रोग र भोकसँग मानव सभ्यताको द्वन्द्व



डा. टीकाराम पोखरेल

विश्व कोरोना भाइरस (कोभिड–१९) ले आतंकित छ । मानव जाति यो भयंकर संकटबाट उम्कनका लागि संघर्ष गर्दैछ । हरेक मानिस भयभित भएको देख्दा यस्तो लाग्दैछ– कोरोनाविरुद्धको लडाइँ मानव जातिको लागि प्राकृतिक विश्वयुद्ध हो । राजनीतिक विश्वयुद्धमा मानिसका विरुद्ध मानिस लडे, प्राकृतिक विश्वयुद्धमा मानव र भाइरसको बीच युद्ध भैरहेको छ ।युद्ध प्राकृतिक भए पनि यसमा पनि राजनीतिचाहिँ घुसेको छ । कारोनाको विषयलाई लिएर अमेरिका–चीनबीचको वाकयुद्ध रोगमाथि राजनीतिको ज्वलन्त उदाहरण हो ।

मानव सम्यताको इतिहासका विभिन्न कालखण्डमा मानव जातिले महामारीविरुद्ध लडेको छ । मानवीय र भौतिक क्षतिका बाबजुद पनि मानिसले संकटमाथि विजय हासिल गर्दै मानव सभ्यताको यात्रालाई अगाडि बढाइरहेको छ । एक्काइसौँ शताब्दीमा आइपुग्दा मानिसका ठूला–ठूला वैज्ञानिक अविष्कारले चमत्कार गरिरहेको छ, तर पनि बेला–बेलामा आइरहने माहामारीले मानव सभ्यताको यात्रामा पटक–पटक ठेस लाग्ने गरेको छ । विश्वमा अझै पनि मानव जाति पूर्णरुपमा संकटमुक्त नभएको सन्देश प्रकृतिले दिइरहेको छ ।

मानिसले औषधि विज्ञानमा चामत्कारिक उपलब्धि हासिल गरिसक्यो, तर क्यान्सर, कोरोनाजस्ता केही रोगहरुको अझै पनि औषधि पत्ता लगाउन सकेको छैन । सरुवा रोग भएका कारण क्यान्सरभन्दा कोरोना बढी खतरनाक देखिएको छ । यसबाट बच्ने एकमात्र उपाय रोगलाग्नुपूर्वको सावधानी र रोग लागिसकेपछिको अनुशासित जीवनशैली तथा कीटाणुविरुद्ध लड्ने शक्तिवद्र्धक खानपान मात्र हो । यतिबेला नेपाल मात्र नभएर विश्वका सबै मानिस कोरोनाविरुद्ध पूर्वसावधानी अपनाइरहेका छन् । खासगरी एकबाट अर्कोमा संक्रमण नहोस् भनी मानव–मानवबीच दूरी कायम गर्दै मानिसहरु आइसोलेसन, क्वारेन्टाइन वा लकडाउनमा छन् । यति हुँदाहुँदै पनि विकसित र सचेत भनिएका मुलुकहरुमा नै यसको संक्रमण भयावह हुँदै गएको छ ।

लकडाउनमा सचेततावश बस्नेभन्दा बाध्यतावश बस्नेको जमात ठूलो छ ।लकडाउनमा बस्नुपर्दा मानिसहरु रोजगारविहीन भएका छन् । उत्पादन घटेको छ । यसले विश्व अर्थतन्त्रमा समेत असर परेको छ ।अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विश्व अर्थतन्त्र आर्थिक मन्दीमा प्रवेश गरेको बताएको छ ।लकडाउनका कारण धेरै मुलुकहरुको अर्थतन्त्र धर्मराएको छ ।

