चिनियाँ कामदार क्वारेन्टाइनमा, मेलम्ची अझै पछि



सुरेश तामाङ, काठमाडौं । 

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको प्रभाव बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मेलम्ची खानेपानी आयोजनाको काममा पनि परेको छ ।

मेलम्चीको अन्तिम काम चिनियाँ ठेकेदार कम्पनी सिनोहाइड्रोले गरिरहेको छ भने सरकारले राष्ट्रिय रूपमा ‘लकडाउन’को घोषणा गरेपछि त्यसको प्रभाव काममा परेको हो ।

आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले लकडाउनको प्रभाव मेलम्चीको काममा परेको जानकारी दिनुभयो । चिनियाँ र नेपाली गरी तीन सय पचासको हाराहारीमा प्राविधिक र मजदुर मेलम्चीको पानी काठमाडौं ल्याउने भन्दै अहोरात्र खटिरहेका थिए ।

उहाँले लकडाउनपछि स्थानीय कामदार तीन सय जना आफ्नो घर फर्केका र ५० चिनियाँ विभिन्न क्याम्पमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका बताउनुभयो । मेलम्चीको अन्तिम चरणको काम बाँकी रहेको अवस्थामा विभिन्न वहाना देखाएर इटालियन कम्पनी सीएमसी दि रिभेना गत वर्ष छोडेर गएपछि सरकारले प्रतिस्पर्धाबाट चिनियाँ ठेकेदार छनोट गरी काममा लगाएको थियो ।

अहिले चिनियाँ कम्पनीले मुहान निर्माणको काम, सुरुङ फिनिसिङ, सुरुङको गेट निर्माणलगायतका काम गरिरहेको छ । सीएमसीले सुरुङ फिनिसिङको अन्तिम चरणमा र मुहान निर्माणको पूरै काम बाँकी राखेर आयोजना छोडेको थियो ।

अहिले चिनियाँहरू सुन्दरीजल, सिन्धु, ग्याल्थुम, अम्बाथान र मुहान क्षेत्र गरी पाँचस्थानमा क्याम्प खडा गरी बसिरहेको आयोजनाका सूचना अधिकारी पन्तले बताउनुभयो । ‘राष्ट्रियस्तरमा लकडाउन गर्ने नीति सरकारले लिएअनुसार मेलम्चीको काम रोकिएको अवस्था छ । स्थानीय कामदार घर फर्किसकेका छन् भने चिनियाँ कामदार विभिन्न क्याम्पमा बसिरहेका छन् ।’ –उहाँले भन्नुभयो ।

सरकारले उच्च प्राथमिकतामा राखेको यस आयोजनाले आउने असारमा उपत्यकावासीलाई खानेपानी खुवाउने लक्ष्यसहित काम भइरहेको थियो, जसअनुसार एक साताअघि मात्रै सुरुङभित्र पानी हालेर परिक्षणसमेत गरिएको थियो । वैकल्पिक व्यवस्था गरेर भए पनि मेलम्चीको पानी ल्याउने योजना सरकारले लिएको छ ।

लकडाउनले गर्दा मेलम्चीको काम प्रभावित बनेको छ । मेलम्ची उपत्यकावासीको घरघरसम्म आइपुग्ने भाका फेरि सर्ने निश्चित देखिन्छ । आयोजनाका सूचना अधिकारी पन्तले लडकडाउनको प्रभावले मेलम्ची आउने भाका सर्न सक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्