बैंकिङ प्रणालीमा नयाँ चुनौति



परिवर्तन देवकोटा, काठमाडौं ।

पछिल्लो समय ह्याकरको निसानामा परेको नेपालको बैंकिङ सेवा पुनः जोखिममा परेको छ । आफैंले बनाएको समाचार साइट ह्याक गरी आफूविरुद्धको समाचार हटाउने एफवान सफ्टका मालिक एवम् प्रधानमन्त्रीका प्राविधिक सल्लाहकार अग्सर अलीको कम्पनीका कारण बैंकिङ प्रणाली जोखिममा परेका हुन् ।

नेपालका भण्डै पाँच दर्जन बैंकहरू एफवान सफ्टसँग कनेक्सनमा रहेको खुलेको छ । अधिकांश वाणिज्य बैंकहरूका साथमा विकास बैंकहरू पनि यस कम्पनीसँग सहकार्यमा रहेका छन् ।

 

सरकारकै स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकलगायतका प्राइम बैंक, सानिमा बैंकलगायतका २३ वाणिज्य बैंकहरू यससँग आवद्ध छन् । यस्तै विकास बैंकतर्फ १७ बैंक आवद्ध रहेका छन् भने अन्य वित्तीय संस्थाहरू पनि यसमा आवद्ध भएका छन् ।

 

आफ्नै डिजाइनमा रहेको समाचारसाइटभित्र अनाधिकृत रूपमा प्रवेश गरेको सो घटना बाहिरिएसँगै बैंकरहरू समेत यस घटनाबाट झस्किएका छन् ।
केही समयअघि मात्रै ह्याकरको निसानामा परेका बैंकहरू फेरि कुनै दुर्घटना नहोस् भनेर आन्तरिक तयारीमा रहेको एक बैंकरले नेपाल समाचारपत्रलाई बताए ।

 

इसेवा प्रयोग गरेका बैंकहरूमध्ये केही बैंकहरूले एफ वान सफ्टलाई डेटा समेत दिएका छन् । डेटा दिएका ती बैंकहरूको बैंकिङ प्रणाली जोखिममा पर्ने विज्ञहरू बताउँछन् ।

 

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एशोसियसनका अध्यक्ष भुवन दाहालले बैंकहरूले त्यसलाई माध्यममात्रै बनाउने हुँदा त्यस्तो जोखिम नहुने बताउनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–हामीले त्यसलाई माध्यमका रूपमा मात्रै प्रयोग गर्ने हो, त्यसकारण यसबाट चिन्ता लिनुपर्ने हुँदैन । कतिपय बैंकहरूले डेटा समेत दिएका छन् भने उनीहरूको प्रणालीमा चाहिं जोखिम हुन सक्छ ।

 

उहाँले अहिले लकडाउनका कारण यस विषयमा पर्याप्त छलफल गर्न नसकेको बताउँदै लकडाउन खुलेसँगै यसबारे विस्तृत अध्ययन गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘एनबीएमा आइटी समूह पनि छ, सो समूहलाई हामीले जानकारी गराइसकेका छौं र यसबारे बृहत अध्ययन गर्न निर्देशन दिइसकेका छौं ।’

 

ह्याकर वा डेभलपर कुनै सिस्टम भित्र छिरेर नराम्रो असर पु¥याउन सक्ने बताउँदै बैंकहरू त्यसप्रति सजग हुन राष्ट्रिय वाणिज्य बैंकका आइटी प्रमुख देबेश लोहनी आह्वान गर्नुहुन्छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले उनीहरूले अनाधिकृत रूपमा सिस्टममा प्रवेश गर्दा हिसाबमिलानमा नै गडबड हुने, कसकोे कति रकम छ, कस्तो वा कति कारोबार गरेको छ जस्ता गोपनियतासम्बन्धी कुराहरू उनीहरूले हेर्न सक्ने बताउनुभयो । यस्तै एउटा खाताको रकम अर्को कुनैमा अनाधिकृत रूपमा ट्रान्सफर गर्न सक्नेजस्ता कार्यहरू हुन सक्ने उहाँले औंल्याउनुभयो ।

 

बैंकले यसलाई एकदमै बलियो तरिकाले मनिटरिङ गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय वाणिज्य बैंकको हकमा पनि आन्तरिक आइटी टिमले बैंकको प्रणाली बलियो पार्नेतर्फ निरन्तर काम गरिरहेको जानकारी गराउनुभयो ।

 

यस्तै प्राइम बैंकका आइटी प्रमुख सुनिल महर्जनले बैंकहरूले आफ्नो तर्फबाट मनिटरिङ बलियो तवरले गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल समाचारपत्रसँग कुरा गर्दै उहाँले भन्नुभयो–बैंकिङ प्रणालीमा बैंक बाहेक कसैको पनि संलग्नता हुँदैन, सबैले आफ्नो भूमिकासम्म मात्रै पुग्न सक्छन्, त्यो भन्दा माथि जान सक्दैनन्’–उहाँले भन्नुभयो–‘त्यसैले प्रणालीलाई नै जोखिममा पार्न उनीहरू जानसक्ने कुरा हुँदैन ।’

 

उहाँले डिजिटल भुक्तानी प्रणालीसँग आफ्ना ग्राहकको मात्रै तथ्यांक रहने भन्दै त्यसबाट गलत प्रयोग गर्न नसक्ने बताउनुभयो ।

 

नेपाल राष्ट्र बैंक भन्छ–गोपनियता सुरक्षित हुन्छ

 

नेपाल राष्ट्र बैंकका पेमेन्ट सिस्टम डिपार्टमेन्टका एक्स्क्युटिभ डाइरेक्टर रेवती प्रसाद नेपालले बैंकहरूमा यो नयाँ चुनौतीको रूपमा देखा पर्न सक्ने भन्दै यसबाट सजग रहनुपर्नेमा जोड दिनुभयो । नेपाल समाचारपत्रसँगको कुराकानीमा उहाँले बैंकहरूले त्यस्ता समस्या देखिएको बताएमा हामी थप अध्ययन गर्ने र सुरक्षाका लागि उपायसहितको निर्देशन दिने बताउनुभयो ।

 

उहाँले भन्नुभयो– सम्बन्धित बैंकले सम्बन्धित सफ्टवेयर भेन्डर कम्पनीसँग सहकार्य गर्दा सुरक्षा र गोपनियतासम्बन्धी नयाँ सहमति गर्नुपर्ने भएमा त्यसबारे नयाँ निर्देशन ल्याउन सकिन्छ ।’ उहाँले आफूहरूले यसबारे अध्ययन गरिरहेको बताउँदै सुरक्षाका लागि नयाँ निती निर्देशन जारी गरिने जानकारी गराउनुभयो ।उहाँले गोपनियताको सुरक्षामा राष्ट्र बैंक सदैव काम गरिरहेको बताउँदै यस घटनाबाट सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्