दोर्दी ‘ए’को सेयर रोकियो



शिक्षा पन्त, लमजुङ  ।

दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाले सर्वसाधारणका लागि निष्काशन गरेको सेयर रोकिएको छ । कोरोना भाइरसको संक्रमण जोखिमसँगै सरकारले लकडाउन गरेपछि सेयर निष्काशन पनि रोकिएको हो ।

 

आयोजनाले जिल्लाभित्रै १५ करोडको सेयर जारी गरेको थियो । जिल्लाभित्र पनि अतिप्रभावित क्षेत्रका लागि ५ करोड, सामान्य प्रभावितका लागि ५ करोड र त्यसबाहेक जिल्लावासीका लागि थप ५ करोड गरी १५ करोड रुपैयाँको सेयर आह्वान गरेको थियो । २०७१ असोजबाट निर्माण थालिएको आयोजना यही चैत्र मसान्तसम्म व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएपनि कोभिड–१९ को प्रभावले आयोजना निर्माण अवधि लम्बिने भएको छ ।

 

लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६,ढोडेनीमा निर्माणाधीन सो आयोजना निर्माण अन्तिम चरणमा पुगेको आयोजनाका संचालक अजितजंग कार्कीले बताउनुभयो । २०७६ चैतभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य लिएको उक्त आयोजनाले प्रभावित क्षेत्र र जिल्लावासीका लागि फागुन २७ गते सेयर निष्काशन गरेको थियो ।

 

छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ सम्मका लागि समयसीमा निर्धारण गरी निष्काशन भएको सेयर चैत १० गतेदेखि रोकिएको आयोजना प्रवद्र्धक कम्पनी लिबर्टी इनर्जी लिमिटेडका अर्का सञ्चालक राम पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘हाललाई अर्को सूचना जारी नभएसम्मका लागि सेयर निष्काशन रोकिएको पाण्डेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्