ठप्प भए सबै विकास आयोजना



दुर्गाप्रसाद शर्मा, पर्वत ।

दुई साता लामो लक डाउनका कारण पर्वत जिल्लामा सञ्चालित सवै विकास आयोजनाहरु ठप्प भएका छन । लक डाउनमा मजदुरहरु घर फर्केपछि पर्वतमा सञ्चालित राष्ट्रिय गौरब योजना देखि स्थानि तहले सञ्चालन गरेका योजनाहरुको काम ठप्प भएको हो ।

 

मजदुरले काम गर्ने वातावरण नभएको र लक डाउनका कारण सवारी साधन, इन्धन तथा सम्बन्धित कार्यालयले अनुगमन समेत गर्न नसकिने भएकाले बिकास योजनाका काम पुरै ठप्प भएका छन ।

 

मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माणको काम पुरै रोकिएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतले काम गर्न अनुमति दिएपछि मध्यपहाडी लोकमार्ग आयोजनाले अनुगमन गर्न नसकिने बताएपछि मजदुरहरु काम बन्द गरेर बसेका छन । कालोपत्रेको काम शुरु भएको बेला रोकिएको छ ।

 

पर्वत खण्डको भिर कटिङको काममा विस्फोट गर्ने कामलाई निरन्तरता दिन सकिने भए पनि सुरक्षा चुनौति र कामदार अभावका कारण त्यो कामले पनि गति लिन नसकेको आयोजना प्रमुख थापाले बताउनुभयो ।

 

पर्वत जिल्लामा कालीगण्डकी लोकमार्ग, मध्यपहाडी लोकमार्ग गरी दुई वटा राष्ट्रिय गौरबका आयोजनाहरु पनि निर्माणको चरणमा रहेका छन । दुवैको काम प्रभावित भएको छ । लोकमार्ग अन्तर्गत सेतीवेणी देखि रानीपानीसम्मको सडक कालोपत्रेको चरणमा थियो ।

 

विहादी गाउँपालिकाका अध्यक्ष कमल भुषालका अनुसार त्यो काम बन्द अवस्थामा छ यसैगरी बर्राचौर देखि फलेवास ढिकसम्मको सडक ग्रावेल सहित स्तरोउन्नतीको चरणमा थियो । कालीगण्डकी प्रसारण करिडोरको काम पनि रोकिएको छ भने नयाँ मोदी लेखना प्रसारण करिडोरको पनि काम रोकिएको छ ।

 

पर्वत जिल्लाबाट पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर दयाराम अधिकारीका अनुसार कार्यालय मार्फत सञ्चालीत साना र ठुला दुवै आयोजनाको काम हुन सकिरहेको छैन । मजदुरहरुमा कोरोना त्रासका कारण आयोजनाको काम ठप्प भएको छ । आयोजनामा काम गर्ने मजदुर त्रासका कारण कार्य क्षेत्र छाडेर गृह जिल्लामा गएका छन ।

 

निर्माण कम्पनीले पनि मजदुरलाई फिल्डमै राखेर काम गर्ने अवस्था छैन । इन्जिनियर अधिकारीले भन्भुयो ‘लक डाउनको अवधिमा काम नहुँदा यसले आयोजनाको काम धेरै पछाडी धकेलिन्छ’ । मौैसमको हिसावले आयोजनामा काम गर्ने उत्तम समय यो अवधि भएपनि संक्रमणको सम्भावनाका कारण सवै आयोजनाका निर्माण कम्पनीले आयोजनाको निर्माण कार्य बन्द गरेका छन ।

 

पूर्वाधार कार्यालयका लेखा प्रमुख गौरबदास बैरागीका अनुसार लक डाउन अघि नै कार्यालयको वित्तिय प्रगति ६० प्रतिशत थियो । अधिकांश ठूला आयोजनाहरुमा निर्माणको काम धमाधम भइरहेको बताउँदै बैरागीले साना आयोजनाहरु अधिकांश सम्पन्न हुने अवस्थामा पुगेको जानकारी दिनुभयो । पर्वत जिल्लामा झण्डै १७ वटा ग्रामीण सडकहरुमा कालोपत्रे र स्तरोउन्नतीको काम भईरहेको छ ।

 

जिल्ला भित्रै झण्डै आधा दर्जन खोलाहरुमा मोटरेवल पुलको निर्माण कार्य पनि भईरहेको छ । यसैगरी स्थानीय तहहरु मार्फत पनि सयौ आयोजनाहरु सञ्चालनमा रहेका छन ।

 

लक डाउनका कारण पर्वत जिल्लाका ७ स्थानीय तहका सवै आयोजनाहरुको निर्माण कार्य पनि बन्द भएका छन ।मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले आयोजनाको फछ्यौट अवधि जेठ अघि नै भित्र तोकिए पनि त्यो अवधिमा आयोजनाहरुको काम पुरा नहुने अवस्था आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्