झापाका सीमा नाका धाउँदै लागुऔषध कारोबारी, प्रहरीलाई चुनौती



न्युज अफ नेपाल, भद्रपुर।

झापाका सीमा नाका भद्रपुर र काँकडभिट्टामा जिल्लासहित अन्य जिल्लाबाट लागुऔषध प्रयोगकर्ता र कारोबारी आउन थालेपछि प्रहरीलाई चुनौती थपिएको छ ।

सीमा नाकामा लकडाउन उल्लघंन गरेका अपरिचित व्यक्ति देखा परेसँगै झापा प्रहरीले उनीहरूलाई नियन्त्रण लिन थालेको छ । कारोबारीले लामो लकडाउनको कारण भारतबाट लागुऔषध नेपाली बजारमा भित्राउन नपाएको र भित्राएको पनि सकिएकोले डोटीहुँदै काठमाडौँदेखि युवाहरू लागुऔषधको खोजीमा भारत प्रवेश गर्नलाई झापा जिल्ला खुलाका सीमा नाका धाउन थालेका हुन् ।

वडा प्रहरी कार्यालय भद्रपुरले पाँच जनासहित पाँच वटा सवारीसाधन र इलाका प्रहरी कार्यालय काँकडभिट्टा दुई जनासहित एउटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरू लागुऔषध प्रयोगकर्ता वा कारोबारी हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले बिर्तामोड ३ का २५ वर्षीय मोहनकुमार ओली र सोही ठाउँका २६ वर्षीय सरोज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

मे ७ प ९४४३ नम्बरको मोटरसाइकल चढेर दुवै जना भद्रपुर सीमा नाका आएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवै जनालाई अभिभावक बोलाएर जिम्मा लगाएको र मोटरसाइकल वडा प्रहरीमै राखिएको छ । त्यस्तै सोमबार बिहान जिल्लाबाहिरबाट भद्रपुर आएका चार जनामध्ये तीनलाई प्रहरीले नियन्त्रणमा लिएको छ, भने एक जना फरार भएका छन् ।

प्रहरीका अनुसार डोटी जोराइल गाउँपालिका ४ का ४८ वर्षीय प्रेमकुमार रेग्मी, सर्लाही हरिवन नगरपालिका ९ का २६ वर्षीय विकल खड्का र काठमाडौँ नगरपालिका ३२ का २६ वर्षीय विक्रम आले मगरलाई नियन्त्रणमा लिएको छ । उनीहरूसँग आएका धनगढी उपमहानगरपालिका ५ का २८ वर्षीय सिद्धार्थ बडेला फरार भएका छन् । चार जना दुई वटा मोटरसाइकल चढेर भद्रपुर आएका थिए । उनीहरू लागुऔषधको खोजीमा यहाँसम्म आइपुगेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । केही दिनअघि पनि चार जना लागुऔषध प्रयोगकर्ता भद्रपुर आएका थिए । प्रहरीले उनीहरूलाई मेची नदी किनारमा देखेपछि नियन्त्रणमा लिन खेदाएको थियो । प्रहरीले मे ८ प १४४३, मे २ प ५९२९, बा ६६ प ४११९ र को १३ प ८९६९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।

त्यस्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली डाक्टरको परिचयपत्र बनाएर लागु औषधको खोजीमा सीमा नाका आइपुगेका ललितपुर बस्ने ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौँ बस्ने २८ वर्षीय गणेश अधिकारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार डाक्टरको नक्कली भेष धारण गर्दै बा ६ च ७०१९ नम्बरको कार चढेर उनीहरू काठमाडौँबाट धरान हुँदै झापाको काँकडभिट्टा लागु औषधको खोजी आइपुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । नियन्त्रणमा लिएका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ । नियन्त्रणमा लिएका सबैलाई अस्थायी क्वारेनटाइनमा पठाइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्