पश्चिमलाई मानवीय भावना सिकाउँदै पूर्वका भारत र चीन



ओमशंकर श्रेष्ठ, काठमाडौं

तीन महिनाअघि चीनमा सयौं संख्यामा मानिसको मृत्यु भइरहँदा समृद्ध पश्चिमेली मुलुकहरूले सायद कोरोना भाइरसले आफँलाई पनि सखाप पार्नेछ भनेर सोचेनन् । समयमा रोकथामको उपाय नअपनाएका कारण आज विश्वका एक लाख नागरिक सहादत हुने क्रममा छन् ।

यही बुधबारदेखि कोरोनाको जन्मशहर चीनको उहानमा लगाइएको लकडाउन पनि पँर्णतः हटाइएको छ । साथै चीनले अहिले विश्वलाई स्वास्थ्य उपकरणहरू दिएर सघाइरहेको छ । भारतले केही दिनअघि मात्र कोराना संक्रमितको उपचारमा प्रयोग हुने हाइड्रोक्सिक्लारोक्वाइन नामक औषधीको निर्यातमा रोक लगाउने निर्णय गरेको थियो ।

यसबाट शुरूमा कोरोना समस्यालाई हल्का ढंगले लिने गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना नागरिक धमाधम मर्न थालेपछि यस औषधीका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गुहार्न थाले । तर मास्कसमेत नलगाउने अटेर गर्दै केही दिनमा अमेरिका पुनः सामान्य ढंगले चल्न थाल्छ भन्दै गरेका ट्रम्पमा महाशक्ति राष्ट्रको नेता हुनुको अहं बाँकी नै थियो, त्यसैले सो औषधी सुचारु नगरेको खण्डमा राम्रो पाठ सिकाउने चेतावनीसमेत दिए ।

तर भारतले चीनको संयमता, मानवता तथा सहयोग भावनाबाट शिक्षा लिएर खुरुक्क यो औषधी खुला गरिदियो । युरोप–अमेरिकालाई भारत–चीन दुवैले एसियाली मानवीय भावनाको जबाफ दिए । भारतको यस सहयोगका लागि मोदी सरकार र भारतीय जनताप्रति ट्रम्पले धन्यवाद प्रकट गरेका छन् ।

कुनै स्थायी औषधी र खोपको विकास नभइसकेको अवस्थामा कोरोना अब कुनै एउटा मुलुक विशेषको मात्र समस्या रहेन । बुधबार मात्र अमेरिकाको विन्सकोन्सिन राज्यमा बाइडेन र स्यान्डर्समध्ये एकजनालाई आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावको उम्मेदवार छनोट गर्न चुनाव गराउन सो राज्यको सर्वोच्च अदालतले आदेश दिएबाट पनि अमेरिका अझै पनि आवश्यक मात्रामा कोरोनालाई लिएर गम्भीर हुन नसकेको देखिन्छ ।

हरेक राष्ट्रको आन्तरिक मामिलामा आवश्यकताभन्दा बढी चासो दिएर पक्ष–विपक्ष सिर्जना गर्ने, आफ्ना दुश्मन मुलुक त्यसमा पनि कम्युनिस्ट मुलुकहरूलाई हरसम्भव एक्ल्याउने, विश्वका प्राकृतिक स्रोत र सम्पदामाथि एकल अधिकार जमाउन राष्ट्रहरूमा गृहयुद्ध तथा प्रजातन्त्र र मानव अधिकार स्थापनाका लागि भन्दै आन्दोलन चकाउन मलजल गर्ने राष्ट्रमा अमेरिकाको आलोचना हुनेगरेको छ । विश्व बजारमा आफ्नो हतियारको माग बढाउन पल्केको अमेरिकाले चीनलाई आफैले कोरोना भाइरस बनाएको प्रमाणरहित अनौपचारिक आरोप लगाउनु दुर्भाग्यपँर्ण थियो ।

केही महिनाअघि नेपाल भ्रमणमा आउने क्रममा चिनियाँ राष्ट्रपति सि जिनफिङले आफ्नो मुलुकको अहित सोच्नेहरूको हड्डीसमेत चकनाचुर पारिदिने आडम्बरी चेतावनी दिएका थिए । यसलाई हेरेर अमेरिकाको व्यवहार पनि ठीकै हो भन्न सकिएला, तर आजको विश्वमाथि आइलागेको संकटका बेला यस्ता सन्दर्भ अगाडि ल्याउनु मानवीय व्यवहार होइन ।

कोरोना भाइरस नियन्त्रणका विषयमा बहसमा आएको सन्दर्भ हो– व्यक्तिगत स्वतन्त्रता ठँलो कि जीवन रक्षा । अमेरिका नागरिकलाई मास्क लगाएर बाहिर निस्कने निर्देशन दिन पनि सक्दैन, केबल सल्लाह दिन्छ । नागरिकहरू ‘क्या घमाइलो दिन’ भन्दै न्युयोर्कको पार्कमा निस्केर अंकमाल गरिरहेका भेटिन्छन्, जब कि न्युयोर्कमै पाँच हजारभन्दा बढी र अमेरिकाभर बिहीबारसम्म १५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

कोरोनासँग विजय हासिल गर्न पश्चिमले मानवीय भावनाका साथै जीवनको प्राथमिकता दिने मान्यता पनि पँर्वबाट सिक्नु हितकर हुनेछ । जीवन नै नरहे स्वतन्त्रताको आनन्द कसले उठाउने?

प्रतिक्रिया दिनुहोस्