लिग नभएमा क्लबलाई घाटा हुने



लन्डन, (एजेन्सी)

कोरोना भाइरसको कारण युरोपियन फुटबलका पाँच प्रमुख लिग मार्चदेखि स्थगित छन् । यी लिग शुरु हुने कुनै संकेत देखिएको छैन । सबैभन्दा बढी आम्दानी गर्ने इंग्ल्यान्डको प्रिमियर लिगको कुरा गर्ने हो भने यो अप्रिलसम्म स्थगित गरिएको छ । हालको अवस्थामा यसका स्टेकहोल्डरसले समेत लिग यो सिजनमा पुरा नहुने शंका व्यक्त गरेका छन् ।

यस सिजनको प्रिमियर लिगका सबै २० टोलीका ९ या १० खेल खेल्न बाँकी छ । यदि लिगको बाँकी सिजन रद्द भएमा यी क्लबको आम्दानीमा घाटा हुन सक्ने पनि बताइरहेको छ ।

उनीहरुलाई लगभग १ अर्ब पाउन्डको घाटा हुने पनि बीबीसी स्पोर्टस्ले जनाएको छ । सबैभन्दा घाटा म्यानचेस्टर युनाइटेडलाई हुन सक्नेछ । क्लबलाई ११६.४ मिलियन पाउन्ड कम कमाइ हुने सन्देह गरिएको छ ।

उता कोरोना भाइरसको महामारीपछि पहिलो पटक जर्मन फुटबल क्लबले मंगलबारदेखि प्रशिक्षण शुरु गरेको थियो । १३ मार्चदेखि जर्मन लिग ठप्प भएको छ । सबै टोलीले स–साना समूहमा प्रशिक्षण लिइरहेका छन् । फ्रेन्कफर्टका खेलाडीले तीन समूह गरी प्रशिक्षण गरिरहेका छन् । जबकि त्यहाँको खेलाडीको कोरोना पोजिटिभ पाएको थियो ।

यसैगरी लकडाउनको कारण लिगका केही क्लब स्टाफलाई तलब नदिने या कम तलब दिने भन्ने विषयमा विवाद भइरहेको छ। यस मौकामा म्यानचेस्टरका दुबै क्लब युनाइटेड र सिटीले भने पुरै तलब दिएका छन् । तर लिभरपुल क्लबले बताएको थियो –गैर खेलाडी स्टाफलाई अस्थायी विदामा पठाइदिएमा तलब दिन पर्दैन ।

लिभरपुलको सो विचारमा क्लबका समर्थकले कडा आलोचना गरेका थिए । यसपछि लिभरपुलले ब्रिटेन सरकारले ल्याएको जाब रिटेन्सन स्किमअनुसार स्टाफहरुलाई ८० प्रतिशत तलब दिने निर्णय लियो ।

यस्तै आर्सनलले पनि अप्रिलसम्मको पुरै तलब दिने निर्णय लिएको छ । यसपछि परिस्थिति हेरेर निर्णय लिने पनि क्लबले जनाएको छ । अन्य प्रिमियर लिग क्लबमा वाटफोर्ड, वेस्टहाम, क्रिस्टल पेलेससहित केही क्लबहरुले आफ्ना स्टाफलाई पुरै तलब दिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्