टोलटोलमा घुम्ती पसल



न्युज अफ नेपाल, ललितपुर ।

लकडाउनको समयमा ललितपुरमा घुम्ती पसल सञ्चालनमा ल्याइएको छ ।

किराना पसलहरु बन्द भएको बेला ललितपुर बुद्ध जयन्ती कोषले विहीबार घुम्ती पसल सञ्चालनमा ल्याएको हो । यसका लागि कोषले ललितपुर महानगरपालिका ( १६ संग सहकार्य गरेको छ ।

घुम्ती पसल नकबहीलबाट शुरु गरिएको थियो । त्यसपछि धलायचामा राखियो । किन्न आउनेहरू धैरै भएकोले कोबहालमा पसल राख्न बिहीबार भ्याएन । पसलबाट प्रति परिवारले चामल बढीमा १० केजी, दाल ५ केजी, तेल ५ लिटर, पिठो ९आँटा० १० केजी, चिउरा १० केजी र चिनी ५ केजी सम्म किन्न सकिने व्यवस्था गरिएको थियो । ती सामग्री पसलको साविकको मूल्य भन्दा २० प्रतिशत छुटमा बिक्री गरिएको पाइएको छ ।

दुई ठाउँबाट ३ सय जनाले खाद्य सामग्री खरिद गरेको कोषका अध्यक्ष धर्मबहादुर शाक्यले जानकारी दिनुभयो । ‘लकडाउनमा खाद्यान्न अभाव हुन नदिन सुपथ पसल सञ्चालन गरेका हौं । ’ अध्यक्ष शाक्यले भन्नुभयो ।

पसलबाट खाद्य सामग्री सहज रुपमा बिक्री गर्न १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यको अगुवाईमा १५ जना स्वयंसेवक दिनभर खटिएका थिए । खाद्य सामग्री किन्न आउने प्रत्येकलाई एक मिटरको सामाजिक दूरीमा राख्न र टोकन दिन स्वयंसेवकहरुले सघाएका थिए ।

सर्वसाधारण खाद्य सामग्री सहज रुपमा किन्ने व्यवस्था मिलाउन वडाको आग्रहमा सो व्यवस्था मिलाइएको वडाअध्यक्ष शाक्यले बताउनुभयो । वडाअध्यक्ष शाक्यले भन्नुभयो ‘घुम्ती पसल लकडाउन अवधिभर सञ्चालन हुने छ ।’

शुक्रबार कोबहाल, मंगलबजार, ओकुबहाल लगायत विभिन्न स्थानमा पसल सञ्चालन गरिने कोषले जनाएको छ । यस अघि राष्ट्रिय उपभोक्ता मञ्चले ललितपुर महानगरपालिका –११ मा सुपथ पसल सञ्चालन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्