डोटीमा तीन सय ३० को स्वाब संकलन



नेपाल समाचारपत्र, डोटी

डोटीका नौवटा स्थानीयतहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३ सय ३० जनाको कोरोना परीक्षणका लागि नमूना संकलन गरिएकोे छ ।

क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब संकलन गरी टोली कैलाली जिल्लामा स्वाब संकलनका लागि प्रस्थान गरेको छ । भारतका विभिन्न शहरबाट काम गरी घर फर्किएकाहरुलाई क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब संकलन गरिएको कोभिड–१९ डोटीका सम्र्पक व्यक्ति सूर्यबहादुर विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, ‘क्वारेन्टाइनमा भएका नागरिकको हामीले स्वाब संकलन गरेका छौं, अब परीक्षण हुने छ ।’

क्वारेन्टाइनमा राखिएकाहरुको नमूना अर्थात् स्वाब संकलन गर्न प्राविधिकहरुको टोली बुधबार बिहान डोटी पुगेको थियो । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमणका बिरामीको संङ्ख्या बढेपछि तथा भारतबाट आएका नागरिक पनि बढी भएकाले उनीहरुको स्वाब संकलनका लागि विशेषज्ञ डाक्टरसहितको टोली मंगलबार अछाम र बुधबार डोटी आइपुगेको हो ।

टोलीले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकाको खत्याडीबाट सबैभन्दा बढी नागरिकको स्वाब संकलन गरेको छ । उक्त गाउँपालिकामा सबैभन्दा बढी भारतबाट काम गरी आएका नागरिक क्वारेन्टाइनमा भएका कारण बढी मात्रामा स्वाब संकलन भएको कोभिड–१९ डोटीका सम्र्पक व्यक्ति विष्टले जानकारी दिनुभयो ।

उक्त गाउँपालिकामा दुई जना सुरक्षाकर्मीसहित ७६ जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलनमा नेपाली सेना, सशस्त्र प्रहरी र निजामती चिकित्सकका टोली रहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिनुभयो ।

टोलीले संकलन गरेको स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको प्रजिअ पौडेलले बताउनुभयो । जिल्लाका ६ ठाउँमा स्वाब संकलन गरिएको थियो ।

जिल्लाका नौ स्थानीय तहमध्ये केआइसिंह गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका लागि राजपुर, बोगटान फुडसिल गाउँपालिकाका लागि चवराचौतारा, जोरायल र बडीकेदार गाउँपालिकाका लागि बिपीनगर, आदर्श र सायल गाउँपालिकाका लागि मौवा र शिखर नगरपालिकाका लागि धुर्कोट र बन्लेकमा स्वाब परीक्षण संकलन केन्द्र तोकिएको थियो ।

स्वाब संकलन गरिएकाहरुको रिपोर्ट तीनदेखि चार दिनभित्रमा आउने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । गएको शनिबार मात्रै सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा भारतबाट कामगरी फर्किएका दुईजना युवामा कोरोना भाइरस (कोभिड–१९ ) को संक्रमण देखिएपछि अहिले यहाँका सबै प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि यहाँका स्थानीय सरकारले लकडाउनमा थप कडाइ गर्नुका साथै आवतजावतमा पूर्ण बन्देज गरेको छ । भारतसंग सीमा जोडिएका यहाँका सीमानाकाहरुमा सशस्त्र प्रहरी प्ररिचालन गरी थप कडाइ गरिएको छ ।

त्यसै गरी जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको संवेदनशीलतालाई मध्यनजर गर्दै क्वारेन्टाइनमा बसेकाहरुको समयावधिको समय थप गरेको छ । यस अघि भारतलगायत अन्य मुलुकबाट आएकाहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको थियो । यो अवधि सरकारको निर्णयअनुसार एकहप्ता अरु थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले क्वारेन्टाइनमा राखिएकालाई थप एक हप्ता गरी २१ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न सम्बन्धित पालिकाहरुलाई पत्राचार गरिसकेको बताउनुभयो ।

उहाँका अनुसार कैलालीमा देखिएका कोरोना संक्रमणहरुमा छोटो अवधिमा खासै लक्षण नदेखिएकाले यहाँका क्वारेन्टाइनमा बसेकाहरुका लागि २१ दिन क्वारेन्टाइनमा राख्ने निर्णय भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले केही दिन पहिले प्रदेशवासीलाई सम्बोधन गर्दै क्वारेन्टाइनको समयावधि एक हप्ता थप गरी २१ दिन पु¥याउन सबै स्थानीय तहलाई आग्रह गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्