लोक–संस्कृतिको जगेर्ना गर्नु जरुरी



नेपाली समाजमा आधुनिकता भित्रिएसँगै लोक–संस्कृति बोकेका परम्पराहरु संकटमा पर्न थालेका छन् । उदाउँदो युवापुस्ता लोक–संस्कृतिप्रति गैरजिम्मेवार बन्दै जाँदा हाम्रा मौलिक गाथा बोकेका संस्कृति लोप हुने अवस्थामा पुगेका हुन् । यति मात्रै होइन, नेपाली समाजमा पाश्चात्य संगीतको प्रवेश भएसँगै स्थानीय स्रोत–साधनको प्रयोग गरेर निर्माण गरिएका बाजा पनि लोप हुने संघारमा पुगेका छन् ।

नेपाली लोक संगीत र संस्कृतिले हाम्रो पहिचान झल्काउने काम गरेका हुन्छन् । जसलाई हेर्नको लागि विदेशी पर्यटक हरेक वर्ष नेपाल भ्रमणमा आउने गरेका छन् । विश्वसामु नेपालीको पहिचान दिलाउने लोक–संस्कृति र संगीत लोप हुन थालेपछि हाम्रो पहिचान संकटमा पर्न थालेको छ । पर्यटकलाई मनोरञ्जनका साथै नेपाली पहिचानको बारेमा जानकारी दिनको लागि हाम्रो लोक–संस्कृतिले ठूलो भूमिका खेलेका हुन्छन् । हाम्रा लोक–संस्कृति, ऐतिहासिक परम्परा र लोक संगीत नै संकटमा पर्न थालेपछि सर्वत्र चासो र चिन्ता छाउन थालेको छ ।

नेपाल लोक–संस्कृतिको धनी मुलुक हो । नेपाली लोक–संस्कृतिको छुट्टै पहिचान र महत्व रहेको छ । त्यसैले लोक–संस्कृतिको दृष्टिले नेपाल संसारकै धनी हो । तर, पछिल्लो समय लोकगीतमा समेत छाडापन भित्रिएको छ । लोकगीतको आफ्नै मौलिकता रहेको छ । त्यसैले यसलाई कसैले भुल्न हुँदैन । लोक–संस्कृतिको जगेर्नाको लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्छ । युवापुस्ता पाश्चात्य गीत÷संगीतको प्रभावमा पर्नु र पुरानो पुस्ताले सीप हस्तान्तरण गर्न नसक्नुले हाम्रा लोक–संस्कृति र संगीत लोप हुँदै छन् ।

नेपाली मौलिक संस्कृतिलाई विदेशी संस्कृतिको प्रभावले बिस्तारै ओझेलमा पार्न थालेको छ । हाम्रो पहिचान बोकेका यानीमाया, ख्याली, सालैजोजस्ता गीत अहिले मेला महोत्सवमा सांस्कृतिक झाँकीका रुपमा मात्र देख्न सकिन्छ । उदाहरणको लागि बडिगाड गाउँपालिकाको पहिचानको रुपमा रहेको हम्फै नाच संकटमा परेको छ भने बागलुङ बजारमा नाचिने बास्सा नाच पनि अहिले किताबको पानामा इतिहास बनेको छ ।

बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक हाम्रो देशमा फरक–फरक धर्म अंँगाल्ने धर्मावलम्बीका फरक–फरक पर्व तथा परम्परा छन् । धर्म संस्कृतिमा विविधता एवं धार्मिक तथा सामाजिक सहिष्णुता नेपाल र नेपालीका विशेषता हुन् । संस्कृति समाजका ऐना हुन् । समाजको पहिचान संस्कृतिले बोकेको हुन्छ र त्यही संस्कृतिमै सभ्यता र पुर्खाको इतिहास मिसिएको हुन्छ । सभ्य र सचेत समाजमा संस्कृतिका नकारात्मक पक्षलाई परिमार्जन गर्दै लगेको पाइन्छ । तर पछिल्लो समय नेपालको मौलिक संस्कृति र पहिचानमा गम्भीर असर गरेको छ ।

अहिलेको पुस्ता रोजागारी र अध्ययनका लागि शहर तथा विदेशमा बस्छ । यसकारण अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई राम्रोसँंग संस्कृति हस्तान्तरण गर्न पाएन । पछिल्लो पुस्ताले विदेशी संस्कृतिको देखासिकी गर्ने गरेको छ । संस्कृतिको संरक्षण गर्नु सचेत नागरिकको कर्तव्य हो । देखासिकीको नाममा पश्चिमेली संस्कृतिको अनुसरण गर्दा हाम्रो पहिचान बोकेका संस्कृति इतिहासमा सीमित हुने अवस्थामा पुगेका छन् । अब पहिचान जोगाउन संस्कृतिको संरक्षणमा जुट्नुपर्छ ।

समीर देउवा, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्