सुदूरपश्चिमलाई नमुना स्वास्थ्य केन्द्र बनाएर अवकाश लिन्छु



डा. गुणराज अवस्थी
स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थी पब्लिक हेल्थ एड्मिनिस्ट्रेटरका रूपमा एघारौं तहमा कार्यरत हुनुहुन्छ । पद, शक्ति, योग्यताको सुरक्षाभन्दा नागरिकको स्वास्थ्य सुरक्षा पहिलो प्राथमिकता ठान्ने डा. अवस्थी सुगम होस् वा दुर्गम, सरकारले खटाएको ठाउँमा गएर सेवा गर्नु आफ्नो प्रमुख दायित्व सम्झनुहुन्छ । डा. अवस्थीले बंगलादेशबाट २०६१ सालमा एमपीएच (मास्टर अफ पब्लिक हेल्थ), प्रसूति गृहबाट डिप्लोमा तहको तालिम (डीजीओ) पनि गर्नुभएको छ । डा. अवस्थीसँग नेपाल समाचारपत्रका लागि भगवती तिमल्सिनाले कोरोना भाइरस नियन्त्रणका लागि भइरहेको गतिविधिका बारेमा केन्द्रित रहेर गरेको कुराकानी:

अहिलेसम्म कुन–कुन ठाउँमा स्वास्थ्य सेवा प्रदान गर्नुभयो ?
२०४७ सालमा अस्थायी मेडिकल अधिकृतकारूपमा पहिलोपटक भेरी अञ्चल अस्पतालमा पोस्टिङ भएँ, त्यसपछि दैलेख, जाजरकोट, रुकुम, बैतडी, हुम्ला, जुम्ला, टीकापुर, बाजुरा, जहाँ–जहाँ खटिएँ आफ्नो जिम्मेवारी पूर्णरूपमा निर्वाह गर्दै नागरिकको स्वास्थ्य सेवा सुनिश्चित गर्ने काममै लागेको छु । चिकित्सकका लागि सुगम र दुर्गम भन्ने नै हुँदैन आफूले सिकेका ज्ञान र सीपका माध्यमबाट बिरामीलाई सेवा दिनुपर्छ । मेरो उमेर हदका कारण अवकाश पाउने अवधि लगभग दुई वर्ष छ । यस अवधिमा सुदूरपश्चिमलाई नमुना स्वास्थ्यकेन्द्र विस्तार गर्ने योजनाका काम गर्दै छु ।

सुदूरपश्चिममा कोरोना भाइरस नियन्त्रणका विषयमा के–कस्ता काम भइरहेका छन् ?
हिले संसार नै त्यसकै लागि लागिरहेको छ । मानव जातिलाई त्रसित पार्ने कोरोना संक्रमण आँखाले नदेखिने भाइरस नियन्त्रणका लागि संसारै लड्दै छ । नेपालको पनि सुदूरपश्चिम एक विकासका हिसाबले पछि परेको क्षेत्र हो । यहाँका बासिन्दा त्रसित हुने त छँदै थियो । पहिलोपटक सुदूरपश्चिममा दुबईबाट आएका एक युवामा कोरोना संक्रमण भेटियो । त्यति बेला सुदूरपश्चिममा चेक जाँच गर्ने प्रविधि थिएन । संयोग त्यही बेला लकडाउन पनि शुरू भयो । सुदूरपश्चिमका नौवटै जिल्लामा विदेशबाट आएका कसैलाई पनि घरभित्र पस्न नदिएर क्वारेन्टाइनमा राख्ने अभियान नै चल्यो ।

कोरोना भाइरससँग लड्न केन्द्र सरकारले सुदूरपश्चिममा ३३ जना चिकित्सक पनि पठाएको थियो । यसबीचमा सुदूरपश्चिमकै प्रमुख संस्था सेती प्रादेशिक अस्पतालमा पाँच भेन्टिलेटर जडान भए । महाकाली अस्पतालमा पनि भेन्टिलेटर जडान भयो । प्रदेश सरकारले सबै जिल्लामा भेन्टिलेटर जडानका लागि रकम छुट्याएको छ ।

अभियानमा कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भेटिएका मात्र नभई क्वारेन्टाइनमा बसेका सबै व्यक्तिको नेपाली सेनाको सहयोगमा नमुना संकलन गरी जाँच गर्न पठाइयो । त्यसभित्र एकजना पोजेटिभ भेटियो । त्यसपछि कन्ट्याक ट्रेसिङ राम्रोसँग गरियो । पहिलो पोजेटिभ भेटिएका धनगढी बाराका युवा थिए । उनको घर–परिवारलगायत सम्पर्क भएका व्यक्तिको खोजी गरियो । अन्तमा उनको आफ्नै भाउजुमा पनि कोभिड–१९ को लक्षण देखियो । उनलाई पनि हामीले परीक्षण गरी अस्पताल ल्यायौं । अन्य तीन जनामा पनि पोजिटिभ भेटियो ।

