१३औं सागका प्रशिक्षकले पाए नगद पुरस्कार



न्युज अफ नेपाल, काठमाडौं ।

गत मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा पदक जित्ने नेपाली खेलाडीका प्रशिक्षकहरुलाई नगद पुरस्कार प्रदान गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपाललाई पदक दिलाउने खेलका ६८ प्रशिक्षक र सहायक प्रशिक्षकको बैंक खातामा १ करोड ८६ लाख रुपैयाँ जम्मा गरिएको जनाएको हो । यसअघि सागमा पदक जितेका ४ सय ३५ खेलाडीलाई नगद पुरस्कार प्रदान गरिए पनि पेश्की फर्छ्यौट नभएको भन्दै प्रशिक्षकहरुलाई नगद पुरस्कार दिइएको थिएन ।

सागमा स्वर्ण जित्ने खेलको प्रशिक्षकले ५ लाख, रजत जित्नेले ३ लाख र कांस्य जित्नेले २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै स्वर्ण जित्ने खेलका सहायक प्रशिक्षकले ३ लाख, रजत जित्नेले २ लाख र कांस्य जित्नेले १ लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्