अलमलिएको सरकार



कोरोना संक्रमणको सन्त्रासले हरेक व्यक्तिको अन्तर मनभित्र अड्डा जमाइसकेको छ । यस्तो अवस्थामा नेपाल सरकारले दु्रत परीक्षणलाई विश्वसनीय बनाई आम नागरिकलाई आन्तरिकरूपमै नै स्वस्थताको अनुभूति दिलाउनुपर्छ ।

नेपाल सरकारले हालै खरिद गरेका द्रुत परीक्षण उपकरण प्रतिको गुणस्तरीयतामा नै प्रश्न उठिरहेको अवस्था छ । यसलाई विश्वसनीय र भरपर्दो माध्यमका रूपमा अपनाउन र प्रयोग गर्नका लागि दक्ष जनशक्ति र गुणस्तरीय सामान हुनुपर्ने निश्चित छ । तर, एउटै व्यक्तिको रिपोर्ट एकछिनअघि पोजिजिभ र एकछिनपछि नेगेटिभ देखिनाले थप शंका र त्रासको स्थिति सिर्जना भएको छ ।

पछिल्लो समय काठमाडौंस्थित केन्द्रीय कारागारमा कार्यरत दुई नर्समा समेत कोरोना भाइरस पोजिटिभ देखियो भन्ने सूचना बाहिरिएको थियो, तर १२ घन्टा नबित्दै नेगेटिभ रिपोर्ट आयो । सरकारले जनस्वास्थ्यमाथि गरेको प्रयास सराहनीय हुँदाहुँदै विश्वसनीय पनि होस् र नेपाल कोरोना पहिचान र नियन्त्रणका लागि एउटा नमुुना मुलुक बन्न सकोस् भन्ने चाहनालाई भने यस प्रकारको अवस्थाले साथ दिन सकिरहेको छैन । राष्ट्र बैंकले ठूला ऋणीको सूची मागेजस्तै सरकारले स्थानीय निकायबाट साना किसान र न्यून आय भएका व्यक्तिलाई आयमूलक खेती, किसानी, जीविकोपार्जनका साथै साना उद्योगमा समेत प्रोत्साहन गर्नुपर्छ ।

सानाकिसानले गाई, भैंसी, बाख्रा, सुँगुर, बुंगुर पालनका लागि लिएको ऋण, साना व्यवसायीले यातायातका साधन, कलकारखाना, कच्चा पदार्थका लागि लिएको ऋणमा समेत सहुलियतको व्यवस्था मिलाउनु आवश्यक छ । कोरोना संक्रमणका कारण शारीरिक, मानसिक र सामाजिकरूपमै रोगी बनेको छ, उनीहरूका लागि समेत उचित व्यवस्थापन गरी समाजमा स्थापित भएर बाँच्ने आधार तय गर्नुपर्छ । डा. गोविन्द केसीले भनेजस्तै सरकारले गाउँमा कोरोना भाइरसका बारेमा ध्यान दिएकै छैन । यति बेला हरेक दिन, रात नभनी कष्टकर यात्रा गरेर शहरबाट गाउँ पुगेका नेपालीको स्वास्थ्य अवस्थाका साथै खाद्यान्नको समेत अभाव हुने सुनिश्चित छ ।

यस अवस्थामा गाउँघरमा यति बेला उत्पादन भएका गहँु, आलु जस्ता खाद्यान्न असिना–पानीले नष्ट गरेका कारण अब केही दिनमा गाउँ पुगेका धेरै नागरिकको चुल्हो बल्ने अवस्था नहुन सक्छ । यति बेला नेपाल सरकारले गरेको लकडाउन शहरमा मात्र सीमित छ । सडक र गाउँ–गाउँमा देश–विदेशबाट आउने नागरिकको मेला जत्तिकै घुइँचो लागेको छ । यी नागरिकलाई के कोराना संक्रमण हुँदैन ? उनीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्दैन क?

देशमा संकटको अवस्था सिर्जना हुँदा आम नागरिको सहयोग, सद्भाव र विश्वास जित्न सक्नु नै सरकारको सफलताको प्रतीक हो । जसरी चीन, कोरिया, जापान, जर्मन सरकारले विश्वसामु आफ्ना नागरिकको सुरक्षा अपनाएका छन् नेपालले पनि जनताको मन जितेर आ–आफ्नो ठाउँबाट सहयोग लिन र दिन सक्ने हृदयको विकास गर्नु जरुरी छ । यति बेला सरकारको कुर्सीमा बसेका राजनीतिक दलका नेताहरूले अग्रपंक्तिमा रहेर बिरामीको सेवा गर्ने चिकित्सक स्वास्थ्यकर्मी, बटुवा, आम नागरिक र ग्रामीण भेगका जनताको गन्तव्य पुग्ने दृढ चाहनालाई सकेसम्म सहजीकरण गर्नुपर्छ ।

राजधानीबाट जिल्ला फर्किन चाहने नागरिकले आफैं व्यवस्था गर्नुपर्ने बाध्यता सरकारले सिर्जना गरेको हो, उसले त व्यवस्थित ढंगले घर जाने व्यवस्था मिलाउनुपर्ने होइन र ?

प्रतिक्रिया दिनुहोस्