बेरोजगारीको समस्या दिनहुँ बढ्दो क्रममा छ ।आईएमएफले विश्वभर आर्थिक गतिविधि अचानक ठप्प भएको कारण बजारलाई सन्तुलनमा ल्याउन भन्दै कम्तीमा २५ खर्ब डलर आवश्यक रहेको बताएको छ । अर्थतन्त्रमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्नका लागि विश्वका धेरै मुलुकले आर्थिक सहायता योजना ल्याएका छन् तर जनस्वास्थ्यप्रति जिम्मेवार नभएर हो वा राज्यकोषको क्षमता नभएर हो विकासोन्मुख मुलुकहरु राहतका कार्यमा चुकेका छन् ।

हाम्रो देश नेपालमै पनिकोरोनाको संक्रमणका कारण देश ठम्प हुँदा देशमा सञ्चालित उद्योगधन्दा मात्र बन्द भएका छैनन् धेरै सर्वसाधारणको रोजिरोटीसमेत गुमेको छ । खासगरी दिनभरि काम गरेर बेलुका छाक टार्नेहरु बढी यसको मारमा परेका छन् । सरकारले यसतर्फ छुट्टै ध्यान पु¥याउनु आवश्यक छ ।
आज संसारभर नै हुँदा खाने र हुनेखाने दुई वर्ग छन् ।

रोग संक्रमणको दृष्टिबाट हेर्दा हुँदा खाने र हुने खाने दुवैलाई बराबरी जोखिम होला, किनभने रोगले गरिब र धनी भन्दैन, यसले राजा–रङ्क छुट्ट्याउँदैन । तर भोकको दृष्टिले हेर्ने हो भने हुनेखानेलाई खासै असर परेको छैन, उनीहरु बैंक बचतको रकम खर्च गरेर लकडाउनमा बसेर आनन्दले जीवन बिताइरहेका छन् । तरलकडाउनका कारणले दैनिक कामबाट विमुख हुनुपर्दा हुँदा खानेलाई भने नराम्रो असर परेको छ। यतिबेलाहुँदा खानेहरुको हात रित्तो भएको छ । अर्थात् हुँदा खानेहरुका हात नहुने हातमा परिणत भएका छन् र उनीहरुलाई हातमुख जोर्न धौ–धौ परेको छ ।

संसारको ध्यान या त कोरोनाको सन्त्रासमा केन्द्रित छ, या त विश्व अर्थतन्त्रमा केन्द्रित छ । तर हुँदा खानेको चिन्ता भने आफ्नो भोको पेट भर्न र नाङ्गो आङ ढाक्नमा नै सीमित छ । नहोस् पनि कसरी ? जीवन नै छैन भने ठूला–ठूला आर्थिक बहसको के अर्थ हुन्छ ? कल्पना गरौँ त, यतिबेला दिनमा ज्यालामजदुरी गरी बेलुका पेट भर्नेहरु कसरी पेट भर्दा हुन् । उनीहरुको चुलोमा आगो कसरी बल्दो हो ?घरबाहिर निस्के प्रहरीले पक्रने डर र भित्र बसे भोकै मरिने दोहोरो चेपुवामातिनै निम्नवर्ग परेका छन् ।

संसार रोगको आतंकसँग लडिरहँदा सँगसँगै अर्को प्रश्न पनि उठ्छ, रोगको आतंक ठूलो कि भोकको आतंक ठूलो? उत्तर प्रस्ट छ, हुनेखानेका लागि रोगको आतंक ठूलो । एउटा वर्ग रोगले आतंकले त्रसित छ तर अर्को वर्ग भने भोकको आतंकलते गलित छ । भोको पेटलाई रोगसँग त्यति डर लाग्दैन, जति डर अघाएको पेटलाई लाग्छ । रोगले मान्छे मर्न पनि सक्छ । तर भोकबाट बचेको मान्छेलाई नै रोगले मार्ने हो । भोकबाटै बच्न सकेन भने रोगले कसरी मान्छे मार्छ ? भोकले नै मान्छे मा¥यो भने त उसले रोगसँग लड्नै पर्दैन । त्यसैले भोक पहिला र रोग पछिको हो । भोकबाट बाँचेपछि रोगसँग लड्ने हो ।

