लकडाउनलाई यमनको गीत



‘लकडाउनको गीत प्रायः उराठ लाग्दो हुन्छ। तर यो रमाइलो छ। बोर लागे पैसा फिर्ता, ल हेर्नुस्’ गायक, संगीतकार तथा कलाकार यमन श्रेष्ठले लकडाउनका बारे तयार पारेको गीत र त्यसमाथि तयार पारिएको म्युजिक भिडियो हेरेपछि लोकप्रिय हास्य अभिनेता दीपकराज गिरीले हस्यौली शैलीमा फेसबुकमा स्ट्याटस लेख्दै भने– ‘स्वर मदनकृ्ष्ण श्रेष्ठ दाइको जस्तो लाग्ला। तर होइन। यमन श्रेष्ठको हो।’

 

अभिनेता गिरीले फेसबुक स्ट्याटसमा यमनको गीत हेर्न सिफारिस गर्दै उल्लेख गरेजस्तै वास्तवमा लकडाउन वा कोरोना संक्रमणबारे सचेतना जगाउने नाममा तयार पारिएका गीतहरु निरस हुने गर्दछन्, तर यमनले लकडाउनकै समयमा घरमै बसेर तयार पारेको गीत र यसको म्युजिक भिडियो लकडाउनका बारेमा सचेत बनाउन मात्र होइन, मनोरञ्जन प्रदान गर्नसमेत सफल छ।

 

दीपकले भनेजस्तै झट्ट गीत सुन्दा उनको स्वर शैली उनका ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक पिता मदनकृष्ण श्रेष्ठको जस्तो लाग्न पनि सक्छ। तर यो नै यमनको मौलिक स्वर र शैली हो। वास्तवमा मदनकृष्णको पुत्र भएकै कारण कतिपयले उनीभित्र भएको प्रतिभालाई नजरअन्दाज गर्ने गर्छन्। उनको प्रतिभा र नाम अगाडि मदनकृष्णको छोरो भनिने गरिन्छ।

 

तर यमन आफैमा यति धेरै प्रतिभाशाली छन् कि गीतदेखि संगीतसम्म, अभिनयदेखि निर्देशनसम्म दर्जनौं आप्mना प्रतिभा उनले प्रदर्शन गर्दै आएका छन्। यसैको पछिल्लो उदाहरण हो यो लकडाउनसम्बन्धी उनले तयार पारेको पछिल्लो गीत।

 

लकडाउन संसारै छ नि सटडाउन बोलको गीतले कोरोनाबाट बच्न तथा लकडाउनमा अपनाउनुपर्ने सावधानीका बारेमा चेतना त दिन्छ दिन्छ, सँगसँगै उत्तिकै मनोरञ्जन पनि प्रदान गर्दछ। हात मिलाउनु हुँदैन, भीडभाडमा जानु हुँदैन, भोजभतेर गर्नु हुँदैन, चिसोमा बस्नु हुँदैन, व्यायाम गर्नुपर्छजस्तो सन्देशले भरिएको गीत यमनले गाएका छन् भने उनको गायिका दिदी सराना श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडियोमा यमन स्वयं देखिएका छन्।

 

यमन म्युजिक भिडियोमा एकभन्दा बढी रुपमा देखिन्छन्। भिडियो यमनकै निवासमा खिचिएको छ। भिडियोको छायांकन पनि सरानाले नै गरेकी छिन्। सरानाद्वारा स्वरबद्व थुप्रै गीतले लोकप्रियता पाएका छन्। उनले गाएको पछिल्लो गीत पानी छायाँ हो, जसमा उनीसँगै उनका पिता मदनकृष्ण श्रेष्ठको स्वर पनि छ।

 

गीतमा स्वरसँगै संंगीत र संगीत संयोजन पनि यमनकै छ भने शब्द रचना भने उनका साथमा उनका पिता मदनकृष्ण श्रेष्ठको रहेको छ। बाबु–छोराद्वारा रचित लकडाउन गीतको शब्दले भन्छ–

हिन्दू मुश्लिम, त्रिश्चियन, युरोपियन,
कांग्रेस, कम्निस्ट, नेवार, बाहुन, चिन्दैन भाइरसले
अगाडि जोसुकै आऊन्।

 

यमनले यो गीत र यसको म्युजिक भिडियो आप्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्।

प्रतिक्रिया दिनुहोस्