‘डी-डेमा’ एकसाथ देखिएका नायकद्वय सँगै अस्ताए



न्युज अफ नेपाल, काठमाडौँ ।

विश्वभर कोरोना महामारी फैलिएको बेला बलिउडका दुई हस्ती अभिनेताको निधन भएको छ । अभिनेता इरफान खानको बैशाख १७ गते निधन भएको थियो भने अर्का अभिनेता ऋषि कपुरको बैसाख १८ गते । लामो समयदेखि क्यान्सरविरुद्ध लडिरहेका यी दुई कलाकारको दुखद निधनकोे खबर विश्वभर छाएको छ । कर्मक्षेत्रका हिसाबले बलिउडका सिने कलाकार भएपनि उनीहरुको कलाअभिनयले विश्वभरका दर्शक तथा कलाप्रेमीलाई उनीहरुको योगदान गहिरो गरी स्मरण गर्ने बनाएको छ ।

कलाकार केवल मनोरन्जनका पात्रमात्र नभएर सारा विश्वमा चेतना फैलाउने सचेतनाका सम्बाहक पनि हुन् । समाज, देश र विश्वमा फैलिरहेका नकारात्मक पक्षलाई हटाउन र सकारात्मक पक्षलाई फैलाउने यस अभियानमा यी दुबैको अग्रणी भूमिका रहेको कुरामा कुनै आशंका छैन । केवल चौबीस घण्टाको फरकमा यी दुई हस्ती गुमाउनु भनेको हामी सबैका लागि निकै पीडाको घडी पनि हो । हरेक मानिसको यथार्थता प्रतिबिम्बित गर्ने रंगिन दुनियाँका आज सबैको साझा र उत्तिकै प्रिय रहिआएको छ । कोरोना महामारीले विशव मानव जगतमा ल्याएको अथाह पीडामाथि यी दुई लोकप्रिय कलाकार गुमाउनु पर्दाको क्षणले थप भारी बनाएको छ ।

फिल्मी करियर नै पारिवारिक पृष्ठभूमि रहेको कपुर परिवारमा ऋषि कपुर ४ सेप्टेम्बर १९५२ मा भारतको सिनेनगरी मुम्बइमै जन्मिएका थिए । अभिनेता ऋषि कपुर फिल्म डाइरेक्टर राज कपूर र उनकी पत्नी कृष्णाराज कपुरका दोस्रो सन्तान थिए । उनका हजुरबुबा पृथ्वीराज कपुरसमेत अभिनेता थिए । ऋषिको जीवन संगिनी नितु कपुर पनि अभिनेत्री नै हुन् । उनीहरुका दुई सन्तान छन् । छोरा रणवीर कपुर जो अहिलेको सिने जगत्का एक स्थापित अभिनेताको रुपमा चिनिन्छन् भने छोरी ऋदिमा कपुर सहानी एक नामी फेसन डिजाइनर हुन् ।

अभिनेता कपुरले काम गरेको पहिलो चलचित्र ‘मेरा नाम जोकर’ हो । यस चलचित्रसँगै कपुरले सिनेमा क्षेत्रमा प्रवेश गरेका हुन् । लैला मज्नु, राफू चक्कर, सरगम, कर्ज, प्रेम रोग, नागिन, हनिमुन, चाँदनी, हिना, बोल राधे बोल र ए वादा रहा, डी-डे उनी अभिनित हिट चलचित्रमा पर्दछन् । कपुरलाई सन् २०१८ मा बोन म्यारो क्यान्सर भएको पत्ता लागेको थियो । नियमित उपताररत कपुरले बैशाख १८ गते यस संसारबाट सदाका लागि बिदा भए ।

त्यसै गरी चलचित्र जगत्मा आफ्नै लगन र परिश्रमले सफल भएका बहुप्रतिभाशाली अभिनेता इरफान खानको जन्म ७ जनवरी १९६७ मा राजस्थानको जयपुरमा भएको थियो । पिता यशिन अलि खान र माता सइदा बेगम खानको कोखमा जन्मिएका उनी गरीब पारिवारिक पृष्ठभूमिबाट आएका थिए । उनका बुबा टायरको व्यापारी थिए । पहिलोपटक सलाम बम्बे नामक चलचित्रमा सानो रोल पाएका खानले निकै लगन र परिश्रमपछि आफूलाई बलिउडमा स्थापित गराउन सफल भएका थिए । डी-डे, लन्च बक्स, मदारी, पिकु आदि अभिनेता खानका उत्कृष्ट चलचित्र हुन् । उनी विभिन्न इन्टरनेसनल अवार्डबाट विभूषित कलाकार पनि हुन् ।

बलिउडका साथै उनले लाइफ अफ् पाई, द नेमसेक, द स्लमडग मिलिनियर, द माइटी हार्ट, द अमेजिङ स्पाइडरम्यान जस्ता हलिवुड फिल्ममा काम गरेर अन्तर्राष्टिय सिने जगत्मा समेत आफ्नो छुट्टै पहिचान बनाएका छन् । चलचित्रको हरेक भूमिकालाई जीवन्त रुप दिने उनीजस्ता बहुप्रतिभाशाली कलाकार गुमाउन् पर्दा सारा विश्व स्तब्ध भएको छ । बैशाख १७ गते न्युरोइन्डोक्राइन क्यान्सरबाट निधन भएका खानको जीवन संगिनी सुतपा सिग्दर र दुई छोरा छन् ।

आफ्नो वास्तविक जीवन जीउदै गर्दा सामाजाजिक जीवनका चरित्रहरु पर्दामा उतार्न आफ्नो कलाअभिनयमा सजीवता प्रदान गर्ने प्रतिभा युगौंयुगसम्म सबैको स्मरणमा आइरहने छन् ।

प्रतिक्रिया दिनुहोस्