अग्रवाललाई ७ दिन म्याद थप



काठमाडौं, (नेस)। 

कालोबजारी गरेको आरोपमा मंगलबार पक्राउ परेका जगदम्बा ग्रुपका सञ्चालक सुलभ अग्रवाल सात दिन हिरासतमा राख्ने म्याद दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले हिजो बुधबार सात दिने म्याद थप गरेको हो ।

अग्रवाललाई मंगलबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले नक्सालबाट नियन्त्रणमा लिएको थियो । अग्रवालको कम्पनीले ज्वरो नाप्ने थर्मोमिटर १६ हजार रुपियाँसम्म लिएर बिक्री गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले उनलाई ६७ साथ थर्मलगनसहित पक्राउ गरेको थियो ।

पक्राउ गरेलगत्तै प्रहरीको टोलीले मंगलबार राति र हिजो अग्रवालको घर, कार्यालय, गोदामलगायत उनीसँग सम्बन्धित विभिन्न स्थानमा छापा मारेको थियो । छापा मार्दा हालसम्म कुनै सामग्री फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीले अधिकांश सामग्री बिक्री गरिसकेको अनुमान गरेको छ । अग्रवालले करिब २० हजार थान थर्मलगन, केही मास्कलगायतका सामग्री ल्याएका थिए । अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा नराखी दरबारमार्ग वृत्तमा राखिएको छ ।

उनले प्रहरीलाई पटकपटक आफू बिरामी भएको बहाना गर्दै अस्पताल बस्न खोजेको जनाएका छन् । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना परीक्षण गर्न सामान ल्याउँदा उनले करिब २ करोड रुपियाँ जहाज भाडा तिरेका थिए ।

अग्रवाल उद्योग परिसंघ (सीएनआई)का उपाध्यक्ष र जगदम्बा स्टिलका मालिक हुन् । उनलाई प्रहरी टोलीले ग्राहकका रूपमा सामान लिन लाग्दा पक्राउ गरेको थियो । अग्रवाल कूटनीतिक नियोगको सवारीसाधन २०९ एचसीसी १ नम्बरको गाडीमै थर्मल गन र मास्क राखेर कालोबजारी गर्दै हिँडेका थिए ।

मेडिकल सामग्री विक्रेता नभए पनि मनग्य नाफा हात पार्न सक्ने भन्दै अन्य मेडिकल सप्लायर्सले बुकिङ गरेको जहाज साहिलको नाममा भाडामा लिएर ग्वान्जाउ पुगेर सामान ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्