संक्रमित सबैलाई एकैपटक अस्पताल ल्याइयो कि कसरी अस्पताल पु¥याइयो ?
होइन, हामीले तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि तपाईंको खकार परीक्षण गर्नुपर्ने भयो एकपटक अस्पताल आउनुस् भनेर एम्बुलेन्समार्फत छिटाभन्दा छिटो सेती प्रादेशिक अस्पताल धनगढी ल्याइपु¥यायौं । यससम्म पोजिटिभको संख्या पाँच पुगेको थियो ।

अहिले सुदूरपश्चिममा कति जना कोभिड–१९ प्रमाणित भएका बिरामी छन् ?
सुदूरपश्चिम प्रदेशमा वैशाख १ गतेदेखि नयाँ बिरामी एक जना पनि भेटिएको छैन । चार जना निको भएर घर फर्किसके भने एक जना संक्रमितको भाउजु दोस्रो चरणको संक्रमितलाई भने अझै राम्रो भइसकेको छैन । बिरामीको शारीरिक अवस्था राम्रै छ तर पाँचपटक परीक्षण गर्दा पनि पोजेटिभ नै देखिएको छ ।

अब उहाँलाई कहिलेसम्म राखेर उपचार गर्नुपर्छ होला ?
जबसम्म उहाँको रिपोर्ट नेगेटिभ आउँदैन तबसम्म उपचार जारी राख्छौं । सुदूरपश्चिमका धेरै मानिस भारतमा काम गर्ने छन् । लकडाउनको शुरूको अवस्थामा नेपाल आएकाहरू त्यति बेला कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा स्थानीय निकाय, स्वास्थ्यकर्मीलगायत राज्य नै चिन्तित थियो ।

अहिलेको स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको अवस्था कस्तो छ ?
अहिले हामीसँग पर्याप्त सामग्री छ । पीसीआर मेसिनबाट जाँच गर्न थालेको काठमाडौंपछि स्वास्थ्य मन्त्रालयले मेसिन पठाएको ठाउँ सुदूरपश्चिम दोस्रो स्थान हो । पीपीईलगायतका आवश्यक सामग्रीहरू स्वास्थ्य मन्त्रालयलगायत विभिन्न ठाउँबाट प्राप्त भए । स्वास्थ्य मन्त्रालय, प्रदेश सरकार, दातृ निकायले पहिलो प्राथमिकता दिएकै कारण सुदूरपश्चिमका नौवटै जिल्लामा हामीले सेवा पु¥याएका छौं । नौवटै जिल्लामा उपचार हुनुपर्छ भनेर उपचारका लागि आवश्यक पर्ने न्यूनतम सामग्री जडान गरिसकेका छौं ।

अहिले भारतबाट नेपाल आउनेको संख्या कस्तो छ ?
दुई/तीन दिनदेखि भारतबाट आउनेको संख्या ह्वात्तै बढेको छ । चैत्र महिनामा भारतको गाउँ–गाउँमा कोरोना भाइरसको प्रभाव बढेको थिएन । हिजो धेरै भारत र महाकाली नदीको किनारतिर क्वारेन्टाइनमा बसेका मानिस आए । उनीहरू क्वारेन्टाइनमा कति दिन बसे भन्ने छुट्याउन गाह्रो छ । कोही भन्छन्– २५ दिन बस्यौं, ३० दिन बस्यौं । यसमा सत्यता पाउन गाह्रो छ । पछि ल्याइएको समूहमा प्रभावित क्षेत्रबाट आएको व्यक्ति प्रवेश गरेको छ भने सुदूरपश्चिम जुन शान्त भएको थियो फेरि बल्झिएर अरू प्रदेशभन्दा पनि संक्रमितको संख्या बढ्न सक्ने सम्भावना छ । हिजोअस्ति जो–जति आए भारतमा जति दिन बसेको भए तापनि सत्य बताएर आफैं सुरक्षा अपनाइदिए राम्रो हुन्थ्यो ।

क्वारेन्टाइनमा राख्ने कुनै आधार छ कि विदेशबाट आएको भन्ने बित्तिकै बस्ने हो ?
क्वारेन्टाइनमा राख्ने पनि छुट्टै खालको सिद्धान्त छ । स्थानीय तहमा उहाँहरूलाई घरमा हैन क्वारेन्टाइनमा राखिएको छ । सास फेर्न गाह्रो भयो भने तुरुन्त स्वास्थ्य संस्थामा जानकारी गराउन हामीले भनेका छांै । जति आएका छन् वडाध्यक्ष, स्वास्थ्यकर्मी, स्वयंसेवीको निगरानीमा राखिएको छ । यी कसैलाई पनि समस्या देखिएमा सम्पर्कमा आउने कुरामा नौवटै जिल्लाका ८७ वटा स्थानीय तह, गाउँ, टोल, विद्यालयमा पु¥याएका छौं । केही भयो भने स्वास्थ्यकर्मीको सम्पर्कमा आउन सक्छन् । सबैले नियमको पालना गरेमा संक्रमण फैलने डर हुँदैन ।

