गल्याङमा दश वटा वडाका झण्डै ११ सय परिवारलाई राहत वितरण



भूपराज बस्याल,स्याङ्जा ।

स्याङ्जाको गल्याङ नगरपालिकाका दश वटा वडामा राहत वितरण गरेर सकिएको छ । वडा नम्बर नौ बाहेकका सबै वडामा राहत वितरण गरेर सकिएको हो । कोरोना भाइरसको संक्रमणबाट साबधानी अपनाउन गरिएको लकडाउनका कारण समस्यामा परेका दश वटा वडामा रहेका अति विपन्न, दैनिक ज्यालादारी, सिमान्तकृत गरिब र असहायहरुलाई राहत वितरण गरिएको नगरप्रमुख भुपराज अधिकारीले जानकारी दिनुभयो ।

अहिलेसम्म वडा नम्बर नौ बाहेकका अन्य दश वटा वडामा गरी एक हजार ८६ परिवारका चार हजार दुई सय ४० जना व्यक्तिका लागि राहत वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणमा १५ दिनका लागि प्रतिव्यक्ति पाँच किलो चामलका दरले अहिलेसम्म २१ हजार छ सय किलोग्राम चामल वितरण गरिएको नगरप्रमुख अधिकारीले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो –“अहिले हामीले १५ दिनका लागि मात्रै राहत वितरण गरिरहेका छौं । लकडाउन सकिएको एक हप्तासम्मका लागि हामीले राहत वितरण गर्नेछौं ।”यस्तै, अहिलेसम्म एक हजार तीन सय ६७ किलो दाल वितरण गरिएको छ भने एक हजार ७४ लिटर खाने तेल, एक हजार एक सय ४५ किलो ग्राम नुन र एक हजार ८५ वटा हात धुने साबुन वितरण गरिएको छ ।

गल्याङमा हालसम्म सबैभन्दा धेरै वडा नम्बर तीनमा एक सय ७५ परिवारलाई राहत वितरण गरिएको छ भने सबैभन्दा कम वडा नम्बर दश मा ४० परिवारलाई राहत वितरण गरिएको छ । वडा कार्यलयमा राहत माग गरिएकाहरुको आधारमा वडा समितिले सिफारिस गरे अनुसार नगरपालिकाबाट राहत वितरण भैरहेको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –“पहिलो चरण सकिएपछि समिक्षा गरेर अर्को चरणमा अझै व्यवस्थित तरिकाले राहत वितरण हुनेछ ।” वडा नम्बर नौ मा आन्तरिक तयारी पुरा नभएका कारण विहिबार मात्रै राहत वितरण हुने भएको छ । अति विपन्न केही व्यक्तिहरु छुटेको खबर प्राप्त भएपछि सबैलाई मिलाएर विहीबार राहत वितरण गर्ने तयारी भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्