कोरोना नियन्त्रणका लागि दुई करोड ५० लाख रुपियाँको कोष स्थापना



पुष्कर बुढाथोेकी, भक्तपुर ।

 

भक्तपुर जिल्ला अन्तर्गत चाँगुनारायण नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रणकालागि दुई करोड ५० लाख रुपियाँको कोष स्थापना गरेको छ । नगर कार्यपालिकाको बैठकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन आपत्कालिन कोष खडा गरेको हो । नगरपालिकाले तत्काल कोषकालागि ३० लाख रुपैयाँ जम्मा गरेको छ ।

 

नगरपालिकाबाट रोकथाम, पुर्वसतर्कता, नियन्त्रण र राहतकालागि दुई करोड ५० लाख रुपियाँको आपत्कालिन कोष स्थापना गर्ने निर्णय भएको मेयर सोमप्रसाद मिश्रले बताउनुभयो । बैठकले कोषकालागि नगरपालिकाका जनप्रतिनिधिले दुई महिनाको सेवा सुविधावापत्को रकम नलिई कोषमा योगदान गर्ने, सबै शिक्षक र कर्मचारीले आधा महिनाको तलब योगदान गर्ने निर्णय भएको छ ।

 

यस्तै प्रदेश तथा संघीय सरकारबाट प्राप्त हुने रकम समेत कोषमै जम्मा हुनेछ भने नगरपालिकाले संघसंस्था, उद्योग कलकारखाना र व्यवसायीहरुलाई पनि कोषमा सहयोग गर्न आव्हान गरेको छ ।

 

नगरपालिकाले सबै वडामा रोग निवारण गर्ने, सचेतनामुलक पर्चा पम्प्लेट र ब्रोसर वितरण, माइकिङ गर्ने, मास्क र पन्जा तथा स्यानिटाइजर वितरण गर्ने कार्य गर्दै आएको र लकडाउन अवधिमा कोरोना फैलिन नदिन थप सतर्कता बढाउने निर्णय गरेको छ ।

 

बैठकले कोरोना संक्रमण नियन्त्रणकालागि मेयर सोमप्रसाद मिश्रको संयोजकत्वमा द्रुत कार्यान्वयन समिति गठन गरेको छ । समितिमा उपप्रमुख विना बाँस्तोला, प्रमुख प्रशाशकीय अधिकृत चिरन्जिवी तिम्सीना, स्वास्थ्य शाखा प्रमुख सत्यकुमार दुवाल र विपद् व्यवस्थापन फोकल पर्सन सिद्धान्त न्यौपाने सदस्य छन् ।

 

बैठकले लकडाउन अवधिमा काममा खटिएका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत थप प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्