खै समृद्धि ?



राज्य सञ्चालन गर्ने नेताहरूबाट मुलुकको समृद्धिको नारा लगाइन थालेको निकै लामो समय भइसकेको छ । संघीय सरकारमा रहेका वा नरहेका नेताहरूदेखि गाउँपालिकाको वडास्तरसम्मका नेता, कार्यकर्ता सबैको मुखबाट समृद्धिकै कुरा सुन्न पाइन्छ । समृद्धिको पदावली प्रयोग नगर्दासम्म भाषणको बान्की नै नमिल्ने भएको छ । तर, व्यवहारमा हेर्दा त्यो समृद्धि कुन चराको नाम हो, थाहा छैन । समृद्धिको परिभाषा निकै फराकिलो छ, निकै ओजिलो छ ।

जसलाई नेताहरूले अत्यन्तै हलुकारूपमा लिइरहेका छन् । राष्ट्रपतिलाई १८ करोडको गाडी किन्नुजस्ता कुरालाई समृद्धिसँग जोड्ने गरिएको छ । चुनावी बाटोबाट जनप्रतिनिधि बनेकाहरूले राज्यबाट पाउने तलब भत्तालाई समृद्धि ठानिएको छ । विगतमा छ महिना, एक वर्षमा फेरिने सरकारका प्रधानमन्त्री, मन्त्रीहरूले पाउने सुविधालाई समृद्धिको दर्जामा जोडिएको छ ।

यही कुरालाई समृद्धि ठान्ने हो भने कुरा बेग्लै हो । एउटा वर्गको लागि त्यो समृद्धि आइसकेको छ । सत्तामा बसेका र बाहिर रहेर पनि सत्ताबाट फाइदा उठाएकाहरूको जीवनस्तरलाई हेरियो भने यहाँ समृद्धि नै समृद्धि देखिन सक्छ । सडकमा उनीहरूका चिल्ला कारहरू गुडिरहेका छन् । पाँचतारे होटेलहरूमा मिटिङ बसिरहेको छ । छोराछोरीले विदेशका महँगा स्कुल, कलेजमा पढिरहेका छन् । उनीहरूको बिहेदान पाँचतारे होटेलमा हुने गर्छ । राज्यले कुस्त मात्रामा तलब भत्ता दिएको छ । विदेशमा सैर–सपाटा गर्ने भत्ता पाइन्छ । जति पनि ठूला शहरहरू छन् त्यहाँ आलिसान महलहरू खडा गरिएका छन् । यसलाई नै समृद्धिको नारा बनाइएको छ अहिले ।

समृद्धि भनेको मुलुकको चौतर्फी विकास हो । आमजनताको आयस्तर माथि उठेको अवस्था हो । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिकरूपमा जनताको पूर्णरूपमा पहुँच हुनु हो । स्वास्थ्य, रोजगारीमा पहुँच पुग्नु हो । मुलुकमा रोजगारी नपाएर अहिले दैनिक हजारौँको संख्यामा युवाहरू विदेश धपाइएका छन् । सकुशल जान्छन् तर कडा काममा लादिनुपर्दा मृत्युवरण गर्न पुग्छन् । मुलुकमा जो जति बाँकी छन्, उनीहरूको अवस्था पनि दयनीय छ ।

गाउँमा कृषि गर्नको लागि सिंचाइको व्यवस्था छैन । युवा स्वरोजगारको कुरा नारामा मात्र सीमित गरिएको छ । जमिन बाँझै रहनुको कारण विदेशबाट खाद्यान्न आयात गर्नुपर्छ । देशमा स्थापना भएका सयौँ नागरिकलाई रोजगारी दिन सकिने नाम चलेका कतिपय कारखानाहरू सरकारको निकम्मापनले गर्दा बन्द भई खिया लागेका छन् । दूरदराजका बालबालिकालाई पढ्नको लागि स्कुल छैन । नदीहरूमा पुल हुँदैन । ज्यान जोखिममा राखी पौडिएर नदी पार गर्नुपर्ने बाध्यता छ । महिलाहरूको अवस्था कस्तो छ, कस्तो सुरक्षाको प्रत्याभूति गर्न पाएका छन् भनेर हेर्न निर्मला पन्तलाई हेर्दा देखा पर्छ ।

