निजी अस्पताल बिरामीको बाध्यता



सरकारी अस्पतालले बिरामीको चाप थेग्न नसक्नु र मागअनुसार स्तरीय स्वास्थ्य सेवा दिन नसक्नाले निजी क्षेत्रबाट अस्पताल खुल्ने क्रम तीव्ररुपमा बढेको छ ।धेरैजसो रोगको उपचारका लागि अब विदेश जानुपर्ने स्थिति पनि छैन । ईसीजी, इको, सिटी स्क्यान, एमआरआईजस्ता विशेष स्वास्थ्य सेवासहित स्वास्थ्य परीक्षण, ल्याब टेस्ट, अप्रेसन एवम् अन्य उपचार सेवा एउटै छानामुनिबाट प्राप्त गर्न सकिने भएको छ । सरसर्ती हेर्दा स्वास्थ्य सेवामा निजी अस्पतालहरूको योगदान सरकारी अस्पतालको तुलनामा कम आँक्न सकिँदैन ।

मुलुकमै अस्पतालको संख्या बढ्दो छ । कुनै पनि वस्तु वा सेवा बढी मात्रामा उपलब्ध भएमा त्यसको मूल्य घट्ने अर्थशास्त्रको सामान्य सिद्धान्त हो तर स्वास्थ्य सेवामा भने यसको उल्टो भएको छ । निजी अस्पतालले असुल्ने महँगो शुल्कका कारण सर्वसाधारण बिरामीको पहुँच ती अस्पतालमा पुग्न सकेको छैन ।

फेरि सबै अस्पताल शहर केन्द्रित भएकाले अधिकांश ग्रामीण जनता आधारभूत स्वास्थ्य सेवा पाउनबाट पनि वञ्चित भएका छन् । विशेष गरी राजधानी काठमाडौंमा निजी क्षेत्रमा खुलेका अस्पताल अत्यधिक छन्।तर दिनभरि कमाएर बेलुका खानुपर्ने परिवारका लागि ती अस्पताल खुलेका होइनन् जस्तो लाग्छ । स्तरीय अस्पताल धनीवर्गका लागि मात्र खुलेका हुन् कि जस्तो ती अस्पतालले विभिन्न नाममा असुल्ने शुल्कले नै जनाउँछ ।

सरकारी अस्पतालमा उपचार गराउन त्यहाँको कोही चिनेको हुनुपर्ने वा भनसुन गर्नुपर्ने परम्पराजस्तै भएको छ । एउटा अप्रेसन गर्न वर्षौं पालो पर्खनुपर्दा त्यतिन्जेल मृत्युको मुखमा पुगिसक्ने भएकाले घरखेत बेचेर भए पनि बिरामीले निजी अस्पतालतिर दौडनुपर्ने बाध्यता छ ।यही बाध्यताको फाइदा निजी क्षेत्रका अस्पतालले उठाउँदै आइरहेका छन् । सरकारले स्वास्थ्य बिमा कार्यक्रम ल्याएर केही राहत त मिलेको छ तर यसको व्यवस्थापन राम्रोसँग हुन सकेको छैन ।

उदाहरणका लागि मध्यपुर ठिमी, भक्तपुरको कोरियन अस्पताल नै काफी छ । जहाँ काउन्टरमा लाइन, बीपी चेक गर्न लाइन, डाक्टरकोमा लाइन, ल्याबमा लाइन अनि औषधि लिन लाइन, जता पनि लाइन बस्दा पूरै दिन माया मार्नुपर्छ । साथै ल्याब टेस्टको रिपोर्ट लिन जाँदा पनि लाइन बस्दा उत्तिकै हैरान । अनि बिरामी सम्पत्ति बेचेर भए पनि निजी अस्पतालमा जान बाध्य किन नहोस् ।
– सुयोग त्रिपाठी, मध्यपुर ठिमी, भक्तपुर ।

 

आफ्नै विद्यालयप्रति विश्वास छैन शिक्षकलाई

सरकारी कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्नेमा उनीहरूले निजी विद्यालयमा पढाउने गरेको पाइएको छ । पढाइ राम्रो हँदैन, नतिजा उत्कृष्ट आउँदैन, बालबालिका अंग्रेजीमा कमजोर हुन्छन् भन्दै उनीहरू सामुदायिक विद्यालयमा भर्ना नगर्ने गरेको बताउँछन् । यस्तो मानसिकताका कारण पछिल्लो समय सामुदायिक विद्यालय गरिब तथा विपन्नका छोराछोरी पढ्ने विद्यालय बन्न पुगेको छ । आफैंले पढाउने सरकारी विद्यालयप्रति विश्वास छैन शिक्षकलाई । त्यसैले उनीहरू आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने गर्छन् ।

सामुदायिक विद्यालयका शिक्षकहरूले आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउने तर सामुदायिक विद्यालयको गुणस्तरमा भने ध्यान नदिने प्रवृत्ति हाबी छ । शिक्षा सेवा आयोगमा पटक–पटक प्रयास गरेर पनि उत्तीर्ण हुन नसकेका शिक्षकले नै निजी विद्यालयमा पढाएका विद्यार्थी शतप्रतिशत उत्तीर्ण हुने तर सामुदायिक शिक्षकले पढाएका विद्यार्थीको नतिजा सन्तोषजनक नहुनुको कारण के हुनसक्छ ?

सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिमा पनि सक्रिय रहेका हुन्छन् । प्रायः शिक्षकहरू दलका सक्रिय कार्यकर्ता छन् । शिक्षकका छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने विषयमा शिक्षकका पेसागत संघ/संगठनले पनि दबाब दिन सकेका छैनन् । जागिरका लागि मात्रै सामुदायिक विद्यालयमा पढाउने काम गरेका शिक्षकबाट परिवर्तनको केही आश गर्न सकिन्न ।

सामुदायिक विद्यालय सुधारका लागि एकाध व्यक्तिको प्रयासले मात्र खास उपलब्धि हासिल गर्न सकिँदैन । विषयगत शिक्षकले इमानदारितापूर्वक शैक्षिक गुणस्तरका लागि ध्यान दिने हो भने निजी विद्यालयको जस्तै नतिजा सामुदायिक विद्यालयले पनि हासिल गर्नेमा दुईमत छैन । अहिले विद्यार्थी अभावका कारण कतिपय विद्यालय मर्ज हुने तथा खारेज हुने अवस्थामा पुगिसकेका छन् ।

सामुदायिक विद्यालयमा पढाउने कतिपय शिक्षकहरू राजनीतिक दलका कार्यकर्ता हुनु विडम्बनाको विषय बनेको छ । यतिसम्म कि दलहरूले आयोजना गरेका कार्यक्रमहरूमा विद्यालय नै बन्द गरेर शिक्षकहरू सहभागी भएका दृष्टान्त थुप्रै छन् । आफ्ना सन्तानलाई निजी विद्यालयमा भर्ना गराएर सामुदायिक विद्यालयमा राजनीति गर्ने शिक्षकहरूबाट शैक्षिक गुणस्तरमा केही आश गर्न सकिँदैन । कतिपय सामुदायिक विद्यालयका शिक्षकहरूले निजी बोर्डिङ नै खोलेर घर–घरमा विद्यार्थी खोज्दै हिँड्ने प्रवृत्ति पनि नौलो होइन । त्यस्ता शिक्षकबाट सामुदायिक विद्यालयको उन्नतिको कल्पनासम्म पनि गर्न सकिँदैन ।

आफूले सामुदायिक विद्यालयमा पढाएर आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउनु भनेको आफ्नै क्षमता र योग्यताको खिल्ली उडाउनु हो । आफूले सामुदायिक विद्यालयमा काम गरेर निजी विद्यालयमा छोराछोरी पढाउनु नैतिकताको दृष्टिले पनि अनुचित कार्य हो । यस्तो प्रवृत्ति भएका शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई नैतिकताका आधारमा पनि विद्यालयमा रहने अधिकार हुनुहँदैन । अधिकारप्राप्त स्थानीय निकायले यस्तो समस्या समाधानमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नु जरुरी देखिएको छ ।
– प्रसुन सुनार, काठमाडौं ।

 

फिजेट स्पिनरको लत बस्ला है

औंलामा राखेर फनफन घुमाइने एउटा सानो खेलौनाले अहिले विश्वमै ठूलो लोकप्रियता कमाइरहेको छ । नेपालमा समेत धेरै बालबालिकाको हातमा देखिन थालेको छ अहिले फिजेट स्पिनर । तनाव कम गर्न र एकाग्रता बढाउन सहयोग गर्ने विश्वासले गर्दा यसका प्रयोगकर्ताहरु बढेका हुन् । बच्चाहरुका लागि भने यो मनोरञ्जनको वस्तु पनि बनेको छ । प्लास्टिक तथा मेटलयुक्त यस्ता स्पिनर बजारमा विभिन्न रंग तथा डिजाइनमा किन्न पाइन्छ । नेपाली बजारमा यस्ता स्पिनरको मूल्य न्यूनतम एक सय रुपियाँदेखि एक हजार रुपियाँसम्म पर्ने गर्छ ।

विदेशमा भने लाखौं रुपियाँसम्मका स्पिनर पाइन्छन् । गोलाकार स्पिनरको बीचमा एउटा रिङ हुन्छ । साइडमा तीनवटा प्वाल हुन्छन् । सोही तीन प्वालमध्ये एउटामा औंला राखेर यसलाई घुमाइन्छ । त्यसरी घुमाउँदा स्पिनर नझरोस् भन्नका लागि अर्को एउटा औंला (बूढीऔंला)ले सहारा दिइन्छ । यस खेलको विशेषता यति मात्रै हो । यसकै लागि अहिले बालबालिका मरिहत्ते गरिरहेका छन् । बजारमा यसलाई एकाग्रता बढाउने र तनाव हटाउने सामग्रीका रुपमा प्रचार गरिँदै आएको छ ।

तर यो खेलौनामा लत बस्यो भने हानिकारक हुन सक्ने अवस्था पनि छ । स्पिनर फिजेटको प्रभावकारितालाई आजसम्म चिकित्सकीय विज्ञानले पुष्टि गरेको छैन । अधिकांश बच्चामा एकाग्रता नहुने समस्या बढी हुन्छ । तिनीहरुमा एकाग्रता कायम गर्न यस्ता खेलहरु उपयोगी हुनु स्वाभाविक हो । तर यही कुरा लत बन्न गयो भने बच्चाहरुमा समस्या पनि निम्त्याउन सक्छ ।

फिजेट स्पिनरले पनि बालबालिकालाई केही समयको लागि रमाइलो महसुस गराउनुका साथै उनीहरुलाई पढाइलेखाइको तनावबाट मुक्ति दिलाउँछ । तर त्यसो भन्दैमा यसैको पछि लाग्नु गलत हुन्छ । यदि कुनै बच्चा चकचके छ, एकै ठाउँमा बस्दैन र कुनै पनि कुरा ग्रहण गर्न समस्या हुन्छ भने उसलाई यसले एकाग्र हुन मद्दत गर्न सक्छ तर त्यसो भन्दैमा यसैमा लत बसाउन भने हुँदैन ।
– श्रवण पाण्डेय, मनोचिकित्सक, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्