कोरोना महामारीविरुद्ध लड्न भारतद्वारा नेपाललाई २३ टन औषधी सहयोग



न्युज अफ नेपाल, काठमाडौँ ।

महामारीको रुपमा फैलिएको कोभिड–१९ विरुद्ध एकजुट भएर लड्न भारत सरकारले नेपालका लागि २३ टन औषधी हस्तान्तरण गरेको छ ।

भारतीय राजदूत विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई उक्त औषधी हस्तान्तरण गरेका हुन् । प्राप्त औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज रहेको छ ।

औषधी हस्तान्तरण गरिए लगत्तै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिँदै नेपाल भारत सम्बन्ध प्रगाढ रहेको बताएका छन् ।

प्रति उत्तरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्ध गहिरो र सुमधुर रहेको बताउदै कोरोना महामारीविरुद्ध लड्न भारतको सधै साथ रहेको कुरामा जोड दिएका छन् ।

विज्ञप्ति :

कोभिड–१९ विरुद्ध लड्न भारत र नेपाल बीच जारी सहकार्यको क्रममा भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत श्री विनय मोहन क्वात्राले नेपालका स्वास्थ्य तथा जनसंख्यामन्त्री श्री भानुभक्त ढकाललाई २३ टन औषधी हस्तान्तरण गर्नुभयो । भारतका जनताका तर्फबाट नेपालका जनताका लागि उपहार स्वरुप हस्तान्तरण गरिएको सो औषधीहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोेज गरीे कुल ८.२५ लाख डोज अत्यावश्यक औषधिहरु छन् । यस पहलले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउँछ ।

कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध लड्न र जनतालाई सुरक्षित राख्न हाम्रा नेताहरुले प्रतिबद्धता जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यूले २०७६ चैत्र २ गते सार्क राष्ट्रका नेताहरुसँग भिडियो कन्फरेन्स गर्नुभयो र सार्क कोभिड–१९ आपतकालीन कोषमा १० मिलियन अमेरिकी डलर प्रदान गर्ने वाचा गर्दै सबै छिमेकी मित्र राष्ट्रहरुलाई हरसम्भव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भारतीय तथा नेपाली स्वास्थ्यकर्मीहरु यस महामारीको रोकथाम तथा नियन्त्रणका लागि आपसी सहकार्यमा प्रयत्न गरिरहेका छन् । सङ्कटको यस घडीमा नेपाल तथा अन्य दक्षिण एसियाली साझेदार मुलुकहरुसँग एकसाथ तयारी गर्न, कदम चाल्न र सफलता प्राप्त गर्न भारत प्रतिबद्घ रहेको छ ।

काठमाडौं, नेपाल
२०७७, वैशाख १०

प्रतिक्रिया दिनुहोस्