हेमोडाइलाइसिसको पानी उत्पादन गर्ने कम्पनीले थाले स्यानिटाइजर उत्पादन



नेपाल समाचारपत्र, काठमाडौं ।

डाईलाइसिस गर्नु पर्ने विरामीका लागि प्रयोग हुने हेमोडाइलाइसिस पानी उत्पादन गरिरहेको कम्पनीले स्यानिटाइजर उत्पादन थालेको छ । ललितपुरको गोदावरी नगरपालिका–६ खड्का गाउँमा रहेको रोडोडेन्ड्रोन बायो टेक कम्पनीले यसको उत्पादन थालेको हो।

कम्पनीले विश्व स्वास्थ्य संगठन र औषधी व्यवस्था विभागको मापदण्ड अनुसार विभागको स्विकृती लिएर उत्पादन थालेको कम्पनीका फ्याक्ट्री म्यानेजर अजित झाले बताउनुभयो।

दिनमा एक सय मिलिलिटरको एक हजार थानबोतल स्यानिटाइजर उत्पादनहुने उहाँको भनाई छ । हेमोडाइलाइसिसको पानी पनि उत्पादन गर्नु पर्ने भएकोले दैनिक एक हजार बोतल स्यानिटाइजर मात्रै उत्पादन गर्न सकिरहेको उहाँले बताउनुभयो ।

‘हेमोडाइलाइसिसको पानी पनि उत्पादन गर्नु पर्ने छ भने यता स्यानिटाइजरको पनि उत्पादन सँगसँगै गरिरहेका छौँ ।’, उहाँले भन्नुभयो ।

एक हजार थान बोतल स्यानिटाइजर उत्पादन, लेबलिङ लगायतको सम्पूर्ण प्रकृया पुरा हुन आठ घण्टा लाग्ने कम्पनीका फ्याक्ट्री म्यानेजर झाले बताउनुभयो ।

उहाँकाअनुसार यसमा १० जना श्रमिक लाग्ने गरेको छ । सरकारले तोकेकै मुल्यमा बिक्री गर्ने दाबी सहित विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा स्यानिटाइजर निर्यात गरिरहेको उहाँले बताउनुभयो ।

स्यानिटाइजरको उत्पादनको परिमाणलाई बढाउँदै लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्