आगामी ६ महिनासम्म सबै होटल बन्द गर्ने व्यवसायीको निर्णय,कर्मचारीलाई १२.५ प्रतिशत मात्रै तलब दिइने



न्युज अफ नेपाल,काठमाडौं।

नेपाल होटल संघले देशभरका ठूला होटलहरु आगामी ६ महिनासम्म पूर्णरूपमा बन्द गर्ने निर्णय गरेका छ । संघको आज बसेको बैठकले तारे होटल आगामी ६ महीना बन्द गर्ने निर्णय गरेको हो।

सबै उद्योगी व्यवसायीले लकडाउनको अवधिमा पनि कर्मचारीलाई पूर्णरूपमा तलब दिनुपर्ने निर्णय सरकारले गरेपछि होटल व्यवसायीले असोज मसान्तसम्म सबै होटल बन्द गर्ने निर्णय गरेका हुन्।

होटल संघको अध्यक्ष सृजना राणाको अध्यक्षतामा बसेको बैठकले कर्मचारीलाई ६ महीनासमम्म तलबको रूपमा आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने र त्यस्तो तलब लिन नमान्ने कर्मचारीलाई रोजगारीबाट हटाउने निर्णय गरेको छ।

१२.५ प्रतिशत तलब लिन असहमत गरेको समयदेखि सबै सदस्य होटलले श्रम ऐन २०७४ को दफा १४५ बमोजिम कर्मचारी कटौतिको प्रक्रिया शुरू गरेको सूचना दिएर आंशिक वा पूर्ण रुपमा कर्मचारी कटौती गरिने निर्णय संघले गरेको छ।

सरकारले पूर्ण रूपमा बन्द भएका पर्यटन क्षेत्रका प्रतिष्ठानहरूले वैशाख महीनाको तलबको ५० प्रतिशत सम्बन्धित् उद्योगले उपलब्ध गराउने र बाँकी ५० प्रतिशत तलब ज्याला भुक्तानी गर्न रकम आवश्यक परेमा बैंक वित्तीय संस्थाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने निर्णय गरेको थियो।

कर्मचारीलाई तलब दिन निजी क्षेत्रका व्यवसायीलाई सरकारले दवाव दिएपछि होटल सञ्चालकहरूले व्यवसाय नै बन्द गर्ने निर्णय गरेका हुन्।

होटल संघको बैठक पछि सार्वजनिक गरिएको निर्णयमा भनिएको छ, “होटल उद्योगमा आश्रित कामदार कर्मचारीलाई पर्न जाने असुविधालाई मध्यनगर गरी उनीहरु तथा उनीहरु आश्रित परिवारको राहतको लागि असोज मसान्तसम्म आधारभूत तलबको १२.५ प्रतिशतको दरले हुन आउने रकम उपलब्ध गराउने।”

त्यसैगरी, सेवाशुल्क उपलब्ध गराउने होटलहरूले श्रमिकहरुले पाउने सेवा शुल्क मौज्दातबाट प्रत्येक महीना उपलब्ध गराउने निर्णय पनि गरेको छ।

होटलले दिने आधारभूत तलबको १२.५ प्रतिशत रकममा नेपाल सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्न होटल संघ नेपाल र ट्रेड युनियनले संयुक्त रुपमा पहल गर्ने निर्णय पनि होटल सञ्चालकले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्