कोरोना युद्ध भर्सेस कुर्सी युद्ध



प्रा.डा. ऋषिराम शर्मा

पहिलो विश्वयुद्धमा हतियार र स्थलयुद्धको भूमिका रह्यो भने दोस्रो विश्वयुद्ध हतियार, जल, थल र आकाश युद्धका रूपमा जनधन र भौतिक विनाश लीला बोकेर आयो । शक्ति राष्ट्रहरुका हैसियत फेरिए । पुराना सम्राट जापान र जर्मनी माटो बने । नयाँ विश्वसम्राटका रूपमा तत्कालीन सोभियत संघ र संयुक्त राज्य अमेरिकाको उदय भयो । सोभियत संघको विघटनपश्चात् विश्वको एकमात्र महाशक्तिका रूपमा अमेरिकाले लामै शासन ग¥यो । अहिले एउटा सानो जीव कोरोना बनेर प्रकृति विजेता हुँ भन्ने मान्छेका वैज्ञानिक विकास र त्यसले सिर्जेका बम, बारुद, मिसाइल, फाइटर विमानलाई हाँक दिँदै र लल्कार्दै विश्वयात्रामा हिँडेको छ । नेता निरीह छन् र हतियार हतास छन् ।

 

विश्वको महाशक्ति राष्ट्र मात्र होइन, त्यसलाई पछ्याइरहेका अन्य शक्तिराष्ट्र मुलुकको समेत सतोपुत्लो उडाएको छ त्यसले । कोरोनाले विश्व तर्सेको छ, गरिब मुलुकमा पस्यो भने यसले मच्चाउने नरसंहार अकल्पनीय हुने निश्चित छ । नेपाल सरकार भविष्यमा यस अदृश्य काँडेजीवले मच्चाउन सक्ने तवाहीप्रति निकै संवेदनशील छ । आपतकालीन बन्दोबस्तका सामान जोहो गर्न सरकार लागिपरेको छ । तर नेपालमा सरकारले गरेका असल कामलाई हौसला दिने र कमजोरीहरू भए रचनात्मक एवं समाधेय सुझाव दिने कुरा त परै जाओस्, सरकारले छेडेको कोरोनाविरुद्धको अभियानलाई असफल पारेर सत्ताको रोटी सेक्ने घृणित खेल सत्तारुढ दलभित्रैबाट भइरहेको देख्दा यस्तो किन भइरहेको छ भन्ने बारेमा घोत्लिनु जरुरी छ ।

 

सम्पूर्ण भूमण्डल वैश्विक महामारीले त्रस्त रहेका र कोरोनाविरुद्ध संसार हातेमालो गर्दै लडिरहेका बेला कहीँ नभएको जात्रा भनेझैँ यहाँ कुर्सी युद्ध भर्सेस सत्ता युद्धको मलिलो समय ठनेर पाखुरा सुर्कने सुरसार छ र छिर्किनी हान्ने अनि कराउने युद्ध जारी छ । यहाँ त कथित आख्यानकारका कल्पित हावादारी कथाको प्रदूषणले ‘कलो’ खाएर बाँचेका केही सीमित आग्रही मिडिया र त्यसैले पस्केको महामारी कोरोनाको महामारी भन्दा खतरनाक भएर बौरिरहेछ ।

 

त्यही महामारीको भाइरसयुक्त समाचार सेवन गरेर उपर्तली मच्चाउँदै सञ्जालका भित्तामा बान्ता गर्ने र पखालाले बिस्ट्याउने महोदयहरू पनि त्यत्तिकै छन् । हुन त एकझर पानी आकाशबाट बर्सेपछि त्यो फोहोर आफैं बगेर गइहाल्छ । यस्तो वातावरण सिर्जना गर्न घरभित्रकै विभीषणहरू, सन्तानमोहले अन्धा भएका धृतराष्ट्रहरू हात धोएरै लागेका छन् । मृत्युको कुहिरो मडरिरहेको यस्तो सङ्गीन घडीमा सत्ताको हस्तिनापुर कब्जा गर्ने बेला यही हो भनेझैँ गरी न्वारानदेखिको बल लिएर मैदानमा निर्वस्त्र नाचिरहेछन् ।

 

कोरोनाविरुद्धको महाभारतमा आशातीतरूपमा सरकार भीमको गदा उठाएर आक्रामकरूपमा एक्सनमा उत्रेको छ । अस्थिरताको सरदार सरकारविरुद्धको युद्धमा सकुनीको पासा लिएर अदृश्यरूपमा एक्सनमा छ । यसरी परोक्षरूपमा त्यो तत्व कोरोनाले निम्त्याउने नरसंहारको बीभत्स दुर्गन्धको पर्फ्युम जीउभरि दल्न आतुर देखिन्छ । मान्छेका लास कुल्चँदै र अधमराहरूका घाँटी रेट्दै हिँडेर मानव रक्तकुण्डमा डुब्ने बानी परेकालाई लाग्दो हो, यो जाबो कोरोनाले कति पो मान्छे मार्ला र ? मृत्युको त्यो रमाइलो जात्रा नहेरेको धेरै भो र अब कोरोनाका कृपाका कारण अलि–अलि भए पनि पुरानो तिर्खा मेटिने भो ! अन्यथा हात धोएर कोरोनाविरुद्धको लडाइँमा लाग्नुपर्नेमा त्यो पक्ष आग्राको कुरा गर्न छाडेर गाग्राको पछि हात धोएर किन लागिरहेछ ?

