प्रधानमन्त्रीका आइटी सल्लाहकारमाथि ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गराएको आरोप



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आइटी सल्लाहकार अस्गर अलीमाथि काठमाडौं प्रेस नामक अनलाइनको साइट नियन्त्रणमा लिएको आरोप लागेको छ। आफ्नो विरुद्ध समाचार सार्वजनिक भएपछि अस्गर अलीको समूहले ‘काठमाडौँ प्रेस’ नामक समाचार पोर्टल ह्याक गर्दै समाचार नै डिलिट गराएको आरोप लागेको हो ।

समाचारको सम्बन्धमा आपत्ति जनाउँदै डिलिट गर्न अलीको समूहले दबाब दिएपनि काठमाडौं प्रेसले ‘साइट नचलाउनुस्, कन्टेन्टमा जाने तपाईंको अधिकार छैन’ भन्दै फोन राखेका थिए । काठमाडौँ प्रेसका अनुसार उक्त समाचार डिलिट गर्न नसकिने जवाफ दिए लगत्तै सम्पादकीय टिमको अनुमतिबिना नै सिरान टेक्नोलोजीजका प्राविधिकले नयाँ एडमिन निर्माण गरेर अलीलगायत विषयमा लेखेको सामाचार हटाएको काठमाडौं प्रेसको दाबी छ।

‘महङ्गोमा स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारको छोराको संलग्नता’ शीर्षकमा मङ्गलबार काठमाडौँ प्रेसले समाचार प्रकाशन गरेको थियो ।

उक्त समाचारमा प्रधानमन्त्रीका सूचना प्रविधि विज्ञ अस्गर अलीको समेत संलग्नता रहेको भन्दै समाचार सार्वजनिक भएको थियो । सो समाचारमा मेडिकल सामग्री खरिदमा प्रधानमन्त्रीका आइटीविज्ञ अली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका छोरा क्षितिज, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलका छोरा श्वराजलगायतको संलग्नता रहेको उल्लेख थियाे ।

प्रतिक्रिया दिनुहोस्