कोरोना नियन्त्रणमा सरकार संवेदनशील नभएको तरुण दल र नेविसंघका पूर्व अध्यक्षको आरोप



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाल तरूण दल र नेपाल विद्यार्थी संघका पूर्व अध्यक्षहरूले कोरोना संक्रमणको महामारीबाट आउन सक्ने सम्भावित संकटलाई आत्मसाथ गरी चेकजाँचको बिशेष व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

तरूण दलका पूर्वअध्यक्षहरू विनोदप्रकाश कायस्थ, उदयशम्शेर राणा तथा नेविसंघ पूर्वअध्यक्षहरू नैनसिंह महर, महेन्द्र शर्मा र रञ्जित कर्णले कोरोना नियन्त्रणमा सरकार संवेदनशील नभएको उल्लेख गर्नुभएको छ ।

‘स्वास्थ्य सामग्री खरिदमा मन्त्रीको निहित स्वार्थ र कमिसनको खेलमा लागेको कुरा बाहिर आएको छ तर प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो सम्बोधन र सरकारको मनोमानी रवैया हेर्दा अनियमिततालाई गम्भीरताका साथ लिएको देखिएन’ बिज्ञप्तिमा उल्लेख छ ।

न्यून आएका भएका मजदूर किसानका लागि बिशेष राहत, उद्योगी व्यावसायीका अवस्था हेरेर राहत तथा विदेशमा रहेका विद्यार्थी कामदारको स्थिति पत्ता लगाएर कुटनीतिक नियोगमार्फत उचित कदम चाल्न पनि पूर्वअध्यक्षहरुले संयुक्त रुपमा सरकारसँग माग गरेको तरूण दलका पूर्वअध्यक्ष कायस्थले बताउनुभयो ।

जतिसक्दो छिटो शंकास्पद व्यक्तिहरूको परीक्षण गर्न र स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्रीहरू व्यवस्था गर्न पनि सरकारसँग माग गरिएको छ ।अस्पतालहरूमा भेन्टिलेटर संख्या बढाएर कम्तिमा एक हजार पाँच सय बनाउन पनि उहाँहरुको माग छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भातृसंस्थाका पूर्वअध्यक्षहरुले कोरोना भाईरस अर्थात कोभिड–१९ को महामारी सुरु भएको ३ महिना बितिसक्दा समेत कोरोनाको नियन्त्रणमा सरकार संवेदनशील र गम्भीर नभएको भन्दैं आपत्ती जनाउनुभएको छ ।

उहाँहरुले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकोबारे छानवीन गरी गर्नेलाई कारवाहीको दायरामा ल्याउन र तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवनरक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।‘तत्काल गुणस्तरीय स्वास्थ्य सामग्री खरिद गरी नागरिकको जीवन रक्षाको दायित्वमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराउदछौं’, नेपाल दरुण दलका र नेविसंघका पूर्व अध्यक्षहरुले भन्नुभएको छ ।

पूर्व अध्यक्षहरुले देशका दक्षिण भूभागमा खुला सिमानाका कारण लुकिछिपी लकडाउन उल्लङ्घन गर्ने क्रम जारी रहेकाले सिमामा रहेका नेपालीहरुको नैसर्गिक अधिकारको ख्याल गरी उनीहरुलाई सुरक्षित तवरले आफ्नो देशमा ल्याएर क्वारेन्टाईनको उचित प्रबन्ध गर्न पनि सरकारको ध्यान आकृष्ट गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्