बैतडीमा एक करोडको राहत कोष स्थापना



बैतडी (नेस) ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्न बैतडीमा १ करोडको राहत कोष स्थापना गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका स्थानीय तहले धमाधम राहत कोष स्थापना गर्न थालेका हुन् । बैतडीमा ४ नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् ।

सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापन कोषअन्तर्गत नै रहने गरेर राहत कोष खडा गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । सो कोषमा नगरपालिकाले विभिन्न शीर्षकबाट बजेट रकमान्तर गरेर १३ लाख जमा गरेको छ भने कञ्चन डेभलपमेन्ट बैंकले प्रदान गरेको ३५ हजार पनि त्यसै कोषमा जम्मा गरेको छ ।

सुर्नया गाउँपालिकाले २० लाखको राहत कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर विष्टले जानकारी दिनुभयो । पाटन नगरपालिकाले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि २० लाख रकम विनियोजन गरेको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाले २९ लाखको राहत कोष स्थापना गरेको जनाएको छ भने शिवनाथ गाउँपालिकाले १० लाख विनियोजन गरेर राहत कोष स्थापना गरेको र यसमा अरुले पनि रकम जम्मा गर्न पाउने गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिनुभयो ।

मेलौली नगरपालिकाले विपद् व्यवस्थापन कोषमा १० लाख रकम अघि नै छुट्याएको र कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सोही शीर्षकबाट खर्च गर्न सकिने प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताउनुभयो ।

यस्तै सिगास गाउँपालिकाले कोरोना भाइरस रोकथाम १२ लाखको राहत कोष स्थापना गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो । जिल्लाको डिलाशैनी गाउँपालिकाले पनि राहत कोष स्थापना गर्ने कुरा कार्यपालिकाबाट बैठकबाट पारित गर्ने तयारी गरेको गाउँपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति पुरुषोत्तम नाथ योगीले बताउनुभयो ।

पञ्चेश्वर गाउँपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि १० लाख रुपियाँको राहत कोष स्थापना गरेको वडा नं ३ का वडा अध्यक्ष मीनबहादुर चन्दले जानकारी दिनुभयो ।

पुर्चौंडी नगरपालिकाले पनि कोरोना नियन्त्रण तथा रोकथामका लागि विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने र थप आवश्यक परेमा अन्य शीर्षकबाट त्यसै कोषमा रकम जमा गर्ने तयारी गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरको भनाइ छ । कोरोना भाइरसको महामारी रोक्नका लागि राहत कोष स्थापना गरिएको यहाँका स्थानीय तहहरुले जनाएका छन् ।

देशभरि फेला परेका ९ जना कोरोना संक्रमितमध्ये ४ जना सुदूरपश्चिममा रहेकाले यहाँ उच्च सतर्कता अपनाइएको छ । भारतसंग सीमा जोडिएको प्रदेश रहेकाले यहाँ संक्रमणको जोखिम बढ्दै गएको छ । लकडाउनले सीमानाका बन्द रहेको भए पनि अवैध रुपमा महाकाली तरेर तथा चोरबाटोबाट नेपाल भित्रिने क्रम नरोकिएकाले यहाँ जोखिम बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्