कोरोना रोक्न नागरिकलाई खवरदारी: अत्यावश्यक बस्तु अभाव हुन नदिने, स्थानीयले कोषमा गरे सहयोग



मोतीराम तिमल्सिना,काभ्रे। 

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि सरकारले तेश्रो पटक थप गरेको लकडाउन अवधीमा जिल्लाबासीहरुका लागि खाद्यान्न र अत्यावस्यक वस्तु तथा सेवाको आपुर्ति ब्ययवस्थापनमा सहजीकरण गर्न विभिन्न निर्णयहरु भएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाको अध्यक्षतामा बसेको बैठकमा बनेपा, धुलिखेल, पनौती नगरपालिकाका प्रमुख प्रशासकिय प्रमुखहरु, विष्णुदल गण, नेपाल प्रहरी, शशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, धुलिखेल उद्योग बाणिज्य संघ, काभ्रे उद्योग बाणिज्य संघ, घरेलु कार्यालय लगायतको सहभागिता रहेको बैठकले दैनीक उपभोग्य बस्तुहरु खाद्यान्न, तरकारी, फलफुल, दुधजन्य पदार्थ तथा ग्याँसको नियमित आपूर्तिको ब्यवस्था गर्न उद्योग बाणिज्य संघहरुले पहल गर्ने, उपभोग्य बस्तुहरुको भण्डार अद्यावधिक राख्ने र भण्डारणमा कमि हुन नदिने, अत्यावश्यक बस्तुको विक्री वितरण गर्दा जोखिम कम हुने गरी सामाजिक दुरी कायम गर्ने, कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन नदिन अनुगमनलाई तिब्र बनाउने, एलपिजी ग्याँस र प्रेट्रोलियम पदार्थको दैनीक स्टकको रेकर्ड राख्ने र दैनीक उपभोग्य एवम अत्यावश्यक सामाग्रीहरु नियमित आयात तथा ढुवानीमा समस्या भए प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित संकट ब्यवस्थापन केन्द्रमा सहजीकरण गर्ने निर्णय गरेको छ ।

क्वारेन्टाईनका सबै घर फिर्ता

पनौती नगरपालिका वडा नम्वर १२ रोशी घर भएकी ५० बर्षिया मधु तामाङको चैत्र २२ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । उनका आफन्त र छोरी सुकुमाया तामाङ लगायत बहराईनबाट चैत्र ६ गते नेपाल आएका थिए । कोरोनाकै संक्रमणले निधन भएको हुन सक्ने आशंकामा मधुको निधन पछि १० जनालाई धुलिखेल नगरपालिकाको क्वारेन्टाईनमा राखिएको थियो ।

कोरोना नभएको पुष्टी भए सँगै क्वारेन्टाईनमा राखिएका १० जनालाई नै घर पठाईएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाले बताउनु भयो । त्यस्तै धुलिखेल अस्पतालमा कोरोना आशंकामा एक जना ब्यक्ति आईसोलेसनमा राखिएको छ । उनि चैत्र ८ गते भारतबाट घर फर्किएका थिए । सिन्धुली घर भएका २२ बर्षिया युवकको स्वाव परिक्षण बुधबार परिक्षण गरिनेछ ।

धुलिखेल अस्पतालमा शुरु भएको कोरोना संक्रमणको परिक्षणको क्रममा पहिलो दिन आईतबार १७ जनाको परिक्षण गरिएकोमा सबै जनामा संक्रमण नभएको पुष्टी भएको छ । मण्डनदेउपुर नगरपालिकामा १ जना क्वारेन्टाईनमा राखिएको छ । फागुन ३० पछि विदेशबाट फर्कनेहरुको संख्या २ सय ५१ जना छ ।

जिल्लाका १३ वटै स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टाईनहरुको संख्या २ सय बेडको छ भने अन्य निर्माण भईरहेको छ । लकडाउनको पूर्ण कार्यान्वयनका लागि घर बाहिर नआउन प्रशासनले आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिनु भयो ।

बनेपाको विपद कोषमा ५१ हजार सहयोग

श्री कृष्ण प्रणामी सेवा समिति नेपाल बनेपा ईकाइ तथा बनेपा नगरपालिका वडा नं. ९ मन्दिर आसपासका ब्यक्तिहरुले संकलन गरेको ५१ हजार १ सय रुपैया बनेपा नगरपालिकाको कोरोना भाईरस प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ । श्री कृष्ण प्रणामी संचालक समितिका अध्यक्ष गणेश प्रसाद सापकोटाले नगर प्रमुख लक्ष्मी नरसिं बादेलाई संकलित रकम हस्तान्तरण गर्नु भएको थियो ।

नगर प्रमुख बादेले सहयोगीहरुलाई धन्यबाद दिनु भएको थियो । महाविपत्ति नगरपालिका एक्लैले समाधान गर्न नसक्ने भएकाले सम्पुर्ण सघं सस्थाहरुलाई सहयोगी बन्न नगर प्रमुख बादेले आग्रह गर्नु भयो ।

नगरबासीहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने र नगरभित्र राहत लगाएतका अन्य सहयोगहरु एकद्धार प्रणाली अन्र्तगत भएकाले नगरपालिकामा नै बुझाउन उहाँले आग्रह गर्नु भएको थियो ।

राहत हस्तान्तरणमा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत आनन्दराज पोखरेल, श्रीकृष्ण प्रणामी सेवा समितीका सल्लाहाकार टिका प्रसाद तिमल्सिना, समितिका उद्धवप्रसाद तिमल्सिना, सचिब प्रकाश अधिकारी लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्