सुदूरपश्चिममा पाँच जनामा कोरोना संक्रमण देखिएको थियो, वैशाख १ गतेदेखि शून्य नै छ भन्नुभयो, यसको मूल कारण के हो ?
यसको मुख्य कारण भनेको लकडाउन नै हो । तत्काल लकडाउन खुल्यो भने नियन्त्रण गर्न कठिन हुन्छ । सुदूरपश्चिमलाई भारतका दुईवटा प्रदेशले घेरेको छ । उत्तराखण्ड र उत्तर प्रदेश, त्यसमा पनि उत्तर प्रदेश भारतको ६ नम्बर राज्यभित्र पर्छ । उत्तर प्रदेशचाहिँ भारतको सक्रमित १९औं नम्बरमा पर्छ । सुदूरपश्चिम र भारतको यति नजिक सम्बन्ध छ ।

त्यसैले अझै त्यहाँबाट मान्छेहरू आइरहँदा हामीलाई रोग नियन्त्रण गर्न निकै गाह्रो हुन्छ । अहिलेको अवस्थामा सुदूरपश्चिममा कोरोना संक्रमित धेरै भयो भन्ने थियो । हिजोसम्म ५ नम्बर प्रदेशमा एउटै देखिएको थिएन, शनिबार दुई जना देखिए । अहिलेसम्म सातवटै प्रदेशमा देखिएको छ । पहिला सुदूरपश्चिमले जितेको थियो, त्यसलाई हामी सम्पूर्ण टिमको प्रयासले नियन्त्रण गर्न सक्यौं । यो प्रदेश, स्थानीय सरकार सचेत नागरिकले नियन्त्रण गर्नुपर्छ भनेर थालेको अभियानको परिणाम हो । चार जनालाई उपचार गरेर घर फर्काउन सफल भयौं र एक जना उपचाररत छन् ।

एक महिना बढी क्वारेन्टाइनमा बसेकालाई घर पठाएर नयाँ आउनेलाई क्यारेन्टाइनमा राख्दै लकडाउनलाई खुकुलो गर्न स्वास्थ्यका दृष्टिकोणले मिल्छ कि मिल्दैन ?
स्वास्थ्यका दृष्टिकोणले त मिल्छ । लक्षण भएको हट स्पटबाट आएको सम्पर्कमा भएका व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने हो । संक्रमित स्थानबाट आएको पुष्टि भएको, जहाँ संक्रमित बढी भएको (हट स्पट) भनिन्छ त्यस्ता ठाउँबाट आएकालाई १४ दिन राख्ने हो । कसैकसैलाई २१ दिन पनि राखिएको छ । स्थानीय बासिन्दामा डर–त्रास बढेकाले जति पनि बाहिरबाट आए ती सबैलाई क्वारेन्टाइनमा राख्नुपर्छ भन्ने अभियान नै चलेको छ ।

सबै ठाउँमा तयार गरिएका क्वारेन्टाइन स्वास्थ्यका दृष्टिकोणले उपयुक्त छन् भन्न सक्ने अवस्था छैन । केही राम्रा पनि छन् तर त्यही बीचमा कोही संक्रमित छ या भइदियो भने झन् अरूलाई पनि सार्ने हो कि भन्ने अर्को चिन्ताको विषय थपिएको छ । यो विषयमा स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयका बीच समन्वय हुनु अत्यन्तै जरुरी छ ।

अहिले स्वास्थ्य र गृह मन्त्रालयका बीचमा समन्वय भएको छैन र ?
स्वास्थ्यको निर्देशिका एउटा आउँछ, गृहको परिपत्र अर्को आउँछ । यसो हुँदा बाझिएको जस्तो लाग्छ । दुबै मन्त्रालयको धारणा एउटै भएमा कसलाई राख्ने–नराख्ने निश्चित गरेमा लोड पनि कम हुन्छ । विदेशमा त कति हजार छन् कति हजार आउँदै ग¥यो सबैलाई क्वारेन्टाइनमा राख्न सबैलाई धान्न सक्ने अवस्था नै छैन । अहिले सुदूरपश्चिममा ७ हजार ९ सय ७ वटा बेड छन् । यो ९ वटा जिल्लाको क्षमता अनुसारको बेड हो । एकैपटक योभन्दा बढी मान्छे आए भने कहाँ राख्ने ? यस्तो अवस्थामा राम्ररी जाँच गरेर विस्तृत बुझेर मात्र व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

