स्पेनमा कोरोना फैलिनुको मुख्य कारण



भोला लामिछाने ।

उत्तरी इटालीको बेर्गामा रहेको एटलान्टा फुटबल टिमसँग च्यापियन्स लिग फुटबल खेल्न स्पेनको भ्यालेन्सिया शहरमा रहेको भ्यालेन्सिया फुटबल टिम बेर्गा शहरमा गएको थियो । चीन, इरान, इटालीलाई कोरोना भाइरसले गाँजिसकेको र दुनियाँमा संक्रमण रोक्न विभिन्न उपाय अपनाउँदा पनि स्पेनमा रहेको उक्त भ्यालेन्सिया फुटबल टिम विनादर्शक खेल खेल्ने निर्णयसहित च्याम्पियन्स लिग खेल्न इटाली हान्नियो । त्यहाँ पुगेपछि खेल त भयो, तर स्टेडियमबाहिर हजारौं दर्शक टिमको समर्थनमा उपस्थित थिए, जो कोरोनाबाट संक्रमित थिए । खेल सकियो, सबै बाहिर रहेका दर्शकको भीड छल्दै आ–आफ्नो घरतिर लागे । त्यहाँबाट बाहिरिने कसैलाई पनि परीक्षण गरिएन, पूरै युरोपभरि यिनीहरू जहाँ–जहाँ गए, सँगै कोरोना भाइरस पनि लगे । स्पेन सरकारले यो सहभागी टिमलाई उच्च सतर्कतासाथ परीक्षण गर्नुपर्ने र क्वारेन्टाइनमा राख्नुपर्ने थियो तर यसो गर्न चुके ।

त्यसपछि गएको मार्च ८ मा सहभागीहरुसहित हजारौंको भव्य जुलुस निकालिएको थियो । जुलुसमा पार्टीको तर्फबाट सम्मेलनमा सहभागी भएका नेताहरुलगायत स्पेनमा रहेका उच्च सरकारी अधिकारीहरुसमेत संक्रमित हुन पुगे । यसरी स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी पत्नी बेगोना गोमेज, मन्त्री इरिने मेन्तेरो, पूर्वसभामुख अना पास्तोर कोरोना भाइरसबाट संक्रमित भएको समाचारहरू आए । उनीहरु सबै ८ मार्चको दिन आयोजना गरेको जुलुसमा सहभागी भएका थिए । त्यसै गरी स्पेनमा दक्षिणपन्थी दल बोक्सका प्रमुख सान्टियागो आवास्कल, कातालोनियाका मुख्यमन्त्री र उपमुख्यमन्त्री, मड्रिडका मुख्यमन्त्रीसमेत संक्रमित हुन पुगे ।

मार्च १ बाट १० सम्म भ्यालेन्सिया शहरमा ठूलो पर्व हुन्छ । फाइसाय भनिने यो पर्वलाई युनेस्कोले पनि सूचीकृत गरेको छ । यो पर्वमा बाटोमा सेलरोटीजस्तो खानेकुरा बनाएर बेचिन्छ । प्रत्येक चोकमा मूर्ति बनाउने हुन्छ । दिउँसो २ बजे पटका पड्काइन्छ । हाम्रो काठमाडौंमा घोडेजात्राजस्तै मान्छेमाथि मान्छे भएर हेर्छन् । यो मेलामा ७५ प्रतिशत पर्यटक इटलीबाट आउँछन् । मार्च १० आएर मात्रै यो पर्व रोकियो । त्यसबाट पक्कै पनि धेरै मानिसमा संक्रमण फैलिएको छ । इटलीबाट जति पनि पर्यटक आए, तिनको कुनै जाँच भएको थिएन ।

फेब्रुअरी १२ तिर भ्यालेन्सिया शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको पहिलो व्यक्ति नेपाल घुमेर आएको भनिएको थियो तर उनको मृत्युको बारेमा लामो समयसम्म सूचनासमेत लुकाइयो । त्यति बेलासम्म पनि रमिता हेरेर बसेको स्पेन सरकार त्यसको परिणाम अहिले भोग्दै छ ।

पछि गएको शनिबार एक्कासी स्पेन सरकारले उर्दी जारी गर्दै १५ दिनका लागि सबै घरबाट ननिस्कन भन्यो । पूरै स्पेन लक डाउन भयो, जति बेला जनता माक्स किन्नसमेत भ्याएका थिएनन् । खानेकुरा, औषधि लिन वा बैंक जानुप¥यो भने मात्रै बाहिर निस्कन पाइन्छ । आदेश कार्यान्वयन भएको छ कि छैन भनेर हेर्न सरकारले सेना परिचालन गरेको छ । आदेश उल्लंघन गरे अवस्था हेरेर ६ हजारदेखि ३ लाख युरोसम्म दण्ड हुनेछ । रेस्टुरेन्ट, डिस्को, स्कुल, कलेज, सिनेमा, खेल, जिम सबै बन्द गरिएको छ । खानेकुराको पसल, चुरोट बेच्ने पसल खुला छ । चिठ्ठा बेच्ने पसल पनि धेरै भीड हुने ठाउँ भएकाले बन्द गरिएको छ । नेपाली, पाकिस्तानी, इन्डियन, बंगालीका केही सुपर मार्केटहरू अटेरी गरेर खोलेका छन् । यसको परिणाम भयावह हुनेछ ।

स्पेनमा नेपाली समुदायको बाक्लो बस्ती रहेको बार्सिलोना, म्याड्रिड, पाइस भास्को, बेनिड्रम, कानेरिया, पाल्मा, मालागा, भ्यालेन्सिया, गिरोनामा रहेका नेपालीहरूमा अहिलेसम्म कोरोना संक्रमण भेटिएको छैन । स्पेनको नेपाली दूतावासले सूचना निकालेको छ । दूतावासले गर्नुपर्ने आवश्यक काम भए काजगातहरु हुलाकबाट पठाउन भनेको छ । त्यसबाहेक अन्य कुनै प्रकारका काम गरेको छैन । नेपाली समुदाय पनि डर–त्रासमै छन् ।

आजका मितिसम्म स्पेनमा १४,७६९ मा संक्रमण भएकोमा ६३८ जनाको मृत्यु भैसकेको छ । संक्रमितको संख्या र मृत्यु हुनेको संख्या दिनानुदिन तीव्र गतिले बढ्दै गएको छ । कोरोनाबाट बच्न सबैजना यो समयमा स्पेन सरकारको हुकुमअनुसार अर्को सूचना नआएसम्म आफ्नो सरसफाइका साथ घरमा नै बस्नु उत्तम हुनेछ ।

(लेखक लामिछाने नेपाल पत्रकार महासंघ, युरोप शाखाका कार्यसमिति सदस्य हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्