशमलव ५ प्रतिशतले घटेको छ।

यस्तै वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधी, जडिबुटी, दन्तमन्जनलगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोसाक, जुस, ऊनी गलंैचालगायतका वस्तुको निर्यात घटेको छ।

चालू आवको नौ महिनामा कुल वस्तु आयात ७ दशमलव ५ प्रतिशतले घटेर ९८२ अर्ब ५३ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१ दशमलव ३ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात ३ दशमलव १ प्रतिशतले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२ दशमलव ३ प्रतिशत र १ दशमलव शँन्य प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्