हे सती दया गर !



कस्तो व्यथा सहनु पर्‍यो तिमीले, हामी कसरी बुझौंला
कुन पीडाले श्राप दियौ, अनुमान गर्न पनि के सकौंला

तिमी माथि भएको अत्याचारले पक्कै सीमा नाघेको थियो
श्राप दियौ, मन हलुङ्गो बनायौ, ठीकै गर्यौ भन्ने लागेको थियो

थाहा छैन कति सन्तुष्ट छ्यौ, देखेर आफ्नो श्रापको असर
तिम्रो श्राप कसैलाई बहाना बनेको छ भने कसैलाई अवसर

भ्रष्टाचार, व्यभिचार, कालाबजारी गर्नेलाई अवसर भएको छ
राजनीतिको गङ्गा धमिल्याउनेहरुलाई पनि निहुँ मिलेको छ

आमाको ढुकुटी रित्याइसके, देशको सम्पदा पनि बेचिसके
छिनाझपटी गर्दैछन् देश लुट्न, आ(आफ्नो पालो पुर्याइसके

बेथितिमा रमाउनेहरु भन्छन् सबै, यो त सतीले सरापेको देश
देशको भलो गर्न कसले सक्यो, आफ्नै दुनो सोझ्याउनु बेस

अत्याचारमा परेका निमुखाहरुलाई त यो नियति बनेको छ
बिरोध गर्ने कसले, सहेरै बस्न तिम्रो श्राप बहाना भएको छ

कसलाई गुहार्नु, आफ्नो होस् या देशको, धन लुट्दा सहन्छन्
सतीको श्राप भन्दै तन लुट्दा, अनि मन लुट्दा पनि सहन्छन्

देशका लागि काम गर्ने शिक्षक, प्रहरी, डाक्टर या कर्मचारी
राष्ट्रसेवकहरुमा छैन कमी देशभक्ति, बफादारी र इमानदारी

आफूले सहे पनि लुटिँदा देशका सपूत तिम्रै श्राप याद आउँछ
जितेका त हैनन् द्रब्यपिशाचहरुले, तर यो देश भने हारेको छ

त्यसैले दया गर हे सती, यो देशलाई दुराचारीहरुबाट बचाउ
बिन्ती छ तिमीलाई, तिम्रो श्राप मोक्ष गर्ने उपाय कुनै बताउ

-प्रमोद शर्मा

प्रतिक्रिया दिनुहोस्