कोरोना भाइरस संक्रमणका तीन बिरामी थपिए, नेपाल सामुदायिक संक्रमणको गम्भीर चरणमा



काठमाडौं, (नेस) ।

नेपालमा शनिबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणका तीन बिरामी थपिएका छन् । अब कुल आठ जना संक्रमित उपचाररत रहेको अवस्था बनेको छ । एक बिरामी उपचारपछि पहिला नै स्वस्थ भइसकेका छन् । हालसम्म मुलुकमा कोरोना संक्रमितको संख्या नौ पुगेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार शनिबार सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा गरी थप तीन जना व्यक्तिमा कोभिड– १९ पोजेटिभ देखिएको हो ।

 

धनगढीकी ३४ वर्षीया महिला, लम्की कैलालीका २१ वर्षीय र कञ्चनपुरका ४१ वर्षीय पुरुषहरू छन् ।

 

दुवै पुरुष भारतको मुम्बई र उत्तराखण्डबाट आएका हुन् । एकै दिन नेपालमा अहिलेसम्मकै धेरै केस देखिएको समेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । शनिबार सबेरै केस पोजेटिभ देखिएपछि संक्रमित तीन जनालाई नै अहिले सेती प्रादेशिक अस्पतालमा ल्याई उपचार शुरू गरिएको छ ।

 

स्थानीयस्तरमै यो खतराको संकेत भएको स्वास्थ्य विज्ञहरूले जनाएका छन् । अहिलेसम्म संक्रमितको संख्या कम देखिनुको मुख्य कारण परीक्षणको पहुँच नहुनु नै रहेको यी केसले प्रमाणित गरेको पनि विज्ञहरूको ठम्याइ छ ।

 

एउटै परिवारको सदस्यमा देखिएपछि यसलाई लोकल ट्रान्समिसन (स्थानीय संक्रमण) भनिने गरिन्छ । ‘अब कम्युनिटी ट्रान्समिसन देखियो, यसले नेपालको अवस्था पहिलोबाट दोस्रो चरणमा प्रवेश ग¥यो।’ –सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले यसलाई गम्भीर अवस्थाका रूपमा हेरिनुपर्ने बताउँदै भन्नुभएको छ ।

 

‘अहिलेसम्म आयातित केस थियो । त्यसैले हामी अलि ढुक्क थियौं तर अब ढुक्क हुने अवस्था छैन । अब एक परिवारको एक व्यक्तिदेखि अर्को व्यक्तिमा सरेको छ । यसले खतरा एक स्टेप बढ्यो।’ –उहाँले भन्नुभयो ।

 

डा. पुनले अब स्थानीय तहमा लकडाउन गर्ने र ट्रयासिङलाई थप प्रभावकारी बनाएर परीक्षणलाई अघि बढाउन ढिलाइ गर्न नहुने बताउनुभयो ।

 

‘नेपालमा लकडाउन शुरू हुनैलाग्दा सुदूरपश्चिम प्रदेशमा भारतबाट ठूलो संख्यामा नेपाल भित्रिएका छन् । उनीहरू कतिपय क्वारेन्टाइनमा बसेका छन् भने कतिपय आफ्ना गाउँमा गएका छन् । यसले सुदूरपश्चिममा थप खतरा पैदा गरेको छ।’ –डा. पुन भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्