पवनकली सो अब कोरोनामा केन्द्रित



कोरोना भाइरस (कोभिड–१९) र यसको जोखिम न्यूनीकरणका लागि लागू गरिएको लकडाउनलाई ध्यानमा राखेर विद्युतीय सञ्चारमाध्यमहरुले आप्mना कार्यक्रमलाई यसैमा केन्द्रित गर्न थालेका छन्।

यसै क्रममा कोभिड–१९ सँग सम्बन्धित विषयवस्तुमा बालबालिकालाई लक्षित गरी लोकप्रिय हास्यप्रधान कार्यक्रम पवनकली सो फेरि शुरू हुने भएको छ। सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा पवनकली सो कार्यक्रम प्रशारणमा आउन लागेको हो।

कार्यक्रम मूलतः बालबालिका लक्षित हुने भए पनि समग्र स्रोता दर्शकले पनि मनोरञ्जन र सूचना प्राप्त गरी लाभ लिन सक्नेछन्। कार्यक्रम युट्युब र रेडियो माध्यममा आधारित रही उत्पादन र प्रसारण गरिने जनाइएको छ।

पवनकली सो कार्यक्रम यसपटक आज आइतबारदेखि हरेक साता बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सीआईएन) मार्फत देशैभरिका सामुदायिक रेडियो, युट्युब र सामाजिक सञ्जालबाट प्रसारण हुने सेभ द चिल्ड्रेनका कम्युनिकेसन म्यानेजर आयुष श्रेष्ठ जोशीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

हास्यप्रधान ढाँचाको कार्यक्रम बालबालिका र समग्र स्रोता दर्शकलाई जानकार, सुसूचित र सचेत बनाउन प्रभावकारी हुने दाबी गरिएको छ। कार्यक्रम लुनिभा तुलाधरले सञ्चालन गर्नेछिन्। कार्यक्रम उत्पादन समूहका सदस्यहरू र सहभागी सुरक्षित रहुन् भनेर सामाजिक दूरीका निर्देशिकाहरू पालना गर्दै कार्यक्रमको छायांकन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्