 

हिजो गरिएको एकता सम्झेर अहिले एकता शब्द नै लाजले पानी–पानी भैसकेजस्तो छ । अहिले यी सारा नौटङ्की देख्दा नेकपा एकीकरणबाट वर्तमानले मात्र होइन भविष्यले समेत गम्भीर के पाठ सिक्नु आवश्यक छ भने, संस्कार नमिल्नेहरूसँग कहिल्यै र कसैले पनि एकता नगर्नू, गोबरमा रमाउने गोब्रे कीरोलाई सफा पानीमा ल्याएर मिसाउँदा पानीमा गोबर गन्हाउँछ भन्ने जान्नू । अस्थिरताको फोहोर पानीमा डुबुल्की लगाएर मजा लुट्ने बानी परेकालाई स्थिरता पच्दैन भन्ने बुझ्नू ।

 

उहिलेकाले त्यसै भनेका होइन रहेनछन्, एक घर मूल्याहाले सात घर पिर्छ भनेर । बल्ल–बल्ल सङ्लिन लागेको राजनीतिको स्थिरताको तलाउमा बडेमानका ढुङ्गा फालेर धमिलो पानीमा कुर्सीको बल्छी थाप्ने नवजहानियाँ शासनका नाइके र कुलङ्घारहरूका कारण मुलुकले कति सास्ती झेलिरहनुपर्ने हो ? सुकुटी खान मुड चल्दा आँगनबाट हेलिकप्टर चढेर सुकुटे पुग्ने हैसियतको ट्रयाक रेकर्ड र खरबपतिले पनि विनाइन्स्योरेन्स उपचार गर्न नसक्ने सिङ्गापुर र अमेरिकामा गरिएको निजी पारिवारिक र उपचार खर्चको हिसाबकिताब, त्यसको आम्दानीको स्रोत तथा त्यसमा लाग्ने करको लेखाजोखालाई समयले अहिले डराएर त्यत्तिकै डस्टबिनमा राखिरहेको भए समय निर्भय भएपछि कुनै दिन त्यसको बहिखाता पल्टाएर हेर्दा त्यहाँ भ्रष्टाचार देखिएला कि शिष्टाचार ? के आफू सत्तामा रहिरहे मात्रै त्यसबाट जोगिन सकिन्छ भन्ने भ्रम हो ? नत्र जनताले जसको नेतृत्वमा विश्वास गरेर पाँच वर्ष शासन चलाउन दिएका छन् त्यसैका खुट्टा तान्न आफ्ना प्यादाहरू परिचालन गरी राज्यका विरुद्ध जेहादमा किन उत्रिइँदै छ त ? यस्तो लाग्दै छ, विश्व कोरोना युद्ध लड्दै छ र प्यादाहरू मालिकको आदेशबमोजिम घोक्रो सुकाउँदै कराउने युद्धमा खटिएका छन् ।

 

घरमा कोरोनाको आगो लागेको आपातकालमा मिटिङबाट निर्णय गरेर मात्र आगो निभाउनुपर्छ भन्नु, दमकलको तेल किन महँगो किनेको भनी भ्रष्टाचार भो भन्दै गर्जन गर्न केही थान वस्तुहरू खटाउनु, सरकार विपत्तिका विरुद्ध एक्सनमा जान लाग्दा हातखुट्टा बाँध्नु, बाँधेपछि किन नकुँदेको भन्नु र समग्रमा सरकारलाई ‘हगे हग् मुते काटुँला’ भन्नु जस्ता जग हँसाउने कृत्य गर्ने कि ‘सरकार तँ एक्सनमा जा, बेइमानी नगर्, बेइमानी गरिस् भने त्यस बेला उम्कन पाउने छैनस्’ भनेर अख्तियारी दिई सम्पूर्ण पंक्तिसमेत एक्सनमा गएपछि अनुकूल समयमा मिटिङ बसेर हिसाबकिताब गर्ने ?

 

स्मरण रहोस्, मांसाहारी रत्नाकरले शाकाहारी वाल्मीकि बन्छु भनेपछि र वाल्मीकि शाकाहारी भएकैले जगत् पूज्य भएका हुन् । मांसाहारी रत्नाकरै रहेको भए किन पूज्य हुन्थे ? त्यसैले वाल्मीकि बन्छु भनेर बाचा गरेपछि वाल्मीकि बन्नै पर्छ प्लिज ! रत्नाकर नबनिदिनोस्, वाल्मीकि बन्नुहोस् । श्रद्धेय वाल्मीकि जिन्दावाद !

 

प्रतिक्रिया दिनुहोस्