दिवेशलाई अमेरिकन आइडलको उपउपाधि



नेपाली प्रतिभा दिवेश पोखरेल (अर्थर गन) विश्व प्रसिद्ध गायन रियालिटी सो अमेरिकन आइडलको उपउपाधि चुम्न सफल भएका छन्। नेपालीका साथै अमेरिकी संगीतप्रेमीहरूबाट समेत प्रशंसा बटुल्दै आएका दिवेश अमेरिकी समयअनुसार आइतबार साँझ (नेपाली समयअनुसार सोमबार) अमेरिकामा सम्पन्न अमेरिकन आइडलमा उपउपाधि चुम्न सफल भएका हुन्।

अमेरिकन आइडलको उपाधि भने जस्ट सामले चुमेकी छिन्। यससँगै विश्वभर प्रसिद्ध रहेको अमेरिकन आइडलमा पुग्न र उपाधि जित्ने दिवेश पहिलो नेपाली प्रतिभा भएका छन्। संगीतप्रेमीका साथ प्रतियोगिताका निर्णायकहरूको समेत प्रिय बनेका उनी दर्शक भोटका आधारमा उपउपाधि विजेता भएका हुन्। काठमाडौंको रविभवनमा जन्मेका दिवेश सन् २०१४ देखि अमेरिका बस्दै आएका छन्।

अमेरिकन आइडल विजेता २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज हो। लाइबेरियन मँलकी अश्वेत गायिका उनी न्युयोर्क बस्दै आएकी छिन्। उनी स्कुले जीवनदेखि नै न्युयोर्कका सबवे र रेलहरूमा गीत गाउने गर्थिन्। सामलाई अमेरिकन आइडलको उपाधि जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो।

नेपाली प्रतिभा दिवेशलाई जिताउन पनि अमेरिकामा रहेका नेपालीका साथ नेपालमै रहेका नेपालीहरूले समेत विशेष अभियान चलाएका थिए। यो अभियानले दिवेश उपउपाधिमात्र जित्न सफल भए।

प्रतिक्रिया दिनुहोस्