नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनद्वारा मन्त्री ढकाललाई सामान हस्तान्तरण



भगवती तिमल्सिना,काठमाडौं ।

कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सहयोगको घोषणा गरेको नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले सरकारलाई १ हजार थान व्यक्तिगत सुरक्षा सामग्री सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तर गरेको छ ।

फाउन्डेसन तथा अस्पतालका प्रतिनिधिले मन्त्रालयमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर सो सामग्री हस्तान्तरण गरेको चौधरीले ट्वीटमार्फत जानकारी गराउनुभएको छ । यसरी हस्तान्तरण गरिएको सामग्रीमा पुरै शरीर ढाकिने गाउन, फेस डिल्ड, डिस्पोजेवल क्याप, ग्लोब्स र डिस्पोजेवल ग्लोब्ससहितको १ हजार थान पिपिई सेट छ ।

अस्पतालका प्रमुख चौधरीले गत चैत १० मा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले खडा गरेको कोषमा नर्भिक अस्पताल तथा बसन्त चौधरी फाउन्डेशनले १ करोड सहयोगको घोषणा गर्नुभएको थियो ।

अस्पतालले यस्तो सहयोग ५० लाख बराबरको मेडिकल सामग्री तथा ५० लाख नगद उपलब्ध गराउने जनाएको थियो । अहिले उपचार तथा रोकथामका लागि पिपिई सबैभन्दा अभाव देखिएको भन्दै ती सामग्री उपलब्ध गराइएको अस्पतालले जनाएको छ ।

मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि कोष खडा गर्ने र त्यसमा ५० करोड रुपैयाँ राख्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्