अस्पतालबाट बिरामी फिर्ता गरिए कारवाही



रोशन पराजुली,हेटौंडा।

कोरोनाको त्रासका कारण निजी क्षेत्रका अस्पतालले बिरामीलाई गेटबाटै फिर्ता गर्न थालेपछि बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अस्पतालबाट कुनै बिरामी फिर्ता गरिए कारबाहीको चेतावनी दिनुभएको छ ।सामाजिक सञ्जाल फेसबुकमार्फत् निजी अस्पतालप्रति लक्षित गर्दै उहाँले प्रदेशमातहत अस्पतालबाट कुनै प्रकारका बिरामी फिर्ता गरिए कारबाही गरिने चेतावनी दिनुभएको हो ।

निजी अस्पतालले नाफा र घाटाका दृष्टिले हेर्ने व्यापारिक चेत परिवर्तन गरी अस्पताल विशुद्ध मानवीय सेवा गर्ने पवित्र मन्दिर हो भन्ने बुझ्न उहाँले सुझाव दिनुभयो । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–ती अस्पतालका संवेदनहीन, मानवताविरोधी तथा २१ औं शताव्दीको मानवसमाजलाई नै गिज्याउने गरी भएका घृणित क्रियाकलापप्रति दुःख व्यक्त गर्दै त्यस्ता क्रियाकलापलाई तत्काल सच्याउन अनुरोध गर्दछु ।

आफ्ना सेवालाई विगतमा जस्तै निरन्तरता दिन आग्रह गर्दै प्रदेश सरकारले आफ्नो क्षेत्राधिकारका अस्पतालको छानबिन गर्ने र दोषी देखिए कारबाही गरिने जानकारी गराउँदछु ।
यस्तो परिस्थितिमा पनि केही निजी स्वास्थ्य संस्थाले मानवीय मूल्य र मान्यताविपरीत विशेष प्रकृतिका बिरामीबाहेकको अबस्थामा बिरामीलाई अस्पतालमा भर्ना नै नलिएर फर्काएको र उनीहरुले उपचारबिना तड्पिनुपरेको भन्ने यस्तो खबरले आफुलाई दुःखी तुल्याएको बताउनुभएको छ ।

यस विषम परिस्थितिको सामना गर्न सबैको साथ, सहयोग र ऐक्यवद्धता आवश्यक रहेको उहाँले बताउनुभएको छ । देशमा कोरोना भाइरसका कारण सिर्जित विषम परिस्थितिमा नेपाली स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिका अन्त्यन्त प्रशंसनीय र उदाहरणीय रहेको उहाँले बताउनुभएको छ । उहाँले जोखिमका बाबजुद संक्रमण रोकथामका लागि योजना निर्माण र त्यसको कार्यान्वयनमा अहोरात्र खट्ने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीप्रति आभारसहित धन्यबाद दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्