मानिस रोगसँग लड्न सक्छ तर भोगसँग सक्तैन । भोकले त बरु मानिसलाई लडाउँछ । त्यसैले संसारको सबैभन्दा ठूलो रोग भोक हो । शहर लकडाउन गरेर हुनेखानेहरु रोगसँग लडिरहेका छन् तर हुँदा खानेहरु भने यो लकडाउनमा भोकसँग संघर्ष गरिरहेका छन् । दैनिक जीवन गुजारा गर्ने उनीहरुसँग भोक टार्ने औषधि छैन । दिनहीनहरुका लागि भोक टार्न पाए रोग त दोस्रो कुरा हुन्छ । त्यसैले रोगविरुद्ध मात्र होइन, भोकविरुद्ध पनि सचेतना अपनाऊँ । आफ्नो दृष्टिबाट मात्र होइन, अरुको दृष्टिबाट पनि सोचौं ।

विश्वका धेरै मुलुक लकडाउनमा हुँदा निम्नवर्गका जनताका लागि राहतको घोषणा गरिरहेका छन् । एक्काइस दिन लकडाउन घोषणा गरेको हाम्रै छिमेकी मुलुक भारतले समेत विपन्नका लागि छुट्टै प्याकेज ल्याएको छ तर नेपाल सरकारको ध्यान त्यसतर्फ प्रभावकारी छैन । भएको पनि औपचारिकतामा सीमित छ । बरु केही स्थानीय सरकारहरुले विपन्न वर्गका लागि राहतको काम गरेका छन् । तिनीहरुको कार्यको प्रभाकारिता र परिणाम भने हेर्न बाँकी नै छ ।

राहतको काम गरिएको छ भनेर सररकारले दाबी गरे पनि यसको यकिन तथ्यांक छैन । सरकारले उपभोग्य सामग्रीको अभाव छैन भनिरहेको छ । तर बजारमा उपभोग्य सामग्रीको अभाव मात्र भएको छैन, भएको सामग्रीमा पनि उपभोक्ताबाट अत्यधिक मूल्य असुल्ने काम भैरहेको छ । बजारमादेखा परेका दुई वर्गमध्ये सम्पन्नको चिन्ता लकडाउनमा कमाउने काम रोकियो भन्नेमा छ भने विपन्नको चिन्ता पेट भरिएन भन्नेमा छ । सुकुम्बासीको नाममा हुकुमबासी हाबी भएझैँ सरकारका केही राहत प्याकेजमा पनि भोकालाई राहतको नाममा अघाएकाहरुको हालिमुहाली चल्ने स्थिति छ । बजारको बेथिति नै रीतिस्थिति, परिस्थिति र मनस्थिति बन्न लागेको छ ।

सरकार भन्छ– लकडाउनमा कोही भोकै मर्दैनन् । त्यसो भए सरकारले देखाइदेओस्, भोकालाई भोजन कहाँछ ? निःशुल्क भोजनशाला कतै छ ? निःशुल्क भोजन दिन सकिँदैन भने ज्याला मजदुरी गरिखाने काम कहाँ पाइन्छ ?सरकारबाट सञ्चालित कतै सार्वजनिक भोजनालय छन् कि राहत प्याकेज छन् ?सञ्चारमाध्यम यस्ता प्रश्न सरकारलाई सोध्छन्, सरकार सबै ठीक छ भनेर मिडियाबाटै जवाफ दिन्छ।

ठीकठाक भएको समाचार सबैको कानमा पुग्छ, तर भोकाहरुको पेटमा भात पुग्दैन ।त्यसैले यतिबेला नहुनेलाई रोगको भन्दा बढी आतंक भोको पेटको छ । भोकै बस्नुपरेपछि मानसिक आतंक पनि थपिन्छ । भोकको आतंकलाई निवारण नगर्ने हो भने मानिसको मृत्यु हुन कोरोनाको जीवाणु नै चाहिँदैन,भोक नै पर्याप्त हुन्छ ।

प्रतिक्रिया दिनुहोस्