देशलाई समृद्ध तुल्याउने नै हो भने सबैभन्दा पहिला नेताहरूमा राजनीतिक प्रतिबद्धता हुनुपर्छ । निष्ठाको राजनीति गर्नुपर्छ । जनतासँग सहकार्य गर्न सक्नुपर्छ । भ्रष्ट चरित्रले देशमा कसरी समृद्धि ल्याउन सक्ला ? जनताले दुई छाक पेटभर खान पाएका छैनन् । बालबालिका कुपोषणको सिकार भई अकालमा मरिरहेका छन् । शहरमा मात्र स्वास्थ्य सेवा खुम्च्याइएको छ । गाउँमा औषधिमुलो पाइँदैन । रामभरोसे बाँचेका जनताबाट अनावश्यक कर असुलिएको छ र मुठ्ठीभरका शक्तिशालीको आम्दानीमा परिणत गरिएको छ । सम्पन्नहरूका शहरमा गुडेका केही थान गाडी–घोडालाई मापदण्ड बनाएर समृद्धिको दिशामा जान सकिँदैन । सबैभन्दा पहिले आफूहरू रूपान्तरित हुनु जरुरी छ ।
– रुपा मगर, भक्तपुर ।

कोरोनासँगै गर्मीका रोगबाट पनि बचौं
कोरोना अर्थात् कोभिड १९ को संक्रमणको त्रासमा विश्व नै आलसतालसमा छ । विश्व अप्ठ्यारो अवस्थामा गुज्रिरहेको छ । नेपाल पनि विगत डेढ महिनादेखि लकडाउनमा छ । यतिखेर वैशाखको करिब अन्त्यतिरको समय छ । लकडाउन खोल्नुपर्ने आवाज उठिरहेको छ र सरकारले यो विषयमा गृहकार्य र छलफल जारी राखेको छ । कोरोनाको समस्यासँगै गर्मी बढ्दै छ ।
यसपालि गर्मी विगतका वर्षमा भन्दा धेरै बढी हुने सम्भावना छ । तराई क्षेत्रका बासिन्दा रातदिन छट्पटाइरहेका छन् । अझ दिउँसोको समयमा त घरबाहिर निस्कन नसक्ने भएका छन् । छिमेकी राष्ट्रतिर गर्मीले कैयौँको ज्यान लिइसकेको समाचार सुन्दा र आफैंले पनि गर्मीको महसुस गर्दा हामी आत्तिएको अवस्था हो । गर्मी हामी मानवजातिको गलत क्रियाकलापका कारण बिस्तारै प्रत्येक वर्ष बढ्दै गएको छ । गर्मी समयमा अपनाउनुपर्ने सामान्य सावधानी नअपनाउँदा धेरैभन्दा धेरै स्वास्थ्य समस्या आउने गरेका छन् । जसका कारण धेरै मानिसको मृत्युसमेत हुने गरेको छ ।
जताततै वृक्षरोपण भए हरियाली र वर्षा भई गर्मी स्वतः कम हुँदै जान्छ । धेरैजसो रोग वा स्वास्थ्य समस्या गर्मीकै सिजनमा अत्यधिक हुने गर्छन् । मानिसलाई रिंगटा लाग्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने, उच्च ज्वरो हुने, बान्ता हुने र बेहोस हुनेजस्ता समस्या देखिन्छन् । समयमै स्वास्थ्य संस्थामा गई उपचार नगराउने र खानपानमा ध्यान नदिने हो भने मृत्युसमेत हुन सक्छ । गर्मीका कारण छालाका विभिन्न समस्या, घमौराजस्ता विभिन्न किसिमका छालाका संक्रमण इत्यादि हुन सक्छन् । गर्मीका कारण जन्डिस, पेट दुख्ने, झाडापखाला, हैजा, रगतमासी, फुड पोइजन, टाइफाइडजस्ता रोगका साथसाथै पर्याप्त मात्रामा पेयपदार्थ पिउन नसक्दा डिहाइड्रेसन र मृगौलामा समेत समस्या देखिन्छ । गर्मीको समयमा सावधानी नअपनाउँदा सर्पले डसेर धेरैको ज्यानसमेत जाने गरेको छ ।
– सुमन खनाल, खोटाङ ।

 

प्रतिक्रिया दिनुहोस्