संक्रमितलाई निगरानीमा राखेर लकडाउन खोल्ने विषयमा स्वास्थ्य मन्त्रालयले के गर्दै छ ?
लकडाउन खोल्ने विषयमा स्वास्थ्य मन्त्रालयमा विज्ञहरूका बीच छलफल भइरहेको छ । नेपालजस्तो मुलुकमा संक्रमण फैलन नदिनका लागि लकडाउनले नै काम गरेको हो । भारतले लकडाउन कायमै राखेको खण्डमा नेपालमा त्यति धेरै केस नहोलान् । नेपालको लकडाउन खोलेरभन्दा पनि भारतमा लकडाउन खुल्यो भने नेपालमा निकै नै गाह्रो हुन्छ । भारतका सबै ठाउँमा कोरोना संक्रमण फैलिसकेको छ ।

काठमाडौंमा यतिका दिनको लकडाउनमा ठूलो संख्यामा संक्रमण नभएको र लकडाउन गरेको पनि ४० दिन भइसकेकाले स्वास्थ्यका दृष्टिकोणले व्यवस्थित गरेर बाहिरबाट आउनेमा कडाइ गरी खोल्न सकिन्छ कि ?
यस विषयमा स्वास्थ्य मन्त्रालयलगायत सरकारका प्रमुखहरूले स्वास्थ्य विज्ञसँग बसेर छलफल चलाइरहेका छन् । सिंगै सरकारको ध्यान यसैमा केन्द्रित छ । कुनै गाउँमा कतैबाट मान्छे आएको पनि छैन र संक्रमित पनि छैन भने त्यो गाउँको विकास निर्माणलगायत अन्य कामहरू नियमित सञ्चालन गरिराख्नु राम्रो हो । कुनै पालिकाभित्र कोही तत्काल विदेशबाट आएको छैन र संक्रमित पनि छैन भने त्यस्तो ठाउँमा लकडाउन गरिराख्नु त्यति आवश्यक छैन ।

अन्तर्राष्ट्रिय बिमानस्थलहरू जहाँ थुप्रै मान्छे आउन सक्छन् त्यस्तो ठाउँ भने लकडाउन गरिराख्नुपर्छ । भारतमा क्वारेन्टाइनमा बसेको व्यक्तिमा संक्रमण छैन भन्ने अवस्था छैन । यसका लागि नेपाल र भारत सरकारले क्वारेन्टाइनमा बसेका व्यक्तिको स्वास्थ्य अवस्थाका बारेमा यकिन हुने आधार तय गर्नुपर्छ । त्यसो नगरी नाका खोल्यो र फटाफट मान्छे आउ–जाउ भयो भने नेपालमा भूकम्पले ल्याएको उथलपुथल जस्तै गरी प्रकोप बढ्न पनि सक्छ ।

शंकास्पद व्यक्तिको प्रवेश नभएको ठाउँलाई खोल्न मिल्छ ?
त्यस्ता ठाउँमा स्थानीय निकायलाई सक्रिय बनाएर आफ्नो ठाउँमा हुने गतिविधिको निगरानी राख्ने, बच्चाहरूलाई खोप लगाउने, गर्भवती जाँचहरू गराउने, संस्थामा गएर सुत्केरी हुने अनिवार्य सेवाहरू नियमितरूपमै सञ्चालन गरिराख्नुपर्छ । म एउटा स्वास्थ्यकर्मीको नाताले मेरो विचार पनि त्यही नै छ ।

कोरोनाको त्रासले तीन दिनअघि अप्रेसन गर्नुपर्ने बच्चाको इकोकार्डियो काठमाडौंका सरकारीदेखि निजी नाम चलेका कुनै अस्पतालमा भएन, लकडाउनको अर्थ यही हो ?
यति बेला सरकारले स्वास्थ्य संस्था बन्द गर भनेकै छैन, अति आवश्यकीय सेवासमेत बन्द गरेर बिरामीलाई सास्ती दिने जस्ता गलत काम स्वास्थ्य संस्थाहरूले गरिरहेका छन् भने यो मेडिकल इथिक्सभन्दा बाहिरको कुरा हो । काठमाडौंजस्तो ठाउँमा बस्ने विद्वान् डाक्टरहरूले सेवा नदिएकोमा मेरो सहमति छैन । लडाइँ लड्नुपर्ने सुरक्षा निकायले ब्यारेक बन्द गरेर हिँड्ने, रोग लाग्न थाल्यो भने अस्पताल नै बन्द गर्ने, सेवा नदिने काम भनेको गैरजिम्मेवारी हो ।

 

प्रतिक्रिया दिनुहोस्