पर्वतमा डेढ करोड बढीको खाद्यान्न वितरण गरिने



दुर्गाप्रसाद शर्मा, पर्वत । 

लकडाउनका कारण दैनिक काम गर्न नपाउँदा समस्यामा परेका मजदुर तथा अति बिपन्न परिवारका लागि पर्वतका स्थानिय तह डेढ करोड बढीको खाद्यन्न बितरण गर्ने भएका छन ।

पर्वत जिल्लाका सात वटा स्थानिय तहले पहिलो चरणमा झन्डै १ करोड ६६ लाख रुपैयाँ बराबारको खाद्यान्न वितरण गर्न लागेका हुन ।
लकडाउनको अवधिमा काम रोकिँदा दैनिक मजदुरी गरेर हातमुख जोड्दै आएकाहरु, अपांगता भएकाहरु, गरिब, निवेकमा काम गरेर आम्दानी गर्दै आएका एकल महिला, लगायतलाई जिल्लाका २ नगरपालिका र ५ गाउँपालिकाहरुले बजेट विनियोजन गरेका छन्। मोदी गाउँपालिका, महाशिला गाउँपालिका र बिहादी गाउँपालिकाले राहत बितरण गरिसकेका छन भने अन्य पालिकामा पनि बितरण शुरु भएको छ ।

पर्वतको सदरमुकाम समेत रहेको कुस्मा नगरपालिकामा २७ सय ६२ परिवारलाई राहत उपलब्ध गराउनुपर्ने देखिएकोले ४७ लाख भन्दा बढी पेस्की दिइउको छ । राहत कोषमा कुस्मा नगरपालिकाले १५ लाख विनियोजन गरेको छ भने नगरप्रमुख सहित कार्यपालिका सदस्यहबाट ३ लाख र कर्मचारीहबाट २ लाख गरी कुल २० लाख जम्मा भएको छ। जिल्लाको दोस्रो नगरपालिका फलेवासले राहत कोषमा सबैभन्दा बढी ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम रिजालका अनुसार पालिकाले विनियोजन गरेको बाहेक शिक्षक तथा कर्मचारीहरबाट १२ लाख र अन्य व्यक्तिहरुबाट पनि प्रतिबद्धता आएको छ।

मोदी गाउँपालिकाले राहतका लागि पहिलो चरणमा ३ लाख र पछि थप १७ लाख गरी २० लाख रुपैयाँ विनियोजन गरेको छ भने स्थानीय संस्था र व्यक्तिबाट झन्डै तीन लाख रुपैयाँको प्रतिबद्धता आएको प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले बताउनुभयो । बिहादी गाउँपालिकामा राहत बितरण सकिएको छ । अहिले सम्म पालिकाले १५ लाख तथा कर्मचारीबाट ७ लाख गरी २२ लाख रुपैयाँ कोषमा जम्मा भएको छ। यो रकमले अपुग भएमा तत्कालका लागि रकमान्तर गरेर पनि समस्यामा परेकोहरुलाई मलहम लगाउने प्रमुख प्रशासकीय अधिकृत ऋषि पन्थीले जानकारी दिनुभयो ।

जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले पालिकाले राहत कोषमा ३० लाख रुपैयाँ जम्मा गरेको र २ लाख १० हजार रुपैयाँ अन्यबाट सहयोग स्वरुप आएको बताउनुभयो । जलजलामा स्थानीय कृषकहरुले सहयोग गरेको तरकारी बितरण भैसकेको छ । पैयुँ गाउँपालिकाले तत्कालका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ। यस्तै महाशिला गाउँपालिकाले राहत वितरणको लागि पहिलो चरणमा १ सय ५६ जना छनोट गरेर प्रतिपरिवार दुई हजार मूल्य बराबरका खाद्य सामग्रीहरु वितरण गरिसकिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचैले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्